काठमाडौँ — नेपाली महिला राष्ट्रिय फुटबल टिमको पहिलो उपाधि जित्ने सपना बुधबार पनि पूरा हुन पाएन । दशरथ रंगशालामा भएको फोर नेसन्स कपको फाइनलमा म्यानमारले नेपाललाई २–० ले पराजित गरेको हो ।
खेलमाथि नेपालको पूर्ण नियन्त्रण रहे पनि टिमले त्यसको फाइदा उठाउन सकेन र म्यानमारले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा गोल गरेको हो ।
यु पर किनले खेलको ६२ औं मिनेटमा गरेको गोलको मद्दतले म्यानमारले अग्रता लिएको थियो । एक गोलले पछाडि रहेको स्थितिमा नेपाल थप दबाबमा आयो र गीता रानाले ६४ औं मिनेटमा आत्मघाती गोल गरिन् । विनको प्रहार जोगाउन क्रममा गीताले बललाई आफ्नै पोस्टको दिशा दिइन् । खेलको ७० औं मिनेटमा रश्मिकुमारीको प्रहार म्यानमारकी गोलरक्षक म्यो म्या म्याले जोगाइन् ।

