काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ एकपछि अर्को विवादमा मुछिन थालेका छन् । हालै र्यापर यममुद्धको सालिक बनाउन बजेट विनियोजन गरेको प्रकरण नसेलाउँदै ‘बजेटमा बदमासी’को अर्को प्रकरणले पनि उनलाई विवादको भूमरीमा तानेको छ ।
आफूलाई चुनावी प्रचारमा सहयोग गरेको ‘रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेललाई अप्रत्यक्ष रूपमा फाइदा पुग्ने गरी बालेनले बजेटमा १ करोड रकम विनियोजन गरेको भन्दै सामाजिक सञ्जाल उनीविरुद्ध खनिएको छ ।
पौडेल सञ्चालक रहेको ‘ई–स्पोर्ट’को नाममा काठमाडौं महानगरले १ करोड रकम विनियोजन गरेको दाबीसहित बालेनको आलोचना भइरहेको हो । हाल नेपालमा ‘ई–स्पोर्ट’ सञ्चालनका लागि आधिकारिक कम्पनीको रूपमा पौडेलसमेत सहभागी रहेको डीआरएस नामक कम्पनी मात्र दर्ता रहेको जनाइएको छ ।
यससम्बन्धी समाचार हालै ‘हिमालयन टेलिभिजन’ले समेत प्रसारण गरेपछि बालेन विवादमा तानिएका हुन् । तर, पौडेलले भने समाचारको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका छन् । उनले आरोप प्रमाणित भए झुण्डिएर मर्न तयार रहेको पनि बताएका छन् ।
‘‘प्रिय हिमालयन टेलिभिजन, म ई–स्पोर्ट टिमको सह–स्थापक हुँ, आयोजक हैन । रुटिन अफ नेपाल बन्द र डीआरएस कम्पनीको कुनै सम्बन्ध छैन’, उनले भनेका छन्, ‘बेइज्जत नै गर्ने भए ‘लजिक’ दिएर गर्नू । आरोप प्रमाणित गर्नुहोस्, झुण्डिएर मर्न तयार छु ।’

