वि.सं.२०८३ मंसिर ८ सोमवार
Shivam
Dish Home Long Ad
TaTa
अमेरिकी कार्यवाहक राजदूत र नेपाली सेनाका प्रधानसेनापतिबीच भेटवार्ता, विपद् प्रतिकार्य सहयोगबारे छलफल

 

काठमाडौं, २०८३ कात्तिक १२ गते। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलबीच आज भेटवार्ता भएको छ। नेपाली सेनाको मुख्यालयमा भएको भेटमा नेपाल–अमेरिका साझेदारी, विपद् पूर्वतयारी तथा प्रतिकार्य र बाढीबाट प्रभावित नेपाललाई सहयोग गर्ने विषयमा छलफल भएको हो।

भेटका क्रममा राजदूत बोल्डिनले गत अगस्टमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै बेपत्ता नेपाली सैनिकका परिवारप्रति समवेदना प्रकट गर्नुभयो। साथै, विपद्का बेला खोज तथा उद्धार, बिरामीको हवाई उद्धार र आपत्कालीन प्रतिकार्य क्षमता बढाउने विषयमा अमेरिकी सहयोगको महत्त्वबारे चर्चा गर्नुभयो।

अमेरिकाले नेपालको विपद् प्रतिकार्य क्षमता सुदृढ बनाउन १५ करोड अमेरिकी डलरभन्दा बढी मूल्यका अमेरिकामा निर्मित हेलिकप्टर, ड्रोन तथा नदीमा सञ्चालन हुने उद्धार डुङ्गा उपलब्ध गराउने जनाएको छ। ती सामग्रीको आपूर्ति आगामी वर्षदेखि सुरु हुने बताइएको छ। यसअघि गत शरद ऋतुमा अमेरिकाले नेपाललाई ३ करोड ८० लाख अमेरिकी डलर मूल्यका एम–२८ स्काइट्रक विमान उपलब्ध गराएको थियो, जसले राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउँदै आएका छन्।

अमेरिकी प्रविधि, उपकरण र विशेषज्ञताको सहयोगबाट नेपालको खोज तथा उद्धार, चिकित्सकीय निकासी र आपत्कालीन प्रतिकार्य क्षमता अभिवृद्धि गरी विपद्का समयमा मानवीय जीवन बचाउन तथा प्रभावित समुदायलाई सहयोग पुर्‍याउने विषय भेटवार्ताको मुख्य केन्द्रमा रहेको थियो।

Agni

सम्बन्धित खवर