धनमाया निरौला‘अनु’
२०० वर्षअगाडि अंग्रेज साम्राज्यवादका विरुद्धको नालापानीको लडाइँमा होस् वा १०० वर्षअगाडिको योगमाया न्यौपाने नेतृत्वको सामाजिक आन्दोलनमा होस्, राणा–पञ्चायतविरोधी जनआन्दोलनमा होस् वा दशवर्षे जनयुद्धमा होस्, २०६२÷०६३ को १९ दिने जनआन्दोलनमा होस्, वा महिला हिंसा विरुद्धका विभिन्न आन्दोलन नै किन नहोस्– महिलाहरुले उल्लेख्य सहभागिता, त्याग, तपस्या, वीरता, सौर्यतासहितको योगदान र बलिदान गरेका छन् । देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डता बचाउन पुरुष सँगसँगै महिलाहरुले पनि ऐतिहासिकरुपले गौरवशाली भूमिका निर्वाह गर्दै आएका छन् ।
नेपालको इतिहासमा अंग्रेज साम्राज्यवादका विरुद्ध लडिएको नालापानी युद्ध (सन् १८१४–१८१६) राष्ट्रिय स्वाधीनता, वीरता र बलिदानको प्रतीकका रूपमा स्मरण गरिन्छ । सन् १८१४ अक्टोबर २४ देखि नोभेम्बर ३० सम्म अंग्रेज साम्राज्यवादी सेनासँग भएको नालापानीको युद्धमा केही महिला र बालबालिकासमेत भौतिक रूपमा नै नेपाली सेनासँगै मैदानमा सहभागी थिए । जब ब्रिटिस सेना बम र गोलीले नेपाली भूमिमाथि आक्रमण गर्दै थियो, त्यहाँ रहेका महिला र बालबालिकासमेत ढुंगामुढाको सहायताले लडाइँमा होमिए । इतिहासकारहरुका अनुसार कमला, मनमाया, कान्छी, लक्ष्मी, सीता लगायतका महिला उक्त लडाइँको अग्रपंक्तिमा रहेर वीरतापूर्वक लडेका थिए । त्यस युद्धमा नेपाली महिलाहरूले देशको स्वाधीनताको रक्षाका निम्ति उच्च साहस, सौर्यता, वीरता र बलिदानका अद्वितीय कीर्तिमान कायम गरेका थिए । पितृसत्तात्मक समाजको सीमाभन्दा बाहिर निस्केर महिलाहरूले राष्ट्ररक्षामा देखाएको यो ऐतिहासिक योगदानले नेपाली इतिहासमा गौरवपूर्ण स्थान ओगटेको छ ।
इतिहासकारहरुका अनुसार नालापानी युद्ध अङ्ग्रेज–नेपाल युद्धको प्रारम्भिक तथा निर्णायक युद्धमध्ये एक थियो । देहरादून नजिकको नालापानी (खलङ्गा) किल्लामा क्याप्टेन बलभद्र कुँवरको नेतृत्वमा सीमित संख्याका नेपाली सैनिकहरूले अङ्ग्रेज सेनाको शक्तिशाली आक्रमणको सामना गरेका थिए । यस युद्धमा किल्लाभित्र रहेका महिला, बालबालिका र वृद्धहरूले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा युद्धमा योगदान पु¥याएका थिए । युद्धका क्रममा महिलाहरूले सैनिकहरूका लागि खाना पकाउने, पानी बोकेर पु¥याउने, घाइतेहरूको स्याहार गर्ने र हतियार तथा गोलाबारुद ओसारपसार गर्ने कार्य मात्रै होइन, घरेलु हतियारका साथमा दुश्मनसँग जाइलागेका पनि थिए । केही ऐतिहासिक विवरणअनुसार महिलाहरूले शत्रुको आक्रमण तीव्र हुँदा ढुंगा, दाउरा तथा उपलब्ध हतियार प्रयोग गरी किल्लाको रक्षा गरेका थिए । अङ्ग्रेज सेनाले पानीको मुहान काटिदिँदा महिलाहरूले ज्यानको जोखिम मोलेर किल्लाभित्र पानी पु¥याएको विवरण विभिन्न ऐतिहासिक वर्णनमा पाइन्छ । उनीहरूले सैनिकहरूको मनोबल उच्च राख्न, आत्मबल बढाउन र अन्तिम समयसम्म डटेर लड्न प्रेरणा दिने महत्वपूर्ण भूमिका समेत खेलेका थिए । यो युद्धमा नेपाली वीर