वि.सं.२०८३ साउन १३ बुधवार
Dish Home Long Ad
को हुन ओझेलमा परेका दलबहादुर प्रजापति ?
Prabhu Bank AD

राजेश विद्रोही
समय निकै प्रतिकूल थियो । अहिलेको जस्तो अनुकूल थिएन । देशमा राणाको जगजगी थियो । छिमेकी भारतमा अंग्रेजको आतंक । उनीहरूका विरुद्ध लड्ने चानचुने कुरा थिएन । किनभने त्यसबेला शासक र शासित बीचको सम्बन्ध अहिलेको जस्तो थिएन । नितान्त भिन्न प्रकृतिको थियो । अहिलेको कल्पनाभन्दा बाहिर थियो । समाजिक र मानवीय चेत समेत अहिलेको जस्तो खुला र फराकिलो थिएन । यस्तो अवस्थाको समाजमा जन्मेका दलबहादुर प्रजापति विशेष खालका सचेत मानिस थिए । उसको परिवार राणाको विशेष सम्बन्धमा रहेपनि उनी भने समाजको परिवर्तन चाहन्थे । समाजमा रहेका सबैखाले विभेदको अन्त्य चाहन्थे । र, चाहन्थे मानवरुपी सभ्य समाजको निर्माण। उसको दिनचर्या यसै वरिपरि बित्ने गर्थे । किनभने उसको जीवनमा कुनै पनि चिजको अभाव थिएन। सम्पन्न परिवारमा जन्मेका थिए। उसलाई एउटै कुराको अभाव थियो मानवीय समानता ।

असमान समाजभित्र समानता खोज्ने परिकल्पना बोकेका दलबहादुर प्रजापतिको यो सोच र चिन्तनबाट दुनियाँ छक्क पर्थे । यतिसम्म कि आफ्नै परिवारको तिरस्कार भोग्न बरु उनी मन्जुर हुन्थे । तर, आफ्नो सोचभन्दा एक इन्च पछि हट्दैन्थे । उसलाई कुनै चिजको प्रवाह थिएन । परिवारमा उसको जन्म छुट्टै खालको भएको महसुस सबैले गर्थे । आफू र आफ्नो परिवारको सुख, शान्ति, विकास र समृद्धिभन्दा दिनदुखीहरुको जीवनप्रति सदैव चिन्तित रहन्थे उनी । क्रान्तिकारीहरुले भकारी फोर आन्दोलन चलाउँदा उनले धरम भकारी आन्दोलन छेडे । र, त्यो आन्दोलन आफ्नै घरबाट सुरुवात गरे । यसबाट दाजुभाइ सबै रुष्ट भए । खेतमा काम गर्नेले धेरै श्रम पाउनुपर्छ र काम नगर्ने मालिकले कम पाउनुपर्छ भन्ने मान्यता उसको थियो । राजा महेन्द्रले २०२१ मा भूमिसुधार ल्यायो । तर, प्रजापतिले मोहियानी हकमा ६०/४० को बाँडफाँड हुनुपर्ने जोड गरेका थिए । धनीले ४० प्रतिशत र मोहीयानीले ६० प्रतिशत जग्गा पाउनुपर्ने उसको जिकिर थियो । आफू जमिनदार कुलको भएपनि तत्कालीन राणा शासन र जमिनदारी प्रथाको कटु आलोचक थिए । उनी समानताको जिन्दगी बाँच्न चाहन्थे । तर, चन्द्र शमशेरले उसलाई पाँच वर्षकै उमेरमा लप्टनको उपाधी दिन पुगे ।

