वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
नालापानी युद्ध, महिलाको बलिदान र स्वाधीनताको लडाइँ
Prabhu Bank AD

धनमाया निरौला‘अनु’

२०० वर्षअगाडि अंग्रेज साम्राज्यवादका विरुद्धको नालापानीको लडाइँमा होस् वा १०० वर्षअगाडिको योगमाया न्यौपाने नेतृत्वको सामाजिक आन्दोलनमा होस्, राणा–पञ्चायतविरोधी जनआन्दोलनमा होस् वा दशवर्षे जनयुद्धमा होस्, २०६२÷०६३ को १९ दिने जनआन्दोलनमा होस्, वा महिला हिंसा विरुद्धका विभिन्न आन्दोलन नै किन नहोस्– महिलाहरुले उल्लेख्य सहभागिता, त्याग, तपस्या, वीरता, सौर्यतासहितको योगदान र बलिदान गरेका छन् । देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डता बचाउन पुरुष सँगसँगै महिलाहरुले पनि ऐतिहासिकरुपले गौरवशाली भूमिका निर्वाह गर्दै आएका छन् ।

नेपालको इतिहासमा अंग्रेज साम्राज्यवादका विरुद्ध लडिएको नालापानी युद्ध (सन् १८१४–१८१६) राष्ट्रिय स्वाधीनता, वीरता र बलिदानको प्रतीकका रूपमा स्मरण गरिन्छ । सन् १८१४ अक्टोबर २४ देखि नोभेम्बर ३० सम्म अंग्रेज साम्राज्यवादी सेनासँग भएको नालापानीको युद्धमा केही महिला र बालबालिकासमेत भौतिक रूपमा नै नेपाली सेनासँगै मैदानमा सहभागी थिए । जब ब्रिटिस सेना बम र गोलीले नेपाली भूमिमाथि आक्रमण गर्दै थियो, त्यहाँ रहेका महिला र बालबालिकासमेत ढुंगामुढाको सहायताले लडाइँमा होमिए । इतिहासकारहरुका अनुसार कमला, मनमाया, कान्छी, लक्ष्मी, सीता लगायतका महिला उक्त लडाइँको अग्रपंक्तिमा रहेर वीरतापूर्वक लडेका थिए । त्यस युद्धमा नेपाली महिलाहरूले देशको स्वाधीनताको रक्षाका निम्ति उच्च साहस, सौर्यता, वीरता र बलिदानका अद्वितीय कीर्तिमान कायम गरेका थिए । पितृसत्तात्मक समाजको सीमाभन्दा बाहिर निस्केर महिलाहरूले राष्ट्ररक्षामा देखाएको यो ऐतिहासिक योगदानले नेपाली इतिहासमा गौरवपूर्ण स्थान ओगटेको छ ।

इतिहासकारहरुका अनुसार नालापानी युद्ध अङ्ग्रेज–नेपाल युद्धको प्रारम्भिक तथा निर्णायक युद्धमध्ये एक थियो । देहरादून नजिकको नालापानी (खलङ्गा) किल्लामा क्याप्टेन बलभद्र कुँवरको नेतृत्वमा सीमित संख्याका नेपाली सैनिकहरूले अङ्ग्रेज सेनाको शक्तिशाली आक्रमणको सामना गरेका थिए । यस युद्धमा किल्लाभित्र रहेका महिला, बालबालिका र वृद्धहरूले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा युद्धमा योगदान पु¥याएका थिए । युद्धका क्रममा महिलाहरूले सैनिकहरूका लागि खाना पकाउने, पानी बोकेर पु¥याउने, घाइतेहरूको स्याहार गर्ने र हतियार तथा गोलाबारुद ओसारपसार गर्ने कार्य मात्रै होइन, घरेलु हतियारका साथमा दुश्मनसँग जाइलागेका पनि थिए । केही ऐतिहासिक विवरणअनुसार महिलाहरूले शत्रुको आक्रमण तीव्र हुँदा ढुंगा, दाउरा तथा उपलब्ध हतियार प्रयोग गरी किल्लाको रक्षा गरेका थिए । अङ्ग्रेज सेनाले पानीको मुहान काटिदिँदा महिलाहरूले ज्यानको जोखिम मोलेर किल्लाभित्र पानी पु¥याएको विवरण विभिन्न ऐतिहासिक वर्णनमा पाइन्छ । उनीहरूले सैनिकहरूको मनोबल उच्च राख्न, आत्मबल बढाउन र अन्तिम समयसम्म डटेर लड्न प्रेरणा दिने महत्वपूर्ण भूमिका समेत खेलेका थिए । यो युद्धमा नेपाली वीर वीरङ्गनाहरुले देखाएको अदम्य साहस, वीरता, सौर्यता, त्याग र उच्च बलिदानको दुश्मन पक्ष अंग्रेजहरुले समेत उच्च प्रशंसा गरेका थिए । यही वीरतापूर्वक गरिएको बलिदानले नै नेपाल र नेपालीहरुलाई विश्वभर चिनियो । नेपालले ‘वीर गोरखाली’हरुको देश भनेर संसारभर चर्चा पायो । तर विडम्बना, देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि बलिदानीपूर्वक लड्ने तिनै वीर नेपाली युवाहरुलाई तत्कालीन शासकहरुले ‘पैसाको लोभमा’ अंग्रेजहरुलाई नै बेचिदिए । नेपाली युवाहरुको वीरता र सौर्यता देखेर लोभिएका अंग्रेज साम्राज्यवादी शासकहरुले नेपाली युवाहरुलाई आफ्नो सेनामा भर्ती गर्न थाले । र, आजसम्म पनि बेलायतले नेपाली युवाहरुलाई भर्ती गरिरहेको छ । भारतले भने एकपक्षीय रुपमा सन् २०२२ देखि ‘अग्नीवीर योजना’ अन्तर्गत चारवर्षका लागि मात्र भर्ती गर्न थालेपछि नेपालले त्यसको विरोध गरेको छ र हाल भारतीय गोर्खा सैनिकमा नेपाली युवाहरुको भर्ती रोकिएको छ ।