वीरङ्गनाहरुले देखाएको अदम्य साहस, वीरता, सौर्यता, त्याग र उच्च बलिदानको दुश्मन पक्ष अंग्रेजहरुले समेत उच्च प्रशंसा गरेका थिए । यही वीरतापूर्वक गरिएको बलिदानले नै नेपाल र नेपालीहरुलाई विश्वभर चिनियो । नेपालले ‘वीर गोरखाली’हरुको देश भनेर संसारभर चर्चा पायो । तर विडम्बना, देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि बलिदानीपूर्वक लड्ने तिनै वीर नेपाली युवाहरुलाई तत्कालीन शासकहरुले ‘पैसाको लोभमा’ अंग्रेजहरुलाई नै बेचिदिए । नेपाली युवाहरुको वीरता र सौर्यता देखेर लोभिएका अंग्रेज साम्राज्यवादी शासकहरुले नेपाली युवाहरुलाई आफ्नो सेनामा भर्ती गर्न थाले । र, आजसम्म पनि बेलायतले नेपाली युवाहरुलाई भर्ती गरिरहेको छ । भारतले भने एकपक्षीय रुपमा सन् २०२२ देखि ‘अग्नीवीर योजना’ अन्तर्गत चारवर्षका लागि मात्र भर्ती गर्न थालेपछि नेपालले त्यसको विरोध गरेको छ र हाल भारतीय गोर्खा सैनिकमा नेपाली युवाहरुको भर्ती रोकिएको छ ।
नेपालका कम्युनिस्टहरुले पार्टीको स्थापनाकालदेखि नै गोर्खा भर्ती खारेजीको लागि आवाज उठाउँदै आएका छन् । तर सडकमा यही आवाज उठाउने कम्युनिस्ट नेताहरु पटक पटक सरकारको नेतृत्व गर्ने ठाउँमा पुगे पनि गोर्खा भर्ती खारेजीको मुद्दा कार्यान्वयन हुन सकेको छैन । नेपालको सर्वोच्च अदालतले समेत गोर्खा भर्तीको विषयमा पुनरावलोकन गर्न आदेश गर्दा समेत नेपालको सरकारले यस विषयमा प्रवेश गर्ने सामथ्र्य जुटाउन सकेको छैन ।

गोर्खा भर्तीबाट भित्रिएको ‘लाउरे संस्कृति’का कारण युवाहरुको विदेश पलायन कहालीलाग्दो बनेको छ र नेपालको पराधीनता दिनानुदिन बढिरहेको छ । रेमिट्यान्समा देशको अर्थतन्त्र निर्भर बनिरहेको छ । देश युवाविहीन बन्दै गएको छ । उत्पादनशुन्य केवल बजारमा (उपभोक्तामा) सीमित हुन पुगेको छ देश । आफ्नो मातृभूमिको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका निम्ति अदम्य साहस, वीरता र सौर्यताका बलिदानीपूर्वक लड्ने ती वीर वीरङ्गनाहरुका सन्ततीहरुका अगाडि आज गम्भीर रुपमा त्यही ऐतिहासिक प्रश्न खडा भएको छ– रोजगारी र उच्च शिक्षाका लागि संसारका कुना कुनामा पुगेका नेपाली युवाहरुले आफ्नो मातृभूमिको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न सक्छन् ? के देशलाई स्वाधीन र आत्मनिर्भर बनाउन सक्छन् ? ‘जननी जन्मभूमि स्वर्गादपी गरियसी’लाई वास्तविक अर्थमा चरितार्थ गर्न सक्छन् ? टिआर र पीआरमा सुविधाभोगी जिन्दगी बाँचिरहेका नेपालीहरुका लागि पनि के यो नेपाल ‘मातृभूमि’ होइन र ? यो देशमा गरिखाने श्रमजीवि जनताको शासन स्थापित गर्न, लोकतान्त्रिक गणतन्त्रलाई जनगणतन्त्रमा बदल्न र साँच्चैको उत्पीडित जातीय पहिचानसहितको संघीयता लागू गर्न, नेपालका प्राकृतिक र मानवीय स्रोतसाधनमा नेपालको अग्राधिकार कायम गर्दै नेपालकै हितमा प्रयोग गर्न सक्ने खालको स्वाधीन र आत्मनिर्भर नेपाल बनाउने उद्देश्यमा आवश्यक उल्लेखनीय भूमिका खेल्नु ती सबै प्रवासी नेपालीहरुको पनि दायित्व होइन र ?
