वि.सं.२०८२ मंसिर १ सोमवार
विहारको चुनावी परिणाममा विजेपी र जनता दल युनाइटेड हावी

पटना । भारतको बिहार राज्यको विधानसभा निर्वाचनको नतिजा धमाधम आउन थालेको छ । २४३ विधानसभा सिटमध्ये निर्वाचन आयोगले अहिलेसम्म ६ सिटको मत परिणाम घोषणा गरेको छ । जसअनुसार नीतीशकुमार नेतृत्वको जनता दल युनाइटेड पाँच सिटमा विजयी भएको छ भने एउटा सिटमा भारतीय जनता पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । यस्तै, ९४ सिटमा भारतीय जनता पार्टीले अग्रता बनाउँदा जनता दल युनाइटेडले ८१ स्थानमा अग्रता बनाएको छ । तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दलले भने २४ सिटमा अग्रता बनाएको छ ।

अन्य निर्वाचन क्षेत्रको मतगणना जारी छ । केन्द्र सरकारको नेतृत्वमा रहेको भारतीय जनता पार्टी (भाजपा) सहित बिहारका वर्तमान मुख्यमन्त्री नीतीशकुमार नेतृत्वको जनता दल युनाइटेड (जेडीयु) सम्मिलित गठबन्धन प्रचण्ड बहुमततर्फ अग्रसर देखिन्छ । बिहार विधानसभामा भाजपा सबैभन्दा ठुलो दलका रूपमा स्थापित हुने देखिएको छ ।

बिहार विधानसभामा बहुमतका लागि कम्तीमा १२२ सिट आवश्यक हुन्छ । जेडीयुले भाजपालाई बाहिर राख्न खोजेको अवस्थामा उसलाई बहुमत जुटाउन कठिन हुने देखिएको छ । किनकि एनडीए गठबन्धनमा सामेल अन्य दलसँग २८ सिट हुने देखिन्छ । ती दल एनडीए गठबन्धनबाट अलग हुने सम्भावना निकै कम रहन्छ । किनकि भाजपा र एनडीए गठबन्धनका बाँकी तीन दल मिलेर बिहारमा सहजै सरकार गठन गर्न सक्ने अवस्था देखिन्छ ।

यद्यपि एनडीएले गठबन्धनभित्र जुन दलको जति सिट आए पनि आफूले सरकार बनाउने अवसर प्राप्त गरेमा जेडीयूकै नेता नीतीशकुमारलाई नै मुख्यमन्त्री बनाउने घोषणा गरिसकेको छ । त्यसैले भाजपा ठुलो दल भए पनि उसले सरकारको नेतृत्वमा दाबी नगर्ने निश्चितजस्तै छ ।

यद्यपि, विगतमा नीतीशकुमारले गठबन्धनबाट बाहिरिएर सरकार बनाएका कारण उनी एउटै गठबन्धनमा टिकिरहन नसक्ने नेताका रूपमा पनि परिचित छन् । तर अहिले विधानसभाको समीकरणले उनलाई अब त्यसरी अर्को गठबन्धनमा जान वा भाजपालाई बाहिर राखेर सरकार बनाउन भने कठिन देखिन्छ ।

सम्बन्धित खवर