यहाँको हरिवन नगरपालिका–५ का स्थानीय खानेपानीको चरम अभाव भोग्न बाध्य छन् । छ वर्षदेखि खानेपानी आयोजना निर्माण सम्पन्न नहुँदा स्थानीयवासी काकाकुल बनेका हुन् ।
वर्षौँदेखि पानीको समस्या समाधान नभएको सिद्धार्थ टोल निवासी सरिता लामाले गुनासो पोखिन् । लामाको आँगनमा गाडेको ट्युबेलबाट आर्सेनिकयुक्त पानी आउन थालेपछि उनले ट्युबेलको पानी प्रयोग बन्द गरेकी छन् ।
हरिवन नगरपालिका–५, निवासी प्रेमशीला कुमारी साहको पनि समस्या उस्तै छ । खानेपानी किनेर खानुपरेको उनले बताइन् । पानीको अभावमा पशुपालन गर्न समेत नसेकेको उनको गुनासो छ ।
हाल उपभोक्ता समितिले डिप बोरिङबाट पानी वितरण सुरु गरेको छ । बोरिङबाट पानी वितरण गर्दा विद्युत्मा खर्च धेरै हुने गरेको सिद्धार्थ टोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मनोज लामाले गुनासो पोखे ।
नगर, जिल्ला खानेपानी, प्रदेश तथा सङ्घीय सरकारसम्म पुग्दा पनि आश्वासन बाहेक केही नपाएको उक्त वडाका वडाध्यक्ष नागेन्द्र साह बताउँछन् । ‘‘वडाको अगुवाइमा हरेक कार्यालयको ढोका ढोकामा पुगेका छौँ’’, उनले भने, ‘‘हुँदैन कसैले भन्नुहुन्न । तर, कहिले हुन्छ रु कसैले जवाफ दिँदैनन् ।’’
पानीको पाइप लाइन र धारासमेत जडान भइसक्दा पनि ‘ओभरहेड ट्याङ्की’ निर्माण नभएको उनको भनाइ छ । सो वडाका नौ सय ९३ घर परिवार पिउने पानीको अभावमा रहेको उनले बताए । यस वडामा क्यान्सरको सङ्क्रमण देखिन थालेपछि अधिकांशले ट्युबेलको पानी प्रयोग बन्द गरेका छन् ।