साम्राज्यवादी र विस्तारवादीहरुले नेपालको प्राकृतिक र मानवीय स्रोधसाधनमा आँखा लगाउनु, त्यसमाथि आफ्नो एकाधिकार कायम गर्न खोज्नु, नेपालीहरुलाई नै दलाल बनाएर आफ्नो अभिष्ट पूरा गर्न प्रयास गर्नु, नेपालको घरेलु मामलामा दख्खल दिनु, आफ्नो दबाब र प्रभाव विस्तार गर्नु र नेपालको स्वतन्त्र निर्णय क्षमतालाई नियन्त्रण र निषेध गर्दै देशको अस्तित्व नै नामेट पार्ने प्रयास गर्नु उनीहरुको रणनीति हो । त्यसको विरोध गर्नु, हस्तक्षेपको प्रतिरोध गर्नु, आवाज उठाउनु, आन्दोलन गर्नु, संघर्ष गर्नु, मुद्दालाई अन्तराष्ट्रियकरण गर्नु, देशको स्वाधीनता, सार्वभौमिकता, क्षेत्रीय अखण्डताका साथै मुलुकभित्रका प्राकृतिक तथा मानवीय स्रोतसाधनको संरक्षण र प्रबद्र्धन गर्नु सच्चा देशभक्त, क्रान्तिकारी तथा जनपक्षीय शक्तिहरुको आधारभूत दायित्व हो । आफ्नो मातृभूमिलाई माया गर्ने, नेपाली माटोमा गरिखाने हरेक नेपालीहरुको परम कर्तव्य हो । आज पनि नेपाली युवाहरुलाई यही दायित्वबोध र कर्तव्यबोध नालापानी युद्धका वीर वीरङ्गनाहरुले गराइरहेका छन् ।
आज राष्ट्रिय अन्तर्राष्ट्रिय स्थिति फेरिएको छ । सूचना प्रविधिको अभूतपूर्व विकासले संसारलाई कम्प्युटर÷मोवाइलको सानो चिप्समा कैद गरिदिएको छ । प्रतिकूलताभित्र अनुकूलता भनेझै नेपाल सानो भएपनि देशको स्वाधीनताको लडाइँमा विश्वको ध्यान खिच्न सक्छ । र, विश्वभरको समर्थन प्राप्त पनि गर्न सक्छ ।
अंग्रेज साम्राज्यवादसँग १८१६ को सन्धिदेखि खुम्चिएको नेपालको स्वाधीनतामाथि निरन्तर दबाब र प्रभाव बढ्दै गएको हरेक नेपालीहरुले अनुभूति गर्दै आएका छन् । एमसीसी सम्झौतादेखि नयाँ राजनीतिक तथा प्रशासनिक नक्सामाथि भएको अतिक्रमणसम्म, घरेलु राजनीतिको माइक्रो मेनेजमेन्टदेखि नियन्त्रित अस्थिरतासम्म, आफ्नो स्वार्थनुकूलको शासन फेरबदलदेखि आफ्ना दलालहरुलाई सत्तामा पु¥याएर आफ्नो अभिष्ट पूरा गराउनेसम्मका खेलहरु भइरहेका छन् । जेनजजी विद्रोहमा व्यक्त भूराजनीतिक स्वार्थप्रेरित खेलहरुले नेपालको स्वाधीनतामाथि इतिहासमै सबैभन्दा ठूलो संकट पैदा गरिदिएको छ । साम्राज्यवादी शक्तिहरुले आफ्ना कठ्पुतली सरकारमार्फत् प्रोक्सीवार (कलर रेभ्युलेशन) खडा गर्ने भूगोल र स्रोतसाधनको दुरुपयोग गर्ने, विश्वमानचित्रबाटै नेपालको नक्सा मेटाइदिने खतरनाक खेलहरु समेत सतहमा प्रकट हुन थालेका छन् ।

The new political map of Nepall comprising of the disputed lands of Kalapani, Limpuyadhura, Lipulekh, published on May 20, 2020. Photo Cpurtesy: Bishnu Rimal/Twitter
तसर्थ, इतिहास र वर्तमानको, अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिको, भूराजनीकि र राष्ट्रिय स्वार्थको गहिरोबोध गरी सच्चा देशभक्तहरु, क्रान्तिकारी कम्युनिस्टहरु, लोकतन्त्रवादी, गणतन्त्रवादीहरु, प्रगतिशील वामपन्थी शक्तिहरु एकताबद्ध भएर आजको विषम परिस्थितिमा साम्राज्यवादी–विस्तारवादी हस्तक्षेपहरु र तिनका घरेलु दलालहरुका राष्ट्रघाती क्रियाकलापहरुका विरुद्ध संगठित रुपमा विरोध र प्रतिरोध गर्नु ज्वलन्त ऐतिहासिक आवश्यकता बनेको छ । नेपाली जेलेन्स्कीहरु जन्माउन प्रायोेजन गरिएको फागुन २१ को निर्वाचन नेपाल र नेपाली जनताका लागि कति घातक छ, बेलैमा नेपाली जनताले बोध गर्न जरुरी छ । र, यो देशको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति मात्रै होइन, यो देशलाई स्वाधीन र आत्मनिर्भर बनाउनका लागि पनि आसन्न निर्वाचन सशक्त रुपमा बहिस्कार गर्न जरुरी छ ।
