काठमाडौं, २० कार्तिक (५ नोभेम्बर):
नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव विक्रम मिस्रीले नोभेम्बर ४ र ५ मा आफ्नो दुईदिने औपचारिक नेपाल भ्रमण सम्पन्न गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रीहरूसँग भेटवार्ता
भ्रमणका क्रममा विदेश सचिव मिस्रीले सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोतर्फबाट शुभकामना सन्देश प्रवाह गरेका थिए। भेटमा द्विपक्षीय सहयोगका विविध क्षेत्रमा भएको प्रगति तथा नेपालका प्रधानमन्त्रीकोआगामी भारत भ्रमणका सन्दर्भमा हुनसक्ने सम्भावित पहल र उपलब्धिहरूका विषयमा छलफल भएको थियो।
यसैगरी, उनले अर्थमन्त्री माननीय स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री माननीय शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीयविराजभक्त श्रेष्ठ र पूर्वाधार विकास मन्त्री माननीय सुनील लम्सालसँग पनि छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए।
प्रतिनिधिमण्डलस्तरीय वार्ता र संसदीय अन्तरक्रिया
नोभेम्बर ४ मा दुवै देशका परराष्ट्र सचिवहरूबीच प्रतिनिधिमण्डल स्तरीय वार्ता सम्पन्न भएको थियो। उक्त वार्तामा विविध क्षेत्रमाभइरहेका सहयोगको समीक्षा गर्दै नेपाल र भारतबीचको पारस्परिक हितमा आधारित साझेदारीलाई थप सुदृढ गर्ने उपायहरूमा छलफलभएको थियो। यसका अतिरिक्त, भारतीय विदेश सचिवले नेपाल–भारत संसदीय मैत्री समूह तथा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध रपर्यटनसम्बन्धी संसदीय समितिका सांसदहरूसँग पनि अन्तरक्रिया गरेका थिए।
बाढीपछिको सहयोग र नयाँ क्षेत्रमा सहकार्य
विभिन्न भेटघाटका क्रममा नेपाली नेतृत्वले रसुवा–भोटेकोशी बाढीपछि भारतले तत्काल उपलब्ध गराएको उल्लेख्य मानवीय र प्राविधिकसहयोगप्रति आभार व्यक्त गरेको थियो। दुवै पक्षले व्यापार तथा वाणिज्य, विकास साझेदारी, जलविद्युत, भौतिक कनेक्टिभिटी, सीमाव्यवस्थापन, ऊर्जा र जनस्तरको सम्बन्धलगायतका परम्परागत क्षेत्रहरूमा बढ्दो संलग्नताप्रति सन्तुष्टि व्यक्त गरेका छन्। साथै, स्टार्ट–अप, डिजिटल कनेक्टिभिटी, आर्टिफिसियल इन्टेलिजेन्स (AI) र खेलकुद जस्ता नयाँ क्षेत्रहरूमा सहकार्य बढाउने विषयलाई पनिमहत्वका साथ उठाइएको छ।
भारतीय विदेश सचिवको यस भ्रमणले दुई देशबीचको नजिकको मित्रता र सहयोगलाई अझ प्रगाढ बनाउन नियमित उच्चस्तरीय भ्रमणआदानप्रदान गर्ने परम्परालाई निरन्तरता दिएको परराष्ट्र मन्त्रालयद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।


