काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत सुपर ८ का सात खेल बाँकी रहेको छ ।
सुपर ८ बाट इंग्ल्यान्ड सेमिफाइनल पुग्ने पहिलो टोली बन्दा अब तीन टोलीको टुङ्गो लाग्न बाँकी छ।
विश्वकपको सेमिफाइनल पुग्ने दौडमा आयोजक भारत र श्रीलंकासहित सात टोली छन्।सुपर ८ को पहिलो खेलमा हार भोगेका भारत र श्रीलंकासहित जिम्बाब्वेको सेमिफाइनल यात्रा केही कठिन देखिएको छ।समूह १ बाट वेस्ट इन्डिज र दक्षिण अफ्रिकाको समान २ अंक छ। भारत र जिम्बाब्वे अंकविहीन रुपमा तालिकाको तेस्रो र चौथो स्थानमा छन्।
समान २ अंक भएका वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले अबको एक खेलमा जित निकाले सेमिफाइनलमा स्थान बनाउनेछन्। भारतले अर्को खेलमा पनि हार भोगे सेमिफाइनल दौडबाट बाहिरिनेछ।
समूह २ बाट इंग्ल्यान्ड अन्तिम चारमा पुगिसकेको छ। न्यु जिल्यान्ड र पाकिस्तानको समान १ अंक छ। यो समूहमा विश्वकप आयोजक अंकविहीन रुपमा तालिकाको पुछारमा छ। यो समूहबाट अब १ टोलीको टुंगो लाग्न बाँकी छ।
यो समूहमा न्युजिल्यान्ड र पाकिस्तानसँग समान १ अंक भएका कारण यी टोली केही सन्तुलनमा देखिन्छन्। तर आयोजक श्रीलंका भने पुछारमा रहेकाले सेमिफाइनल यात्रा कठिन बनेको छ। यो समूहबाट अब एक टोली मात्र सेमिफाइनलमा पुग्नेछ।

