समाजिक अध्येता तथा लेखक राजेश विद्रोहीले पुराना सत्ताधारी दलहरुको तुलनामा नयाँ सत्ताधारी राजनीतिक दलमा जातीय समस्या सबैभन्दा ठूलो क्यान्सरको रुपमा रहेको जनाएको छ । उनले आफ्नो समाजिक संजालमा लेख्दै भनेका छन्, समावेशीताको नाममा पुरानो त कुहिएकै थियो तर नयाँको पनि सरकार र उनको पार्टी कमिटीलाई हेर्दा त्योभन्दा पनि कुहिएको देखिन्छ । त्यसैले लहरको लहैलहैमा लागेर युवाहरू लाग्ने, भोट दिने र परिणाम ल्याउने त हुन्छ तर पछि फेरि उही काँग्रेस, एमाले, माओवादी, मधेसवादीहरुले भोगेकै दुर्दशा हुन्छ । त्यसैले स्थानीय चुनावमा मतदान गर्दा बुद्धि र होस्, पुर्याउनुपर्ने हुन्छ ।
उनले पुरानोभन्दा नयाँमा राजनीतिक संस्कार र अनुभवको अभाव, जातीय समस्या अझ गम्भीर रूपमा देखिएको टिप्पणी गरेका छन् । उनका अनुसार, परिवर्तनको नारा दिएर सत्तामा पुग्नु मात्र पर्याप्त हुँदैन्, राजनीतिक दलसँग स्पष्ट वैचारिक दिशा, सामाजिक न्यायप्रतिको प्रतिबद्धता र सबै समुदायलाई समान व्यवहार गर्ने दृष्टिकोण हुनुपर्छ । उनले जातीय विभेदलाई समाज र राष्ट्रको प्रगतिमा बाधक ‘क्यान्सर’को संज्ञा दिँदै जनताले चुनावमा लोकप्रियता र नाराभन्दा उम्मेदवारको विचार, व्यवहार, नीति र विगतको कार्यसम्पादनका आधारमा मतदान गर्नुपर्ने बताएका छन् । अन्त्यमा उनले भनेका छन्, जनताकै गलत मतदानले पटकपटक देश अगाडि बढ्न सकेको छैन । परिवर्तन चाहने हो भने मतदाताले भावनामा होइन्, विवेक र तथ्यका आधारमा निर्णय गर्नुपर्छ । उनको यो टिप्पणीले नयाँ राजनीतिक शक्तिहरूको सामाजिक समावेशिता, जातीय समानता र राजनीतिक जवाफदेहितामाथि गम्भीर प्रश्न गरेको छ ।