तत्कालीन अवस्थामा गरिब, दलित र दिनदुखीहरुका लागि प्रजापति ईश्वर सावित थिए । उसको नाम सुनेपछि गरिब दलित बस्तीहरु उज्यालोपनको महसुस गर्थे । आफ्नो परिवार एक दिन भोकै बसे पनि गरिब, दलित, असहाय तथा दिनदुखीहरुको चुलो कसरी बल्छ भन्ने कुराले उनलाई धेरै पिरोल्थे । त्यसैले उनी आफ्नो परिवारसँग विद्रोह गरेर भएपनि ठाउँठाउँमा रहेका आफ्नो मौजेदारीको भकारी फोडेर धान चामल गरिबहरुलाई बाँडी दिन्थे । र, उनीहरुको चुलो बाली दिन्थे । दलबहादुरको यो बलमिचाईं हर्कतबाट परिवार पुरै आजित हुन्थे । यतिसम्म कि गरिब, दलितका छोराछोरीहरु विधालय पढ्न नपाउँदा आफ्नो छोराछोरीको पढाइलाई समेत प्रभावित गर्थे । गरिबले पढ्न नपाउने विभेदकारी पढाईको विरोध गर्थे । भकारी फोड्ने र अन्न बाँड्ने दिन परिवारको आक्रोशको आक्रमणमा परिन्छ कि भने उनी महिनौंदिन घर फर्किदैन्थे । जब घर फर्किन्थे उसको कामै हुन्थ्यो गरिबको चुलो बाल्ने, उपद्रो मच्चाउने । जसले गर्दा उसको दाजुभाई र परिवारजनले उनी घर नफर्केकै देख्न चाहन्थे । किनभने उसको अगाडि कसैको केही चल्दैन्थे ।

दलबहादुरको बाहिरी संगत बढ्दै गयो । नामै दलबहादुर कामै दलबहादुरको रुपमा स्थापित हुँदै गयो । युवा अवस्थामै यतिका सोच्न सक्ने दलबहादुरको चर्चा गरिबका झुपडीहरुमा गुन्जिन थाल्यो । अपार माया र स्नेह पाउन थाल्यो । यतिसम्म कि छिमेकी भारतको आजादीका लागि ब्रिटीश (अंग्रेज) शासनका विरुद्ध युद्ध र आन्दोलन छेडेका डा. राममनोहर लोहिया र जयप्रकाश नारायण लगायतका आन्दोलनकारीहरुसँग समेत उसको हिमचिम बढ्छ । उनीहरुसँगको धनिष्ट सम्पर्क सम्बन्ध बढ्दै जान्छ । यतिसम्म कि डा. राममनोहर लोहिया र जयप्रकाश नारायणका असली फ्यान हुन पुग्छन् दलबहादुर प्रजापति । सँगै खानेबस्ने र आन्दोलनमा सहभागीता जनाउने उनीहरूको नित्य कर्म जस्तै हुन पुग्छ । उनीहरुको हरेक आन्दोलनमा प्रजापतिको अग्रणी सहभागीता हुन्छ । उनले आन्दोलनलाई नजिकबाट नियाली रहेका थिए ।

भारतमा ब्रिटिश साम्राज्यका विरुद्ध लडिरहेका डा. राममनोहर लोहिया, जयप्रकाश नारायण, योगेन्द्र शुक्ल, सुरज नारायण सिंह लगायतका ठूला नेताहरुको गिरफ्तार हुन पुग्छ । भारतको हजारीबाग जेलमा उनीहरू कैदी हुन्छ । सन् १९४२ नोवेम्बर ८ मा जेल तोडेर उनीहरु फरार हुन्छन् । त्यसपछि ब्रिटिशको चर्को दमन सुरु हुन्छ । ब्रिटिशले डा. राममनोहर र जयप्रकाश नारायणको जिउँदो बुझाए दुई लाख र मरेको लाश बुझाए चार लाख इनामको घोषणा गर्छन् । स्थिति निकै नाजुक देखेपछि काँग्रेसको कार्यकारिणी समितिले सन् १९४२ मै भारत छोडो प्रस्ताव पारित गर्छन् । उनीहरुसबै नेपाली भूमि सप्तरीमा प्रवेश गर्छन् । उनीहरुको संरक्षण रामेश्वर सिंह र दलबहादुर प्रजापतिहरुले गर्छन् । र, सप्तरीकै भूगोल उपयोग गरेर आजाद दास्ता निर्माण गरी ब्रिटिश साम्राज्यका विरुद्ध लड्न अग्रसर हुन्छन् । यसका लागि सप्तरीको कोशी नदि र सुरुंगा जंगल अनुकूल भूगोल उनीहरूको रोजाइमा पर्छन् । र, त्यहाँ उनीहरू परेड खेल्न थाल्छन् । फौजी तालिमहरु सुरु गर्छन् । ब्रिटिश साम्राज्यको कारण नेपालमा १०४ वर्षदेखि बाँचिरहेका राणा शासकहरुको सहकार्यमा डा. राममनोहर लोहिया र जयप्रकाश नारायणहरु नेपालमा फेरि पक्राउ पर्छन् । र, उनीहरूलाई हनुमाननगर जेलमा बन्दी बनाएर राख्छन् ।

पक्राउ परेका लोहिया र जयप्रकाशलाई राणाले ब्रिटिशलाई बुझाउने उर्दी आउँछ । यो कुरा सहकर्मीहरुलाई थाहा हुन्छ । र, जेल तोड्ने योजना बनाउँछन् । यसका लागि सुरुंगा जंगलमा आजाद दासता फौजको तालिम सुरु गर्छन् । यसको ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी दलबहादुर प्रजापतिको हुन्छ । किनभने रामेश्वर सिंह बिरामी पर्छन् । जेल तोड्ने योजनाको कमान्ड दलबहादुर प्रजापति लगायतको नेतृत्व हुन्छ । दुई हजार साल जेष्ठ ९ मा १२ बजे राति आजाद दस्ताले हनुमाननगर जेलमाथि धावा बोल्छन् । आक्रमणमा गरिब, दलित बस्तीका युवाहरूको सबैभन्दा बढी लडाइँमा सहभागीता हुन्छ । जेलमा गार्डलाई मार्ने, टेलिफोनको तार काटेर अबरुद्ध गर्ने, दुश्मनको फौजलाई भ्रमित पार्न साइडहरुमा आगो लगाएर आतंकित बनाउने सबैको जिम्मेवारी तोकिएको हुन्छ । दलबहादुर प्रजापतिको जिम्मेवारी जेलको पश्चिमी भागको आक्रमणको हुन्छ । उनले आफ्नो जिम्मेवारी सक्रियतापूर्वक निर्वाह गर्छन् । डा. राममनोहर लोहिया र जयप्रकाश नारायणहरुलाई भगाएर सुरक्षितसाथ बोर्डर क्रस गराउन उनीहरू सफल हुन्छन् । यता भारतमा ब्रिटिश साम्राज्य विरुद्ध महात्मा गान्धीको नेतृत्वमा अहिंसाबादी आन्दोलन सुरु हुन्छ । नेपालमा बिपीको नेतृत्वमा काँग्रेस आन्दोलनको सुरुवात हुन्छ । चौतर्फी आन्दोलनको आँधीबेहरीले ब्रिटिश साम्राज्यको अन्त्य हुन्छ । त्यसपछि नेपालम राणाको अन्त्य हुन्छ ।

सन् १९४६ मा अन्तरिम सरकार बन्छ । सन् १९४७ मा भारत आजादीको घोषणा हुन्छ । डा. राममनोहर लोहिया, जयप्रकाश नारायणसँगै दलबहादुर प्रजापति पनि भारतीय चुनावमा भाग लिन्छन् । तर, उनीहरु सबैको प्राजित हुन्छ । क्रान्तिकारीहरु कोही पनि जित्न सफल हुँदैन । आन्दोलनको क्रममा प्रजापतिको भारत बसाई लामो हुन्छ । किनभने राणा, सामाजिक सामन्त र केही जमिनदारहरुबाट प्रजापतिले आफूलाई असुरक्षाको महसुस गर्छन् । ठूल्ठूला कपाल दारही पाल्ने, विभिन्न भेष र पहिरणमा उनी बोडर वारपार गर्थे । प्रजापतिको मुख्य खाना केरा र दुध थियो । उसले साथमा एउटा भान्से पनि राख्ने गर्थे । भूमिगत अवस्थामा दलबहादुर प्रजापति विभिन्न ठाउँमा भिन्नभिन्न उपनामले चिनिन्थे । भक्तपुरमा लप्टन बाबा, स्वयम्भू क्षेत्रमा सिताराम भिक्षु, बाला सिताराम भिक्षु, सिताराम राज अलौकिक,भारतमा पहाडी बाबा,भारतको अयोद्धयाबाट दिक्षित भएपछि माहात्मा, अनुराग, नीत्यानन्द, जनकपुरमा रामसेवक दास, रामदयाल दास बैष्णव, किशोरी दास, सप्तरी सिरहामा भने प्रजापतिले नै स्थापित थियो । दलबहादुर प्रजापतिलाई किसुनजीले (कृष्णप्रसाद भट्टराई) गुरु पनि मान्नु हुन्थ्यो । उहाँलाई त्यागी नेताको रुपमा मान्नु हुन्थ्यो । प्रजापतिको सबैभन्दा राम्रो भाषण रामराज ल्याउनुपर्छ भन्ने निकै चर्चित थियो ।

