वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
तीन नेतामाथि एमालेको स्पष्टीकरण, रविलाई अनुसन्धानका लागि ६ दिन म्याद थप
Prabhu Bank AD

काठमाडौं । पार्टी कार्यालय निर्माणका विषयमा असहमति राख्ने तीन जना नेतालाई नेकपा एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। आइतबार बसेको पार्टी सचिवालयको बैठकले भवन निर्माणका विषयमा असहमति राख्ने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

यसैगरी लामो समयदेखि पार्टीको नीतिसँग असहमति राखेर आफ्ना विचार प्रकट गरिरहेको भन्दै पूर्व उपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको छ। ‘पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, पार्टी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिनुभएकोमा उहाँहरूले के कति कारणले उहाँहरूले त्यसप्रकारका गतिविधि गरिराख्नुभएको छ भन्ने विषयमा स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ बैठकपछि पार्टी महासचिव शंकर पोखरेलले भने।


यसैबिच, सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री, सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ। पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आइतबार पेश गरिएको थियो। शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो।

शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आज अदालतमा पेश गरिएको थियो। उनलाई अदालतमा पेश गर्नुअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका थिए। उता राष्ट्र बैंक चोकमा सहकारी पीडित जम्मा भएका थिए।

जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिदचोक आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा तोडेर नाराबाजी गर्ने क्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो। यसैगरी प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास पनि प्रहार गरेको थियो।

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय