काठमाडौँ । पुस २०७८ मा स्वर्गीय नेता प्रदीप गिरिले कांग्रेसको १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा गगन थापा र विश्वप्रकाश शर्मालाई एउटा अर्थपूर्ण संज्ञा दिएका थिए— ‘हलजोडी’। उमेर, बोली, योग्यता र भावनाले समेत सच्चा युवा रहेका यी दुईले कांग्रेसरूपी हलोलाई बलियोसँग तानेर लैजानुपर्ने उनको भविष्यवाणी थियो। ठीक तीन वर्षपछि, जेन–जी आन्दोलनको आधीबेरी र पार्टीभित्रको कडा संघर्ष चिर्दै त्यही ‘हलजोडी’ अहिले नेपाली कांग्रेसको सर्वोच्च सत्तामा पुगेको छ।
१५ औँ महाधिवेशनबाट पार्टीका सर्वोच्च दुई पदमा उनीहरू नै स्थापित भएका छन्। जसमा गगन थापा कुल खसेको मतको ९३.८८ प्रतिशत भारी मतसहित पार्टी सभापतिमा विजयी भएका छन् भने विश्वप्रकाश शर्मा निर्विरोध वरिष्ठ उपसभापति बनेका छन्। विद्यार्थी राजनीति (२०५७ को नेविसंघ) देखि सँगै सहकार्य गरेका यी दुई नेताको काँधमा अब दशकौँदेखि शिथिल बनेको कांग्रेसलाई पुनर्जीवन दिने ऐतिहासिक जिम्मेवारी आइपरेको छ।
बालुवाटारको चियादेखि भृकुटीमण्डपको विशेष महाधिवेशनसम्म
केही महिनाअघिसम्म पनि राजनीतिक वृत्तमा शर्मा स्वयं सभापतिको दौडमा उत्रिन सक्ने अनुमान थियो। तर, गत वर्ष बालुवाटारस्थित एक रेस्टुरेन्टमा गगनले राखेको प्रस्तावले राजनीतिले नयाँ मोड लियो। थापाले शर्मालाई भनेका थिए, “तपाईं सभापति हुनुहोस्, मलाई प्रधानमन्त्री भएर केही काम गर्ने हुटहुटी छ।”
तर, शर्माले तत्कालै जवाफ फर्काए, “मुलुकले तिमीलाई खोजेको छ। सभापति पनि तिमी र प्रधानमन्त्री पनि।”
शर्माकै प्रस्तावकत्वमा भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापालाई पार्टी सभापति मात्र बनाएन, भावी प्रधानमन्त्रीका रूपमा समेत अघि सार्ने औपचारिक निर्णय गर्यो। यद्यपि, गत फागुनको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले सोचेजस्तो नतिजा ल्याउन सकेन र सभापति थापा स्वयं पनि पराजयको स्वाद चाख्न बाध्य भए। निर्वाचनलगत्तै थापाले राजीनामा दिने घोषणा गरे पनि शर्माकै पहलमा त्यो अस्वीकृत भयो र उनी पुनः जिम्मेवारीमा फर्किए।
यसपटकको १५ औँ महाधिवेशनबाट कांग्रेसले इतिहासमै ठूलो संरचनागत परिवर्तनको प्रयोग गरेको छ। चुनौतीविहीन अवस्था हुँदाहुँदै पनि पदाधिकारी संख्या १४ बाट बढाएर २५ पुर्याइएको छ।
राजनीतिक विश्लेषक विष्णु सापकोटा यो भद्दा संरचना सम्हालेर नेताहरूको महत्त्वाकांक्षा व्यवस्थापन गर्नु नै थापाका लागि पहिलो चुनौती रहेको औँल्याउँछन्। “केन्द्रमा थापा आउँदैमा वर्षौंदेखि भुत्ते भएको कांग्रेस रातारात रूपान्तरण हुन्छ भन्ने छैन। बाहिर जतिसुकै राम्रो आवरण दिए पनि पदाधिकारी बढाउनु भनेको नेता व्यवस्थापन गर्ने सम्झौता हो, जुन उनले गरिसकेका छन्,” सापकोटा भन्छन्।
त्यस्तै, अर्का विश्लेषक प्राध्यापक कृष्ण खनाल पनि प्रविधि र सञ्चारको यो युगमा ठूलो संरचनाभन्दा पनि जनतासँगको प्रत्यक्ष जोताइ र संस्कार सुधार मुख्य कुरा हुने तर्क गर्छन्। “गगनले धेरै प्रतिज्ञा गर्नु पर्दैन, बोलेका कुरा गरेर देखाए पुग्छ,” खनालको भनाइ छ।
प्रश्न गर्ने पुस्ताको सामना र जोखिमको बाटो
गणतन्त्रका ‘आइकन’ मानिने र एजेन्डा केन्द्रित राजनीति गर्ने थापाको उदयले रास्वपालगायत अन्य दलभित्रसमेत गहिरो प्रभाव पार्ने विश्लेषकहरूको विश्लेषण छ। तर, थापाका लागि सबैभन्दा ठूलो चुनौती स्वयम् उनी आफैँ हुन्।
हिजो सत्तामाथि सशक्त प्रश्न गरेर र पार्टीभित्र विद्रोहको आगो बालेर उनी यो स्थानसम्म आइपुगेका छन्। तर अब, उनीमाथि प्रश्न गर्ने ३५ वर्षमुनिका कान्छो पुस्ता र जेन–जी आन्दोलनका ज्वलन्त मुद्दाहरू खडा छन्। पूर्वसभापति शेरबहादुर देउवा पक्षधरहरूको असन्तुष्टि र सर्वोच्च अदालतमा विचाराधीन विशेष महाधिवेशनसम्बन्धी मुद्दाले पनि थापालाई सुरुवाती दिनमा केही दबाब दिने निश्चित छ।
एमाले नेता रामकुमारी झाँक्रीको प्रश्न निकै सान्दर्भिक छ- “आजको मुख्य प्रश्न उनी कति माथि पुगे वा कहाँ पुगे भन्ने होइन, त्यहाँ पुगेपछि के गर्छन् भन्ने हो। हिजो अरूसँग मागेको लोकतन्त्र, जवाफदेही र पुस्तान्तरण आज आफ्नै व्यवहारमा उतार्न सक्नुहुन्छ कि सक्नुहुन्न? समयले यसको उत्तर खोज्नेछ।”
प्रश्नकर्ताबाट अब उत्तरदाताको भूमिकामा
विद्यार्थी आन्दोलनको गिरफ्तारीदेखि गणतन्त्रको पक्षमा खुला उभिनेसम्मको लामो राजनीतिक यात्रा तय गरेका गगन थापा सधैँ सरकार र पार्टीभित्र खरो प्रश्न गर्ने ‘विद्रोही नेता’का रूपमा चिनिन्थे। तर अब, उनी प्रश्नकर्ताबाट उत्तरदाता र निर्णयकर्ताको ठाउँमा उभिएका छन्।
आगामी स्थानीय र प्रदेश निर्वाचन नै उनको नेतृत्वको पहिलो अग्निपरीक्षा हुनेछ। गुमेको १० लाख मतदाताको विश्वास फर्काउने, चुनावअपूर्वको गठबन्धन संस्कृति त्याग्ने र मूल्यमान्यताको राजनीति पुनर्बहाली गर्ने वाचा गरेका गगन-विश्वप्रकाशको ‘हलजोडी’ले कांग्रेसको यो डुङ्गालाई कतातिर डोर्याउने हो, त्यो भने आगामी दिनहरूको कार्यशैलीले नै तय गर्नेछ।


