काठमाडौ । कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १२ वर्षीय बालक समेत छन्।
महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित सडकमा ना ५ ख २३६४ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा महाराजगन्ज–२ गैडहवाका आशिष कश्यपका छोरा १२ वर्षीय आनन्द कश्यपको मृत्यु भएको छ। उनी पैदल हिँडिरहेका थिए।
यस्तै साइकलयात्रीहरू महाराजगन्ज–३ गनौरियाका ४६ वर्षीय विजयकुमार गुप्ता र ७५ वर्षीय भोल्लर कुर्मीको पनि मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

