वि.सं.२०८३ मंसिर ८ सोमवार
Shivam
Dish Home Long Ad
TaTa
थाइल्याण्डमा “सगरमाथादेखि समुद्रसम्म” विषयक उच्चस्तरीय क्षेत्रीय संवाद सम्पन्न: हिमालदेखि समुद्रसम्मका जोखिम सामना गर्न क्षेत्रीय सहकार्यमा जोड

बैंकक, २९ अक्टोबर २०२६ — नेपाल सरकार, नेपाली राजदूतावास (बैंकक) र संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (UN ESCAP) को संयुक्त आयोजनामा बैंककस्थित संयुक्त राष्ट्रसंघ सम्मेलन केन्द्रमा एक उच्चस्तरीय क्षेत्रीय संवाद सम्पन्न भएको छ।

दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको उपयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको अवसरमा आयोजित उक्त कार्यक्रममा विभिन्न देशका मन्त्रीहरू, उच्च सरकारी अधिकारीहरू, कूटनीतिक प्रतिनिधिहरू, संयुक्त राष्ट्रसंघ तथा क्षेत्रीय संस्थाका प्रतिनिधिहरू, वैज्ञानिक र अनुसन्धानकर्ता लगायत ३०० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो।

क्षेत्रीय जोखिम र नेपालको अनुभव

कार्यक्रमको अध्यक्षता गर्नुहुँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्री विराज भक्त श्रेष्ठले भोटेकोशी, त्रिशूली तथा बूढीगण्डकी विपद्‍बाट नेपालले भोगेको मानवीय तथा भौतिक क्षति र पुनर्स्थापनाका चुनौतीबारे जानकारी गराउनुभयो। हिमालमा उत्पन्न हुने जोखिम नदी प्रणाली हुँदै सीमापार र समुद्रसम्म फैलिन सक्ने उल्लेख गर्दै उहाँले यस्ता जोखिमको सामना गर्न साझा वैज्ञानिक बुझाइ र समन्वित क्षेत्रीय सहकार्य अपरिहार्य रहेको औँल्याउनुभयो।

मन्त्री श्रेष्ठले भूउपग्रह अवलोकन, स्थलगत मापन र स्थानीय ज्ञानलाई जोडेर हिमनदी, हिमताल तथा अस्थिर पहाडी भूभागको संयुक्त अनुगमन गर्न र कृत्रिम बुद्धिमत्ता (AI) सहितको बहुप्रकोपी पूर्वसूचना प्रणाली विकास गर्न आह्वान गर्नुभयो। साथै, प्रधानमन्त्रीद्वारा प्रस्तावित हिमालय जलवायु उत्थानशीलता संयन्त्रलाई संयुक्त अनुसन्धान र तथ्याङ्क आदानप्रदानमार्फत अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

अन्तर्राष्ट्रिय वक्ताहरूको ऐक्यबद्धता

संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा ESCAP का कार्यकारी सचिव सुश्री आर्मिडा साल्सियाह अलिस्याहबानाले नयाँ प्रकृतिका शृङ्खलाबद्ध विपद्ले नयाँ तहको क्षेत्रीय सहकार्य आवश्यक बनाएको बताउनुभयो।

थाइल्याण्डका उपप्रधानमन्त्री तथा उच्च शिक्षा, विज्ञान, अनुसन्धान तथा नवप्रवर्तनमन्त्री महामहिम श्री योड्चनन वोङ्सावात, भुटानका परराष्ट्रमन्त्री महामहिम श्री दिना नाथ ढुङ्ग्याल, श्रीलंकाका मन्त्री डा. नलिन्दा जयतिस्सा लगायत सामोआ, किर्गिस्तान तथा फिजीका प्रतिनिधिहरूले नेपालप्रति समवेदना प्रकट गर्दै सीमापार सूचना आदानप्रदान र समुदायकेन्द्रित पूर्वसूचना प्रणालीमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको स्वागत मन्तव्य थाइल्याण्डका लागि नेपालका राजदूत तथा ESCAP का स्थायी प्रतिनिधि महामहिम श्री धनबहादुर ओलीले राख्नुभएको थियो।

विषयगत सत्र र संगोष्ठी

कार्यक्रममा दुईवटा उच्चस्तरीय विषयगत सत्रहरू सञ्चालन गरिएका थिए:

  1. पहिलो सत्र: “हिमालदेखि समुद्रसम्मका शृङ्खलाबद्ध जोखिमको बुझाइ तथा व्यवस्थापन” (राष्ट्रिय योजना आयोगका सदस्य श्री संजय आचार्य र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको विशेष प्रस्तुतिसहित)।

  2. दोस्रो सत्र: “उत्थानशील विकास तथा लगानीका लागि विज्ञान, नवप्रवर्तन र जोखिमसम्बन्धी सूचनाको उपयोग” (परराष्ट्र मन्त्रालयका सहसचिव श्री कृष्णप्रसाद ढकालको सञ्चालन र जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठको प्रस्तुतिसहित)।

त्यसैगरी, आजै दिउँसो नेपाली राजदूतावास र एशियन इन्स्टिट्युट ऑफ टेक्नोलोजी (AIT) को संयुक्त आयोजनामा “अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एशियामा विपद् उत्थानशीलता अभिवृद्धि” विषयक छुट्टै संगोष्ठी समेत सम्पन्न भयो। उक्त कार्यक्रममा मन्त्री श्री श्रेष्ठले भोटेकोशी-त्रिशूली क्षेत्रको पुनर्निर्माणलाई सुरक्षित बस्ती र नमुना हिमाली विकासका रूपमा अघि बढाइने बताउँदै AIT मा नेपाल केन्द्र स्थापना गर्ने अवधारणालाई मूर्तरूप दिन नेपाल सरकार प्रतिबद्ध रहेको प्रस्ट पार्नुभयो।

संवादको समापन गर्नुहुँदै मन्त्री श्रेष्ठले विज्ञान, ऐक्यबद्धता र जलवायु न्यायमा आधारित साझेदारीमार्फत छलफलाई व्यावहारिक तथा ठोस कार्यमा रूपान्तरण गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ।

Agni

सम्बन्धित खवर