सिरहा, १० असोज ः चुरे क्षेत्रमा भएको अतिक्रमणले तराई मधेसको जीवन जोखिममा परेको भन्दै मधेश प्रदेश सभाको प्राकृतिक स्रोत तथा वातावरण समितिले यसको संरक्षणमा सहयोग गर्न स्थानीयबासीलाई आग्रह गरेको छ । बिहिबार सिरहाको गोलबजार नगरपालिका—१० स्थित चुरेको फेदमा पर्ने ‘चुरे चोफाल’मा समितिका सदस्यहरुले स्थानीयसँग अन्र्तक्रिया गर्दै चुरेको संरक्षण गर्न सबै पक्ष लाग्नुपर्नेम जोड दिएका हुन् ।
चुरेको विनास र अवैध दोहनले पर्यावरणीय सम्बन्ध खलबलिन सक्ने भन्दै यसको संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने समितिका सभापति शारदा पहाडीले बताउनुभयो । “मधेश प्रदेशको अधिकांस स्थानमा चुरे क्षेत्र अतिक्रमण भएका छन् । यसको अवैध दोहन र वन बिनासले पर्यावरणीय सम्बन्ध खलल् हुँदै छ । चुरेको संरक्षण गर्नु राज्यको दायित्व भएतापनि स्थानीए समुदायको भूमिका महत्वपूर्ण हुन्छ,” समिति सभापति पहाडीले भन्नुभयो,“एउटा व्यक्तिलाई मात्र नभएर चुरेको आवश्यक्ता समग्र देशलाई छ । चुरे रहे त हामी सबै रहने छौँ ।”
मानवीय बसोबास, जलवायु परिवर्तनको असर र ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् एवं वन विनासको कारण चुरे क्षेत्र विनासको चर्को चपेटामा परेको सभापति पहाडीको भनाई थियो । पानीको मुहान सुक्दै गएकाले काकाकुल बन्ने स्थिति देखा परेको भन्दै चुरेको संरक्षणमा सरोकारवाला सबै निकायको सक्रिय भूमिका हुनुपर्नेमा उहाँले जोड दिनुभयो । तराई मधेस र चुरे क्षेत्रको अन्तरसम्बन्ध स्पष्ट पार्दै सभापति पहाडीले भन्नुभयो,“चुरे जोगाइदिनुस् ।” आफुँहरुले प्रतिवेदन तयार पारी प्रदेश सरकारलाई बुझाउँने सभापति पहाडीले जानकारी दिनुभयो ।
त्यसैगरि समिति सदस्य मनोज कुमार सिंहले ‘वाटर रिचार्ज’का लागि चुरे भेगमा ठुला ताल तलैया निर्माण गरि संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस क्षेत्रका समस्या, वातावरणीय स्थिति र चुरेको अवस्थाको बारेमा जस्ताको त्यस्तै प्रतिवेदनमा उल्लेख गर्ने जनाउँनुभयो । सोही क्षेत्रका प्रदेश सांसद समेत रहनुभएका सिंहले गोलबजार र मिर्चैया जोड्न सडक बाटो र घुर्मी खोलामाथि पुल निर्माण गर्न स्थानीयको मागअनुसार पहले गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
समितिका अर्का सदस्य ममता देवी मण्डलले चुरे क्षेत्रको समस्या समाधानको लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्थानीयले आफुँले भोग्दै आएका समस्याहरु सांसदसमक्ष व्यक्त गरेका थिए । प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति पहाडी, सदस्यहरु सिंह, मण्डल, नुरुन नेशा तथा सांसद सरिना खातुन सहितको टोली उपस्थित रहेको थियो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र नेपाल मधेश फाउन्डेसनको संसद सहयोग परियोजना अन्र्तगत संसदिय समिति चुरे प्रभावित क्षेत्रमा आएको हो । प्रभावित क्षेत्रका नागरिकका समस्या संसदसमक्ष पु¥याउने उद्देश्यसाथ आफुँहरुल सहकार्य गर्दै आएको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका प्रतिनिधि बिटुसिंह ‘श्रीवास्तव’ ले जानकारी दिनुभयो । प्राकृतिक स्रोत तथा वातावरण समितिले यसअघि सिरहाकामा बलान नदी कटान तथा चुरे क्षेत्रमा भएको दोहनबारे स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो ।

