वि.सं.२०८३ कात्तिक ६ बिहीवार
Shivam
Dish Home Long Ad
TaTa
विपद् यस्तो नदेऊ, प्रभु

— राजेश विद्रोही
हे प्रभु !
न घर बाँकी रह्यो,
न आँगन, न आफन्त—
मासुम आँखामा
अब बा–आमाको प्रतीक्षा मात्र बाँकी छ ।

विपद् आयो,
घर–सम्पत्ति मात्र बगाएन,
कतिपय बालबालिकाको
सम्पूर्ण संसार नै बगाएर लग्यो ।

आज मानवता जुटेको छ—
कसैले खाना दिन्छ,
कसैले ओत,
कसैले औषधि,
कसैले काँपिरहेको बालकलाई
आफ्नो छातीमा अँगालो हाल्छ ।

तर राहतका हातहरू
सधैँ कहाँ रहन्छन् र?
घर फेरि उठ्ला,
जीवन फेरि चल्ला,
तर आमाको काख,
बाबाको हात
र हराएको बाल्यकाल
कहिल्यै फर्किने छैन ।

हे प्रभु!
प्रकृतिको यस्तो प्रहार नदेऊ,
जहाँ घर मात्र होइन—
मान्छेको सम्पूर्ण संसार उजाडियोस् ।

मानिसलाई विपद् होइन,
मानवताको परीक्षा देऊ;
प्रकोप घटाऊ,
करुणा बढाऊ ।

हे प्रभु !
विपद् यस्तो नदेऊ कसैलाई,
जहाँ आँसु पुछ्ने हातभन्दा
हराएका मान्छेको संख्या धेरै होस् ।

(२०८३ भदौ १५, गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरे, रसुवा)

Agni

सम्बन्धित खवर