डिवि कार्की
पर्साको वीरगञ्ज महानगरपालिका–१७ स्थित बुढिया माई मन्दिरबाट पूजा गरी फर्कने क्रममा पुरानो विवादलाई लिएर दुई पक्षबीच झडप भएको छ। २०८३ साल कात्तिक ३० गते बिहान करिब ८ बजे भएको घटनामा आठ जना घाइते भएका छन्। करिब चार–पाँच वर्षअघिको विवादलाई लिएर रामबाबु साह पक्षका व्यक्तिले गुड्डु साह समूहकी एक महिलामाथि हातपात गरेपछि दुवै पक्षबीच विवाद बढ्दै झडपको रूप लिएको प्रारम्भिक विवरणमा उल्लेख छ।
झडपमा १४ देखि ६० वर्ष उमेर समूहका आठ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर, तीन जनाको मध्यम र चार जनाको सामान्य रहेको जनाइएको छ। घाइतेहरूलाई उपचारका लागि नारायणी अस्पताल, वीरगञ्जमा उपचार भइरहेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २२ वर्षीय सुरज साह, ४४ वर्षीय रामबाबु साह, १८ वर्षीय अनुज साह र ६३ वर्षीय अक्षय साह गरी चार जनालाई नियन्त्रणमा लिएको छ।
घटनापछि सम्भावित थप तनाव नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बल नेपालबाट र जिल्ला प्रहरी कार्यालय पर्साबाट बक्लो रुपमा संयुक्त टोली घटनास्थलमा परिचालन गरि हाल घटनास्थल सामान्य परिएको छ ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको छ। पुरानो विवादका कारण भएको उक्त घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने छ।


