काठमाडौं । विश्वको आर्थिक महाशक्तिको महत्वकांक्षा बोकेको भारतलाई धक्का लागेको छ । भारत विश्वको चौथो ठूलो अर्थतन्त्रबाट छैटौंमा झरेको छ । अघिल्लो वर्ष चौथो स्थानमा पुगेको भारत यस पटक दुई स्थान पछाडि गएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अमेरिकी डलरमा गणना गरिने कूल गार्हस्थ उत्पादन ९जीडीपी० का आधारमा भारतको स्तर खस्केको जनाएको छ । पछिल्लो वरियतामा अमेरिका, चीन, जर्मनी,जापान र बेलायत भारतभन्दा अगाडिको अर्थतन्त्र रहेको मुलुक बनेका छन् ।
यसअघि भारत सन् २०२२ को सेप्टेम्बरमा बेलायतलाई उछिन्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको थियो । गत वर्ष मेमा जापानलाई उछिनेर भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बने पनि अहिले तेस्रो स्थानमा आउने आशामाथि तुषारापात छर्दै छैटौं बनेको छ ।
आईएमएफले सबैभन्दा ठूलो अर्थतन्त्र रहेको अमेरिकाको ३१० खर्ब डलर, दोस्रो रहेको चीनको अर्थतन्त्र २०० खर्ब डलरभन्दा बढी रहेको जनाएको छ । जर्मनी ५० खर्ब, जापान ४४ खर्ब र बेलायत ४३ खर्ब अमेरिकी डलरसहित पाँचौँ स्थानमा उक्लिँदा भारत पछाडि झरको हो ।
विश्वका ठूला अर्थतन्त्रको शीर्ष १० स्थानमा फ्रान्स सातौं, इटाली आठौं, क्यानडा नवौं र ब्राजिल दशौं छन् । ४६ अर्ब अमेरिकी डलरको हाराहारीमा रहेको नेपालका अर्थतन्त्रमा यो वर्ष मुश्किलले ३ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ । आन्तरिक वाह्य कारण देखाउँदै नेपालको अर्थतन्त्रमा सुधार आउन सक्ने सम्भावना कम रहेकोतर्फ औंल्याइएको छ ।

