वासिङ्टन । अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले आफ्नो नियन्त्रणमा रहेको महत्त्वपूर्ण राष्ट्रिय आपराधिक सूचना प्रणाली ह्याक भएको आशङ्कामा अनुसन्धान थालेको छ । घटनाबारे जानकार एक स्रोतका अनुसार एफबीआईले शनिबार उक्त सम्भावित साइबर आक्रमणको छानबिन गरिरहेको हो ।
नाम गोप्य राख्ने सर्तमा ती व्यक्तिले एसोसिएटेड प्रेस (एपी) लाई यसबारे जानकारी दिएका हुन् । यसअघि अमेरिकी सञ्चारमाध्यम सीएनएनले पनि उक्त प्रणालीमा अनधिकृत प्रवेश भएको आशङ्कासम्बन्धी समाचार प्रकाशित गरेको थियो । ‘नेसनल क्राइम इन्फर्मेसन सेन्टर’ एनसीआईसी) भनिने उक्त कम्प्युटर प्रणालीमा आपराधिक न्यायसँग सम्बन्धित अति संवेदनशील विवरणहरू सङ्ग्रहित हुन्छन् । यसमा मुख्यतया निम्न विवरणहरू समावेश रहन्छन् । फरार व्यक्तिहरूको आपराधिक इतिहास ९क्रिमिनल रेकर्ड, चोरी भएका सवारीसाधन तथा अन्य सम्पत्तिको अभिलेख र कानुन कार्यान्वयनसम्बन्धी अन्य गोप्य सूचनाहरू । यो प्रणाली अमेरिकाका स्थानीय, राज्य तथा संघीय तहका सुरक्षा र कानुन कार्यान्वयन निकायहरूले दैनिक कार्यसम्पादनका लागि प्रयोग गर्दै आएका छन् ।
अमेरिकी कानुन कार्यान्वयन संयन्त्रको मेरुदण्ड मानिने एनसीआईसीमा भएको सम्भावित ह्याकिङले राष्ट्रिय सुरक्षा तथा संवेदनशील तथ्याङ्कको गोपनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । यद्यपि, साइबर आक्रमणको प्रकृति, यसमा संलग्न समूह वा व्यक्ति तथा कुन–कुन विवरण प्रभावित भए भन्नेबारे हालसम्म कुनै आधिकारिक पुष्टि गरिएको छैन । शनिबार यस विषयमा प्रतिक्रिया माग्दा एफबीआईले टिप्पणी गर्न अस्वीकार गरेको एपीले जनाएको छ ।


