काठमाडौँ । नेपाल टी—२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो ।
जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ । ओमान भने शुक्रबार नै खेलिएको सेमीफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको हो । जारी छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोलीले आगामी टी—२० विश्वकप खेल्न पाउने प्रावधान छ । टी—२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
जुन ४ देखि ३० सम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी—२० विश्वकपमा सहभागी हुने अब दुई टोलीको टुंगो लाग्न बाँकी छ । उक्त विश्वकपमा २० टोलीको सहभागिता रहने छ । हालसम्म १८ टोली छनोट भइसकेका छन् । अब अफ्रिकी क्षेत्रबाट दुई राष्ट्र छानिने छन् । नेपालले दोस्रो पटक टी—२० विश्वकप खेल्ने अवसर पाएको हो । यसअघि नेपालले सन् २०१४ मा टी—२० विश्वकप खेलेको थियो । नेपाली टोली बंगलादेशमा आयोजित त्यो विश्वकपको प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।
सेमिफाइनल खेलमा टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको यूएईले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १७.१ ओभरमा दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । नेपालको जितमा ओपनर ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट अर्धसतकीय पाली खेले । उनले ५० बलमा दुई छक्का र ६ चौकाको मद्दतले अविजित ६३ रन बनाए । त्यसअघि उनले केवल ३९ बलमा एक छक्का र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका थिए ।
तेस्रो नम्बरका ब्याट्सम्यान गुल्सन झाले २२ रनको योगदान गरे । उनले २४ बलमा तीन चौका हिर्काएका थिए । त्यसअघि अर्का ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले भने आठ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए । कप्तान रोहित पौडेलले २१ बलमा एक छक्का र तीन चौकाको मद्दतले अविजित ३५ रन बनाए । यूएईका बलर निलान्श केशवानी र बासिल हमिदले एक—एक विकेट लिए । नेपालले अतिरिक्त रुपमा चार रन पाएको थियो ।
त्यसअघि टस जिती पहिले ब्याटिङको निर्णय लिएको यूएईका लागि विकेटकिपर ब्याट्सम्यान वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाएका थिए । उनले ५१ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काएका थिए । उनी यूएईको सातौँ विकेटका रुपमा पेभेलियन फर्किएका थिए । उनलाई कुशल मल्लले गुल्सन झाद्वारा क्याच गराएका थिए ।

