सप्तरी । मुसहर समुदायको कुल देवताको रुपमा रहेको दिनाराम दिनाभद्रीको मेला महोत्सवको समुदघाटन कार्यक्रम सम्पन्न भएको छ ।
सप्तरीको खडक नगरपालिका -८ र बोदेबरसाईन नगरपालिका -२ को सिमानामा रहेको बैरीयामा दिनारामभद्री स्थानमा आइतबार सम्पन्न कार्यक्रमको प्रमुख अतिथि खडक नगरपालिका प्रमुख जयप्रकाश चौधरी रहेका थिए भने विशिष्ट अतिथिको रुपमा राष्ट्रिय दलित मुक्ति जागरण अभियानका केन्द्रीय अध्यक्ष राजेश विद्रोही रहेका थिए ।
यस्तै कार्यक्रमको अध्यक्षता राष्ट्रिय मुसहर संघका केन्द्रीय अध्यक्ष चन्देश्वर सदाले गरेका थिए भने पूर्वसांसद असरफी सदाको पनि उपस्थित रहेको थियो । यस्तै वडा अध्यक्ष रामप्रसाद राम, सिंहेश्वर मंडल यस्तै गंगा सदा, बद्री सदा, चन्द्रनारायण राम, कन्तलाल सदा लगायतकाहरुको पनि उपस्थिति रहेका थिए ।
राजेश विद्रोहीको नेतृत्वमा रहेको राष्ट्रिय दलित मुक्ति मुक्ति जागरण अभियानको सहायक संगठनको रुपमा रहेको नेपाल राष्ट्रिय मुसहर संघले हरेक वर्ष चैत २५, २६ र २७ गते तीन दिने दिनाराम दिनाभद्रीको जन्मजयन्तीको रुपमा मेला महोत्सव मनाउँदै आएको छ । यस वर्षको मन्दामन्दीलाई छिचोल्दै ९ बौँ जन्मजयन्ती मेला महोत्सवको समुदघाटन कार्यक्रममा विभिन्न जिल्लाहरुबाट हजारौंको संख्यामा मुसहर समुदायहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि राजेश विद्रोहीले अन्तरास्ट्रिय स्तरमा ऐतिहासिक सांस्कृतिक तथा साझा धरोहरको रुपमा रहेको दिनाराम दिनाभद्रीको महत्त्व बढ्दै जाने भएकाले यसलाई अन्तर्राष्ट्रिय पर्यटन तथा सर्किटको रुपमा विकास गर्नुपर्ने बताएका थिए । यस्तै मेयर जयप्रकाश चौधरीले नगरपालिकाले हरेक वर्ष सार्वजनिक विदा दिने गरेको र यसको विकासमा कुनै कसर नराख्ने बताएका छन् ।

