वि.सं.२०८३ भदौ ९ मंगलवार
Dish Home Long Ad
भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण : व्यावसायिक सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण अवसर
Prabhu Bank AD

टिका भट्टराई
‎‎काठमाडौं । नेपाल र भारतबीच ऐतिहासिक, भौगोलिक तथा साँस्कृतिक सम्बन्धसँगै लामो समयदेखि कायम रहँदै आएको सैनिक सहकार्यलाई थप मजबुत बनाउने क्रममा भारतीय स्थल सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी जनरल धीरज सेठको नेपाल भ्रमण महत्वपूर्ण रहेको देखिएको छ । भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट, सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण र शिक्षार्थी अधिकृतहरूसँगको अन्तरक्रियाले दुई देशका सेनाबीचको व्यावसायिक सम्बन्धलाई थप उचाइमा पु¥याउने आधार तयार गरेको छ । ‎


‎भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिवपुरीस्थित नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी फ्याकल्टी तथा कमाण्ड तथा स्टाफ तालिममा सहभागी शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको तालिममा उहाँको सहभागिता र अनुभव आदान प्रदान आफैमा एउटा महत्वपूर्ण अवसर थियो । ‎अन्तरक्रियाका क्रममा जनरल सेठले व्यावसायिक सैनिक शिक्षा, नेतृत्व विकास तथा समसामयिक सुरक्षा चुनौतीका विषयमा आफ्ना विचार र अनुभव साझा गर्नुभएको थियो ।
‎कमाण्ड तथा स्टाफ तहको तालिममा सहभागी अधिकृतहरू भविष्यमा नेपाली सेनाका विभिन्न तहमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्ने जनशक्ति हुन् । त्यसैले उनीहरूले मित्रराष्ट्रका वरिष्ठ सैनिक नेतृत्वबाट प्राप्त गर्ने अनुभव, दृष्टिकोण र व्यावसायिक ज्ञानले उनीहरूको नेतृत्व क्षमता तथा रणनीतिक सोच विकासमा सकारात्मक योगदान पु¥याउन सक्छ ।
सहकार्यको महत्व
‎‎नेपाल भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले नेपालका सम्माननीय प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको भयो । भेटका क्रममा नेपाल–भारतबीचको रक्षा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा न्यानो तथा फलदायी छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।


‎‎नेपाल र भारतबीचको रक्षा सम्बन्ध केवल औपचारिक सैनिक सम्पर्कमा सीमित नभई लामो समयदेखि कायम रहेको पारस्परिक विश्वास, सहकार्य र अनुभव आदानप्रदानमा आधारित छ । यस्तो सम्बन्धलाई उच्च राजनीतिक तथा सैनिक तहमा निरन्तर संवादमार्फत थप प्रभावकारी बनाउनु दुवै देशको साझा हितमा देखिन्छ ।
‎‎जनरल सेठको प्रधानमन्त्रीसँगको भेट र नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेजमा भएको अन्तरक्रियालाई एउटै समग्र परिप्रेक्ष्यमा हेर्दा भ्रमणले राजनीतिक तथा सैनिक दुवै तहमा नेपाल–भारत सम्बन्धको महत्वलाई प्रतिबिम्बित गरेको देखिन्छ ।


‎बदलिँदो सुरक्षा चुनौतीमा व्यावसायिक ज्ञानको आवश्यकता
‎‎आजको सुरक्षा वातावरण परम्परागत सैन्य चुनौतीमा मात्र सीमित छैन । प्रविधिको तीव्र विकास, साइबर सुरक्षा, सूचना तथा सञ्चार क्षेत्रमा देखिएका नयाँ चुनौती, क्षेत्रीय सुरक्षा परिस्थिति र विपद् व्यवस्थापनजस्ता विषयले सुरक्षा संयन्त्रको भूमिका थप बहुआयामिक बनाइरहेका छन् ।
‎‎यस्तो अवस्थामा सैनिक अधिकृतहरूलाई केवल सैन्य रणनीति र कमाण्डसम्बन्धी ज्ञान मात्र पर्याप्त हुँदैन । उनीहरूमा बदलिँदो सुरक्षा वातावरणको विश्लेषण गर्ने, जोखिम पहिचान गर्ने, उपयुक्त निर्णय लिन सक्ने तथा अन्तर्राष्ट्रिय तहमा सहकार्य गर्न सक्ने क्षमता आवश्यक हुन्छ । त्यस दृष्टिले विदेशी मित्रराष्ट्रका वरिष्ठ सैनिक अधिकारीसँग हुने व्यावसायिक अन्तरक्रियाले नेपाली सेनाका अधिकृतहरूको ज्ञान र दृष्टिकोण विस्तार गर्न सहयोग अवश्य नै सहयोग पुर्याउँछ र पुर्याएको पनि छ । ‎
‎नेपाल–भारत सैनिक सम्बन्धको निरन्तरताको सन्देश
‎‎नेपाल र भारतबीचको सैनिक सम्बन्धको आफ्नै विशिष्ट इतिहास छ । दुई देशका सेनाबीच उच्चस्तरीय भ्रमण, तालिम तथा व्यावसायिक सम्पर्कले पारस्परिक समझदारी कायम राख्न भूमिका खेल्दै आएका छन् । ‎भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठको नेपाल भ्रमणले पनि यही निरन्तरतालाई प्रतिबिम्बित गरेको छ । उच्च सैनिक नेतृत्वबीचको प्रत्यक्ष संवादले आपसी विश्वास कायम राख्न र साझा चासोका विषयमा विचार आदानप्रदान गर्न सहज वातावरण निर्माण गर्छ । ‎यस प्रकारका भ्रमणले दुई देशबीचको सम्बन्धलाई केवल परम्परागत मित्रतामा सीमित नराखी व्यावसायिक ज्ञान, नेतृत्व विकास र समसामयिक सुरक्षा विषयमा सहकार्यको दिशातर्फ अघि बढाउन सहयोग पु¥याउने देखिन्छ ।


यसैबिच, नेपाली सेना र भारतीय सेनाबिच हुँदै आएको ̎अभ्यास सूर्य किरण–२० औं संस्करण”को लागि अगस्ट १२ र १३ मा ‘फाइनल प्लानिङ कन्फरेन्स’ सम्पन्न भएको छ । यस कन्फरेन्समा भाग लिन भारतीय सेनाको तर्फबाट कर्नेल अमित शंकर पारोलेकर, कर्नेल राहुल चौरसिया, मेजर अभिनन्दन चन्डेल, मेजर अभिषेक भारगभा आएका थिए । उनीहरु इन्डिगो एयरबाट अगस्ट १० मा काठमाडौं आएका थिए । कन्फरेन्स रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सम्पन्न भएको हो । उक्त कन्फरेन्सका लागि काठमाडौंबाट नेपाली सेनाका महासेनानी विश्वनाथ तिमिल्सिनाको कमाण्डमा पाँच जना समेत गरी अगस्ट १२ मा नेपाली सेनाको एनए०६९ स्काई ट्रकबाट कार्यक्रमस्थल गएका थिए । उनीहरु उक्त कन्फरेन्स सकेर अगस्ट १३ मा इन्डिगो एअरलाइन्सबाट १४ः४० मा दिल्ली फर्किए । यो कन्फरेन्स सुर्यकिरण अभ्यासको ६ देखि ८ हप्ता अगाडि हुने गरेको छ । २० औं संस्करण नेपालमा हुँदैछ । त्यसैको तयारीको लागि यो कन्फरेन्स भएको हो । सूर्य किरण सेनाको संख्याको हिसाबले नेपालको सबैभन्दा ठूलो द्विपक्षीय सैन्य अभ्यास हो । यसअघि १९ औं संस्करण भारतको पिथौरागढमा सम्पन्न सेप्टेम्बर ८, २०२५ मा भएको थियो । यो द्विपक्षीय संयुक्त सैन्य तालिममा विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला र मानवीय सहयोगलगायत विषयवस्तुहरु समावेश हुँदै आएका छन् ।
अभ्यासको समापन समारोहमा भारतीय सेनाका लेफ्टिनेन्ट जनरल मनीष लुथरा र नेपाली सेनाका मेजर जनरल अनुप जंग थापा उपस्थित थिए। नेपाली सेनाले अन्य राष्ट्रहरू लगायत मित्र राष्ट्रहरूको सेनासँग द्विपक्षीय र बहुपक्षीय अभ्यास र व्यावसायिक प्रतिस्पर्धाहरूमा भाग लिँदै आएको छ।
मेजर जनरल बिनोज बस्न्यात (सेवानिवृत्त) ले संयुक्त अभ्यास र रणनीतिक साझेदारी युद्धको तयारीको बारेमा कम र जटिल छिमेकमा कूटनीति, सन्तुलन र अस्तित्वको बारेमा बढी रहेको बताए। बस्न्यातले थपे, “सैन्य लाभभन्दा बाहिर, यी अभ्यासहरूले कूटनीतिक उपकरणको रूपमा काम गर्छन्, जसले नेपाललाई क्षेत्रीय राजनीतिमा लाभ दिन्छ र सहयोग र स्थिरताप्रति प्रतिबद्ध तटस्थ, जिम्मेवार अभिनेताको रूपमा यसको छविलाई सुदृढ बनाउँछ।“
नेपाली सेनाले संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, बंगलादेश, पाकिस्तान, श्रीलंका, मंगोलिया, इन्डोनेसिया र अन्य देशका सेनासँग संयुक्त तालिम र अभ्यासमा भाग लिँदै आएको छ। यी संलग्नताहरू खोज र उद्धार, विपद् प्रतिक्रिया, आतंकवाद प्रतिरोध, पर्वतारोहण र संयुक्त राष्ट्र शान्ति स्थापनामा केन्द्रित छन्।
नेपाल–भारत दुई सेना बीचको लामो समयदेखिको रक्षा सहयोगलाई अझ सुदृढ पार्न सन् २०११ मा सूर्य किरण अभ्यास सुरु गरिएको थियो। त्यस वर्षदेखि, देशहरूले निरन्तर अभ्यास गर्दै आएका छन्। यो अभ्यास वर्षमा दुई पटक सञ्चालन गरिन्छ र नेपाल र भारतमा पालैपालो आयोजना गरिन्छ, जुन पारस्परिक विश्वास र समानताको प्रतीक हो।
सूर्य किरणले नेपाल र भारत बीचको शताब्दी पुरानो सैन्य सम्बन्धमा निर्माण गर्दछ, जसमा गोर्खा भर्ती र दुई सेना बीच मानद जनरल पदहरू आदानप्रदान जस्ता परम्पराहरू समावेश छन्। वर्षौंको दौडान, अभ्यासको दायरा आधारभूत सैन्य अभ्यासबाट आतंकवाद प्रतिरोध कार्यहरू, जंगल युद्ध, विपद् प्रतिक्रिया, मानवीय सहयोग र संयुक्त राष्ट्र शान्ति स्थापना प्रशिक्षण समावेश गरिएको छ । २०६७ देखि यस्तो द्विपक्षीय सैन्य तालिम हुँदै आएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर