वि.सं.२०८३ मंसिर ७ आइतवार
Shivam
Dish Home Long Ad
TaTa
भारतीय विदेश सचिव काठमाडौं आइपुग्दै, यस्तो छ भेटघाटको समय तालिका

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री आज विहान ९ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लदै छन् । दुई दिने नेपाल भ्रमणमा आउन लागेका उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिनेछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले आगामी मंसिर ६ देखि ८ सम्म तीन दिने औपचारिक भारत भ्रमण गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणको तयारीकै लागि भारतीय विदेश सचिव नेपाल आएको पनि स्रोतले जानकारी दियो ।

प्राप्त जानकारी अनुसार परराष्ट्र सचिव मिश्रीले आज विहान ११ बजे परराष्ट्र सचिव र मन्त्रीलाई भेट्ने कार्यक्रम रहेको छ । यो भेट सकिए लगत्तै होटल सोल्टीमा ‘द्विपक्षीय औपचारिक वार्ता’ हुनेछ । वार्तामा प्रधानमन्त्रीको भ्रमणको ताका गरिने एमओयु, छलफलका एजेन्डा लगायतका विषयमा छलफल हुने पनि स्रोतले जानकारी दियो । दिवा भोजनसहितको होटल सोल्टीको यो द्विपक्षीय वार्ता सम्पन्न भएपछि विदेश सचिव मिश्रीले ३ बजे अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्नेछन् । त्यस लगत्तै उनले उर्जामन्त्री विराजभक्त श्रेष्ठ र अन्तिममा भौतिक तथा पूर्वाधार मन्त्री सुनिल लम्सालसँग भेटवार्ता गर्नेछन् ।

आज साँझ भने भारतीय दूताबासको आयोजनामा विभिन्न संसदीय समितिलाई प्रतिनिधित्व गर्ने सांसदहरुसँग साँझको डिनर मिटिङ गर्ने कार्यक्रम पनि रहेको अर्को एक स्रोतले जानकारी दियो ।

सविच मिश्रीले भोलि विहान ११ बजे सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग औपचारिक रुपमा भेटवार्ता गर्नेछन् । यो भेटवार्ता सकिए लगत्तै उनी स्वदेश फर्कनेछन् ।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले भेट दिन नमानेको भन्दै भ्रमणको सम्पूर्ण तयारी भएर पनि अन्तिम समयमा मिश्रीको नेपाल भ्रमण स्थगित भएको थियो । नेपाल भारत सम्बन्धमा देखिएका उत्तार चढावका बिच हुन लागेको प्रम बालेनको भारत भ्रमणको तयारी, सम्भावित सम्झौतामा हुन सक्ने हस्ताक्षर र द्विपक्षीय विवादका मुद्दाहरु– चुच्ने नक्साको सवाल, इपिजी प्रतिवेदन, अग्नीवीर (गोर्खा भर्ती केन्द्र) लगायतका विषयहरु कसरी समाधान हुन्छन् र जेनजी आन्दोलनपछि बनेको सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले यस विषयमा आफूलाई कसरी प्रस्तुत गर्छन् भन्ने विषयमा आम चासो र सरोकार रहेको छ ।

Agni

सम्बन्धित खवर