नेपालका कम्युनिस्टहरुले पार्टीको स्थापनाकालदेखि नै गोर्खा भर्ती खारेजीको लागि आवाज उठाउँदै आएका छन् । तर सडकमा यही आवाज उठाउने कम्युनिस्ट नेताहरु पटक पटक सरकारको नेतृत्व गर्ने ठाउँमा पुगे पनि गोर्खा भर्ती खारेजीको मुद्दा कार्यान्वयन हुन सकेको छैन । नेपालको सर्वोच्च अदालतले समेत गोर्खा भर्तीको विषयमा पुनरावलोकन गर्न आदेश गर्दा समेत नेपालको सरकारले यस विषयमा प्रवेश गर्ने सामथ्र्य जुटाउन सकेको छैन ।


गोर्खा भर्तीबाट भित्रिएको ‘लाउरे संस्कृति’का कारण युवाहरुको विदेश पलायन कहालीलाग्दो बनेको छ र नेपालको पराधीनता दिनानुदिन बढिरहेको छ । रेमिट्यान्समा देशको अर्थतन्त्र निर्भर बनिरहेको छ । देश युवाविहीन बन्दै गएको छ । उत्पादनशुन्य केवल बजारमा (उपभोक्तामा) सीमित हुन पुगेको छ देश । आफ्नो मातृभूमिको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका निम्ति अदम्य साहस, वीरता र सौर्यताका बलिदानीपूर्वक लड्ने ती वीर वीरङ्गनाहरुका सन्ततीहरुका अगाडि आज गम्भीर रुपमा त्यही ऐतिहासिक प्रश्न खडा भएको छ– रोजगारी र उच्च शिक्षाका लागि संसारका कुना कुनामा पुगेका नेपाली युवाहरुले आफ्नो मातृभूमिको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न सक्छन् ? के देशलाई स्वाधीन र आत्मनिर्भर बनाउन सक्छन् ? ‘जननी जन्मभूमि स्वर्गादपी गरियसी’लाई वास्तविक अर्थमा चरितार्थ गर्न सक्छन् ? टिआर र पीआरमा सुविधाभोगी जिन्दगी बाँचिरहेका नेपालीहरुका लागि पनि के यो नेपाल ‘मातृभूमि’ होइन र ? यो देशमा गरिखाने श्रमजीवि जनताको शासन स्थापित गर्न, लोकतान्त्रिक गणतन्त्रलाई जनगणतन्त्रमा बदल्न र साँच्चैको उत्पीडित जातीय पहिचानसहितको संघीयता लागू गर्न, नेपालका प्राकृतिक र मानवीय स्रोतसाधनमा नेपालको अग्राधिकार कायम गर्दै नेपालकै हितमा प्रयोग गर्न सक्ने खालको स्वाधीन र आत्मनिर्भर नेपाल बनाउने उद्देश्यमा आवश्यक उल्लेखनीय भूमिका खेल्नु ती सबै प्रवासी नेपालीहरुको पनि दायित्व होइन र ?

