वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
सिंहदरबारबाट एमसीसी कार्यान्वयनको घोषणा, लप्सीफेदीमा एमसीसीको २०५ रोपनी जग्गा क्रान्तिकारी कम्युनिस्ट पार्टीको कब्जामा  (फोटोफिचर)
Prabhu Bank AD

काठमाडौं । यता सिंहदरबारस्थित अर्थमन्त्रालयमा एमसीए–नेपालले एमसीसी परियोजना कार्यान्वयनको घोषणाको तयारी गरिरहेको छ । उता एमसीसी परियोजना कार्यान्वयन हुन नदिने उद्घोष गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले स्थानीय जनताको सहभागितामा काठमाडौंको जरसिंह पौवा (लप्सीफेदी)मा एमसीसी परियोजनाले अधिग्रहण गरेको २०५ रोपनी जग्गा कब्जा गरी झण्डा गाडेको छ । स्थानीय जनताको बाक्लो सहभागितामा कब्जा गरिएको उक्त जग्गामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता कार्यकर्ताहरुले हसिया हथौडा झण्डा गाडेका छन् ।

लप्सीफेदीमा हिजो साँझ स्थानीय युवाहरुले एमसीसी परियोजना खारेज गर, गो ब्याक एमसीसीको नारा लगाउँदै मशाल जुलुस प्रदर्शन गरेका थिए । एमसीसीका विरुद्ध भित्ते लेखन र मशाल जुलुस निकालेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ का सहसंयोजक सुरेश श्रेष्ठ, पार्टीको महाधिवेशन आयोजक समिति सदस्यद्वय केदार खतिवडा र प्रभात भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको थियो । चौतर्फी दबाबपछि हिजो बेलुका ८ बजे साँखु प्रहरी कार्यालयबाट रिहा गरिएको थियो ।

आज विहानैबाट भित्तेलेखनमा जुटेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरु र स्थानीयले एमसीसी परियोजनाको जग्गा कब्जा गरेको सो पार्टी सम्बद्ध स्रोतले जानकारी दिएको छ । यसअघि पनि लप्सीफेदीका जनताले एमसीसी परियोजनाले लप्सीफेदीमा बनाउन लागेको ट्रासमिसन लाइन अन्यत्र सार्न भन्द्र एक महिना लामो आन्दोलन गरेका थिए । विद्युत प्राधिकरणले जग्गा अधिग्रहण गरेको भएपनि त्यो जग्गा एमसीसी परियोजनाका लागि ट्रान्समिसन लाइन बनाउन प्रयोग गर्ने भन्ने थाहा पाएपछि स्थानीय जनताले लामो समयसम्म आन्दोलन गरेका थिए ।

आजबाट सिंहदरबारमा एमसीसी परियोजना कार्यान्वयनको दिनगन्ती सुरुको घोषणा हुँदै गर्दा लप्सीफेदीमा भने एमसीसी परियोजनाकै जग्गा कब्जा गरिएको छ । अन्य परियोजना स्थलका जनता पनि आन्दोलन भएको समाचारहरु प्राप्त भइरहेको छ ।

यसैबीच, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयलाई लिएर सत्तारुढ दलहरू सहितको सहभागितामा बनेको समाजवादी मोर्चाभित्र विवाद भएको छ ।

एमसीसी कार्यन्वयनको घोषणा हुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै बालुवाटारमा समाजवादी मोर्चाको बैठक बोलाएका थिए । बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुले एमसीसी कार्यन्वयन घोषणाका विषयमा असन्तुष्टि व्यक्त गरेका थिए ।

बिहान साढे ७ बजे बालुवाटार पुगेका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरेका थिए । तर प्रचण्डले एमसीसी कार्यन्वयनको चरणमा नै प्रवेश गरिसकेकाले अहिलेलाई केही गर्न नसक्ने जवाफ दिएका थिए ।

बैठकमा नेकपाका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र स्थायी समिति सदस्य अनिल शर्मा उपस्थित थिए । उक्त बैठकमा मोर्चाका अध्यक्ष माधव नेपाल पनि सहभागी भएनन् ।

धनगढीमा बुधबार दिउँसो १ बजेका लागि तय भएको मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभा अन्तिम समयमा आएर स्थगित भयो । माओवादी केन्द्र सुदूरपश्चिमका सचिव जनक बुढाले प्रधानमन्त्रीसहित मोर्चाका शीर्ष नेताको कार्य व्यस्तता कारण सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

प्रदेशस्तरीय सन्देश सभा हुने भएपछि पहाडी जिल्लाका नेता कार्यकर्ताहरू मंगलबार नै धनगढी आइपुगेका थिए ।

सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो ।

 

 

Prabhu Bank AD

सम्बन्धित खवर