लामो भारत बसाइँको क्रममा दलबहादुरले साथीसँगतमा भारतको हाजीपुरमा जग्गा पनि किनेका थिए । जहाँ भारत पुग्दा आफ्नो बसोबास गर्थे । अहिले पनि उसको नाममा त्यहाँ जग्गा कायम छ । प्रजापतिको बिर्ता भक्तपुर र सप्तरी सिरहामा अझै पनि धेरै ठाउँमा छन् । भारतको अयोद्धयामा दिक्षित भएर फर्केपछि जनकपुरमा उसले आश्रम खोल्ने योजना बनायो । यसका लागि तत्कालीन राणा सरकार जुद्ध शमशेरसँग अनुमतिको चिठी लेखे । चिठीमा अनुमती माग्दै अन्त्यमा अज्ञाभए होस सरकार नत्र यत्रै सित भनेपछि उनले अनुमति पाएन । जुद्ध शमशेर उनीबाट रिसाएर पाँच वर्ष कैद ठोक भन्ने आदेश दियो । किनभने उसलाई माफी माग्न लगाएका थिए । दलबहादुरले माफी मागेन । त्यसपछि जनकपुरको संकटमोचन उसले निर्माण गरे । अहिले पनि उसको नाम त्यहाँ उल्लेख छ । भक्तपुरको धेरै मठमन्दिरमा उसको शिलालेखहरु भेटिन्छन् । दीक्षित भइसकेपछि प्रजापतिले दरबार हत्याकाण्ड हुन्छ । तिम्रो वंश बिनाश हुन्छ । देशमा अशान्ति हुन्छ भनेर राजा वीरेन्द्रलाई उतिबेलै चिठी लेखेका थिए । जो १९ जेष्ठ ०५८ मा घटीट भयो ।

त्यतिबेला यातायातको सुविधा अहिलेको जस्तो थिएन । एक ठाउँबाट अर्को ठाउँमा पुग्न महिनौंदिन हिंड्नुपर्थ्यो । प्रजापतिले काठमाडौं र तराई मधेस ओहोरदोहोर गर्दा मकवानपुरको चितलांग, भिमफेदी, लामी डाँडा हुँदै हेटौंडा । त्यहाँबाट पथलैया, बिरगंज, रक्सौल, समस्तीपुर, ड्र्यांग, पाण्डोल, दरभंगा, लहरिया सराय, जयनगरमा रेलबाट ओर्लिन्थे । त्यसपछि पोर्ताहाबाट बैलगाडा उहाँलाई लिन आउँथ्यो । त्यही बैलगाडामा चिन्जानको नजिक राति बास बस्दै फर्किनु हुन्थ्यो । त्यसपछि लौकहा ठाडी बोडरबाट सिरहाको पोर्ताहा घर पुग्थे । नेपालमा राणा शासनका विरुद्ध र भारतमा ब्रिटिश साम्राज्यका विरुद्ध लड्ने क्रान्तिकारीहरुको लागि उनी र उसको बासस्थान ठूलो जक्शन थियो । भारत आउजाउ गर्न पनि निकै सहज थियो । यता कामकारबाही गरेर उता लुक्ने, उता कामकारबाही गरेर यता लुक्ने अनुकूलता थियो । पश्चिममा रहेको कमला, बालान नदी र सुरुंगा चुरे जंगलको ठूलो साथ थियो भने पूर्वमा कोशी नदी ।