साम्राज्यवादी र विस्तारवादीहरुले नेपालको प्राकृतिक र मानवीय स्रोधसाधनमा आँखा लगाउनु, त्यसमाथि आफ्नो एकाधिकार कायम गर्न खोज्नु, नेपालीहरुलाई नै दलाल बनाएर आफ्नो अभिष्ट पूरा गर्न प्रयास गर्नु, नेपालको घरेलु मामलामा दख्खल दिनु, आफ्नो दबाब र प्रभाव विस्तार गर्नु र नेपालको स्वतन्त्र निर्णय क्षमतालाई नियन्त्रण र निषेध गर्दै देशको अस्तित्व नै नामेट पार्ने प्रयास गर्नु उनीहरुको रणनीति हो । त्यसको विरोध गर्नु, हस्तक्षेपको प्रतिरोध गर्नु, आवाज उठाउनु, आन्दोलन गर्नु, संघर्ष गर्नु, मुद्दालाई अन्तराष्ट्रियकरण गर्नु, देशको स्वाधीनता, सार्वभौमिकता, क्षेत्रीय अखण्डताका साथै मुलुकभित्रका प्राकृतिक तथा मानवीय स्रोतसाधनको संरक्षण र प्रबद्र्धन गर्नु सच्चा देशभक्त, क्रान्तिकारी तथा जनपक्षीय शक्तिहरुको आधारभूत दायित्व हो । आफ्नो मातृभूमिलाई माया गर्ने, नेपाली माटोमा गरिखाने हरेक नेपालीहरुको परम कर्तव्य हो । आज पनि नेपाली युवाहरुलाई यही दायित्वबोध र कर्तव्यबोध नालापानी युद्धका वीर वीरङ्गनाहरुले गराइरहेका छन् ।

आज राष्ट्रिय अन्तर्राष्ट्रिय स्थिति फेरिएको छ । सूचना प्रविधिको अभूतपूर्व विकासले संसारलाई कम्प्युटर÷मोवाइलको सानो चिप्समा कैद गरिदिएको छ । प्रतिकूलताभित्र अनुकूलता भनेझै नेपाल सानो भएपनि देशको स्वाधीनताको लडाइँमा विश्वको ध्यान खिच्न सक्छ । र, विश्वभरको समर्थन प्राप्त पनि गर्न सक्छ ।

अंग्रेज साम्राज्यवादसँग १८१६ को सन्धिदेखि खुम्चिएको नेपालको स्वाधीनतामाथि निरन्तर दबाब र प्रभाव बढ्दै गएको हरेक नेपालीहरुले अनुभूति गर्दै आएका छन् । एमसीसी सम्झौतादेखि नयाँ राजनीतिक तथा प्रशासनिक नक्सामाथि भएको अतिक्रमणसम्म, घरेलु राजनीतिको माइक्रो मेनेजमेन्टदेखि नियन्त्रित अस्थिरतासम्म, आफ्नो स्वार्थनुकूलको शासन फेरबदलदेखि आफ्ना दलालहरुलाई सत्तामा पु¥याएर आफ्नो अभिष्ट पूरा गराउनेसम्मका खेलहरु भइरहेका छन् । जेनजजी विद्रोहमा व्यक्त भूराजनीतिक स्वार्थप्रेरित खेलहरुले नेपालको स्वाधीनतामाथि इतिहासमै सबैभन्दा ठूलो संकट पैदा गरिदिएको छ । साम्राज्यवादी शक्तिहरुले आफ्ना कठ्पुतली सरकारमार्फत् प्रोक्सीवार (कलर रेभ्युलेशन) खडा गर्ने भूगोल र स्रोतसाधनको दुरुपयोग गर्ने, विश्वमानचित्रबाटै नेपालको नक्सा मेटाइदिने खतरनाक खेलहरु समेत सतहमा प्रकट हुन थालेका छन् ।

The new political map of Nepall comprising of the disputed lands of Kalapani, Limpuyadhura, Lipulekh, published on May 20, 2020. Photo Cpurtesy: Bishnu Rimal/Twitter

