काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको प्रमुख आतिथ्यतामा ललितपुरको पाटनस्थित ऐतिहासिक श्री कुमारी छेँ तथा कुमारी निवासका नयाँ भवनहरू उद्घाटन गरिएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य जगदीश खरेल तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको विशेष उपस्थिति रहेको थियो।
१६औँ–१७औँ शताब्दीमा निर्माण भएको ऐतिहासिक कुमारी छेँ २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएपछि यसको संरक्षण तथा पुनर्निर्माण अघि बढाइएको हो। भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत ९ मार्च २०२१ मा पुनर्निर्माणको शिलान्यास गरिएको थियो। परियोजनाअन्तर्गत पुरानो कुमारी छेँको संरक्षण तथा पुनर्निर्माणसँगै कुमारी देवीका लागि नयाँ कुमारी निवाससमेत निर्माण गरिएको हो।
परियोजना कार्यान्वयनमा नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) तथा प्राविधिक सहयोगमा क्ष्ल्त्ब्ऋज् संलग्न रहेको थियो। परियोजनाको लागतसम्बन्धी आधिकारिक विवरणमा फरक तथ्यांक देखिए पनि क्ष्ल्त्ब्ऋज् को परियोजना विवरणमा रु.४ करोड ५५ लाख उल्लेख छ।
नेपाल–भारत सहकार्यमा सम्पन्न यस परियोजनाले पाटनको ऐतिहासिक तथा जीवित सांस्कृतिक सम्पदाको संरक्षणसँगै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

