सिरहा, १८ वैशाख ः यहाँका अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले पहिचान कार्डको माग गरेका छन् । एकसय ३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार लहानमा महिला श्रमिक सन्जाल लहान, सिरहाले बजार क्षेत्रमा प्रदर्शन गर्दै नगरप्रमुख महेश प्रसाद चौधरी समक्ष ज्ञापनपत्र पेश गरेका हुन् ।
ज्ञापन पत्रमा पालिका भित्र दैनिक ज्यालादारी मजदुरका पहिचान गरि पंजीकरण गर्नुपर्ने तथा उनीहरुलाई सीप अनुसार कामको ग्यारेन्टी गर्नुपर्ने माग गरिएको छ । त्यसैगरि श्रमिकको ज्याला समयसापेक्ष पुनरावलोकन तथा समान काम समान ज्याला निर्धारण गर्नुपर्ने, नेपाल सरकारले तोकेको न्यूनतम पारीश्रमिक कार्यन्वयन गर्नुपर्ने, पालिकामा श्रमिक कक्षको स्थापना गरि रोजगार सूचना केन्द्र स्थापना गर्नुपर्ने लगाएत १५ बुँदे मागपत्र पेश गरिएको छ ।
मजदुरलाई संविधानले दिएको अधिकार कार्यन्वयन गर्नको लागि स्थानीय पालिकालाई ज्ञापन पत्र दिइएको सन्जालका अध्यक्ष सोनिया सदायले बताउनुभयो । “काम गरिखाने मजदुरले संविधानले दिएको अधिकार पनि प्राप्त गरेका छैनन् । सरकारले नै विशेषगरि मजदुरमाथि अन्याय गरेको छ”, उहाँलेभ भन्नुभयो,“पछाडी पारिएका समुदायको बाहुल्याता रहेको श्रमिक महिलाहरु अझ बढी आर्थिक शोषणमा परेका छन् ।”
ज्ञापन पत्र बुझ्दै नगरप्रमुख चौधरीले मजदुरको मागलाई आफूले सकारात्मक रुपमा लिएको भन्दै जायज मागहरुलाई नगरको तर्फबाट पुरा गर्ने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो,“यहाँका मजदुरको पहिचान गर्न र उनीहरुलाई श्रमिक कार्ड वितरण गर्न हामी तयार छौँ । छिटै त्यो काम हुन्छ । त्यसैगरि, नगरक्षेत्रभित्र चल्ने रिक्सा व्यवसायलाई व्यवस्थित बनाउन दर्ता प्रणाली र लाइसेन्सको पनि व्यवस्था पालिकाले गर्ने छ ।”
ज्ञापन पत्र पेश गर्ने कार्यक्रमा नेपाल ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष अरुण केसी, ट्रेड युनियन सिरहाका उपसभापति रमेश गौतम, सिटी संघका कोषाध्यक्ष कपलेश्वर साह तथा दलित र मजदुरका क्षेत्रमा काम गर्दै आएको दलित जनकल्याण युवा क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