तसर्थ, इतिहास र वर्तमानको, अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिको, भूराजनीकि र राष्ट्रिय स्वार्थको गहिरोबोध गरी सच्चा देशभक्तहरु, क्रान्तिकारी कम्युनिस्टहरु, लोकतन्त्रवादी, गणतन्त्रवादीहरु, प्रगतिशील वामपन्थी शक्तिहरु एकताबद्ध भएर आजको विषम परिस्थितिमा साम्राज्यवादी–विस्तारवादी हस्तक्षेपहरु र तिनका घरेलु दलालहरुका राष्ट्रघाती क्रियाकलापहरुका विरुद्ध संगठित रुपमा विरोध र प्रतिरोध गर्नु ज्वलन्त ऐतिहासिक आवश्यकता बनेको छ । नेपाली जेलेन्स्कीहरु जन्माउन प्रायोेजन गरिएको फागुन २१ को निर्वाचन नेपाल र नेपाली जनताका लागि कति घातक छ, बेलैमा नेपाली जनताले बोध गर्न जरुरी छ । र, यो देशको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति मात्रै होइन, यो देशलाई स्वाधीन र आत्मनिर्भर बनाउनका लागि पनि आसन्न निर्वाचन सशक्त रुपमा बहिस्कार गर्न जरुरी छ ।
जनसंख्याको ५१ प्रतिशत हिस्सा ओगट्ने महिलाहरुको उल्लेखित कार्यभारमा महत्वपूर्ण भूमिका रहन्छ । दशवर्षको जनयुद्धपछि हरेक वर्ग, उत्पीडित जाति तथा क्षेत्रका महिलाहरुमा अभूतपूर्व राजनीतिक जागरण पैदा भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा महिलाको सहभागिता बढ्दै गएको छ । शान्ति सेनामा नेपाली महिला सैनिकको अन्तर्राष्ट्रिय योगदानले देशको प्रतिष्ठा उच्च बनाएको छ । राजनीतिक तथा कूटनीतिक क्षेत्रमा महिलाको सहभागिता पनि राष्ट्रिय हित र अखण्डताको संरक्षणसँग जोडिएको छ । संविधान निर्माण, नीति निर्माण र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने महिलाहरूले देशको सार्वभौमिक अधिकारको संरक्षणमा योगदान पु¥याइरहेका पनि छन् । साथै, सीमा क्षेत्रका समुदायमा बसोबास गर्ने महिलाहरूले आफ्नो दैनिकी र संघर्षमार्फत क्षेत्रीय अखण्डता जोगाइराख्न अप्रत्यक्ष भूमिका खेलेका छन् । त्यसैगरी, सामाजिक चेतना र राष्ट्रिय एकताको निर्माणमा पनि महिलाको योगदान उल्लेखनीय रहेको छ । आमाको रूपमा सन्तानमा राष्ट्रप्रेम, एकता र स्वाभिमानको भावना रोप्ने कार्य महिलामार्फत् नै सम्भव भएको छ ।

देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा कुनै एक वर्ग वा लिङ्गको मात्र जिम्मेवारी होइन । तर पुरुषभन्दा महिलाको भूमिका कहाँनेर महत्वपूर्ण र आधारभूत रुपले महत्वपूर्ण हुन्छ भने आमा नै मानिसको पहिलो शिक्षक÷शिक्षिका हो र घर नै हरेक नागरिकको पहिलो पाठशाला हो । तसर्थ, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकताको सवाल होस् वा जनअधिकारको सवाल, हरेक नागरिकमा स्वाभिमानी चेतनाको बिजारोपण गर्ने मुख्य भूमिका महिलाहरुको नै हुन्छ । तसर्थ, हरेक समाज र देशमा कस्तो नागरिक जन्माउने भन्ने प्रश्नमा सबैभन्दा ठूलो भूमिका महिलाको हुने हुँदा हरेक नेपाली महिलाहरुमा राष्ट्रियताको भावना प्रबल र सबल रुपमा जागृत गराउन सकियो भने समाजमा जिउँदा जाग्दा स्वाभिमानी नागरिकहरु जन्मिनेछन् र जिउँदा जाग्दा नागरिकहरु जन्मेको भूमि कहिल्यै पनि साम्राज्यवादी तथा विस्वारवादीहरुको गुलाम, कठ्पुतली बन्न सक्दैन । वीरता र बलिदानपूर्वक विश्व जगतमा ठाडो शीर पारेर साहस र विवेकका साथ स्वाभिमानपूर्वक बाँच्दछ । आजको मात्र होइन, भोलिको चुनौतीको समाना गर्न पनि महिलाहरुलाई सबल र स्वाभिमानी बनाउन जरुरी छ । जुन कुरा इतिहासका हरेक कालखण्डले सिकाएको छ । इतिहासबाट सिकेर वर्तमानका चुनौतीको सामना गर्न स्वाभिमानी महिलाहरुको भूमिका महत्वपूर्ण र उल्लेखनीय हुने कुरा स्वतःसिद्ध छ ।

Prabhu Bank AD

सम्बन्धित खवर