निरंकुश राणा शासनका विरुद्ध नयाँ खालको देश र समाजको निर्माण चाहन्थे भने छिमेकी भारतमा ब्रिटिश साम्राज्यको विरुद्ध लडिरहेका डा. राममनोहर लोहीया र जयप्रकाश नारायणहरुको साथ दिएर समाजिक लोकतन्त्रको स्थापना चाहन्थे । त्यसैले दलबहादुरको चर्चा जति गरेपनि अपुग नै हुन्छ । उनीहरुकै अथक योगदानको कारण सय वर्ष अगाडि भारत अदाज भयो । र, उनीहरूकै खुड्किलो संघर्षले देशले आज लोकतन्त्र प्राप्त गरेकाछन् । जसको आत्मसम्मान र चर्चा नगरी अहिलेको व्यवस्थाको अपूर्णताहरुलाई पूर्ण बनाउन सकिदैन । दलबहादुर यस्ता बहादुर जनयोद्धा थिए कि देश र समाज परिवर्तनका लागि उनले आफूलाई पटकपटक छदमभेषी हुनुपर्यो । जेलनेल भोग्नुपर्‍यो । अहिलेको राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि पटकपटक जेल बस्नु भएको थियो । २००७ सालमा बिपीको नेतृत्वमा काँग्रेसी आन्दोलन हुँदा र बिपी कोइरालाले अनशन सुरु गर्दा प्रजापतिले पहिलोपटक भारतको जवाहरलाल नेहरुलाई खबर पुर्याएका थिए ।

रामेश्वर सिंह, दलबहादुर प्रजापति र बिपी कोइरालाहरुले तत्कालीन राणाशाही निरंकुश व्यवस्थाको विरोध नगरेकोभए आज हामीले भोगेको नेपालको अवस्था यहाँसम्म आइपुग्ने थिएन । दलबहादुर प्रजापतिको यसमा ठूलो योगदान र बलिदान छ । उनीहरु निस्पक्ष क्रान्तिकारीहरु थिए । आफ्नो अडान र विचारमा कहिलेपनि बिचलित भएन । बरु शिरमा मुक्ति र मृत्युको कफन बाँध्न प्रजापति तयार भए । १९७२ असार १९ गते शनिबार भक्तपुर नपा १२ बोलाछेमा जन्मेका र सिरहाको महदेवापोर्ताहा गाविस हाल सखुवाननकारकट्टी गापा ३ मा कर्मथलो रहेका दलबहादुर प्रजापति काठमाडौंको भद्रगोल जेलमा उपचारको क्रममा २०३० चैत २९ गते उसको मृत्यु हुन्छ । तर, बिडम्ब उनै मानिस आज इतिहासक‍ो छायामा परेका छन् । उसको योगदानको चर्चा गर्ने मानिसहरु छैन । इतिहास आफ्नोले नलेखेपछि अरुबाट सुरक्षित नहुने रहेछ भने कुराको ठूलो उदाहरण प्रजापतिको हो । जसको सारा परिवारजन जमिनदार र राणाको नजिकको मानिस भएर पनि उनीहरुको विरोध गर्थे । यस्ता वीर पुरुषहरुलाई आज नसम्झे कहिले सम्झिने हो ? उनीहरूलाई आजको लोकतन्त्रमा चर्चा नगरे कहिले गर्ने हो ? हामीले नगरे कसले गर्ने हो ?

(स्रोत : तत्कालीन भारबाट प्रकाशि पत्रिका अगस्त क्रान्ति, नेपालको प्रजातान्त्रिक इतिहास, कृष्णप्रसाद भट्टराईको कर्मयोगी, हिम्मत सिंहको काँटों कि राह में, स्व. दलबहादुर प्रजापति ( अलौकिक सीताराम राज) एक परिचय २०५८, लगायत पारिवारजनबाट)

Prabhu Bank AD

सम्बन्धित खवर