जनसंख्याको ५१ प्रतिशत हिस्सा ओगट्ने महिलाहरुको उल्लेखित कार्यभारमा महत्वपूर्ण भूमिका रहन्छ । दशवर्षको जनयुद्धपछि हरेक वर्ग, उत्पीडित जाति तथा क्षेत्रका महिलाहरुमा अभूतपूर्व राजनीतिक जागरण पैदा भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा महिलाको सहभागिता बढ्दै गएको छ । शान्ति सेनामा नेपाली महिला सैनिकको अन्तर्राष्ट्रिय योगदानले देशको प्रतिष्ठा उच्च बनाएको छ । राजनीतिक तथा कूटनीतिक क्षेत्रमा महिलाको सहभागिता पनि राष्ट्रिय हित र अखण्डताको संरक्षणसँग जोडिएको छ । संविधान निर्माण, नीति निर्माण र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने महिलाहरूले देशको सार्वभौमिक अधिकारको संरक्षणमा योगदान पु¥याइरहेका पनि छन् । साथै, सीमा क्षेत्रका समुदायमा बसोबास गर्ने महिलाहरूले आफ्नो दैनिकी र संघर्षमार्फत क्षेत्रीय अखण्डता जोगाइराख्न अप्रत्यक्ष भूमिका खेलेका छन् । त्यसैगरी, सामाजिक चेतना र राष्ट्रिय एकताको निर्माणमा पनि महिलाको योगदान उल्लेखनीय रहेको छ । आमाको रूपमा सन्तानमा राष्ट्रप्रेम, एकता र स्वाभिमानको भावना रोप्ने कार्य महिलामार्फत् नै सम्भव भएको छ ।
देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा कुनै एक वर्ग वा लिङ्गको मात्र जिम्मेवारी होइन । तर पुरुषभन्दा महिलाको भूमिका कहाँनेर महत्वपूर्ण र आधारभूत रुपले महत्वपूर्ण हुन्छ भने आमा नै मानिसको पहिलो शिक्षक÷शिक्षिका हो र घर नै हरेक नागरिकको पहिलो पाठशाला हो । तसर्थ, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकताको सवाल होस् वा जनअधिकारको सवाल, हरेक नागरिकमा स्वाभिमानी चेतनाको बिजारोपण गर्ने मुख्य भूमिका महिलाहरुको नै हुन्छ । तसर्थ, हरेक समाज र देशमा कस्तो नागरिक जन्माउने भन्ने प्रश्नमा सबैभन्दा ठूलो भूमिका महिलाको हुने हुँदा हरेक नेपाली महिलाहरुमा राष्ट्रियताको भावना प्रबल र सबल रुपमा जागृत गराउन सकियो भने समाजमा जिउँदा जाग्दा स्वाभिमानी नागरिकहरु जन्मिनेछन् र जिउँदा जाग्दा नागरिकहरु जन्मेको भूमि कहिल्यै पनि साम्राज्यवादी तथा विस्वारवादीहरुको गुलाम, कठ्पुतली बन्न सक्दैन । वीरता र बलिदानपूर्वक विश्व जगतमा ठाडो शीर पारेर साहस र विवेकका साथ स्वाभिमानपूर्वक बाँच्दछ । आजको मात्र होइन, भोलिको चुनौतीको समाना गर्न पनि महिलाहरुलाई सबल र स्वाभिमानी बनाउन जरुरी छ । जुन कुरा इतिहासका हरेक कालखण्डले सिकाएको छ । इतिहासबाट सिकेर वर्तमानका चुनौतीको सामना गर्न स्वाभिमानी महिलाहरुको भूमिका महत्वपूर्ण र उल्लेखनीय हुने कुरा स्वतःसिद्ध छ ।

