काठमाडौँ । विज्ञहरुले पानी र खानेकुरामा विशेष सावधानी नअपनाए हैजाले स्थिति भयावह हुन सक्ने चेतावनी दिएका छन् । काठमाडौं उपत्यकाका १० ठाउँमा १२ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ । उपत्यकामा हैजाका बिरामी थपिने क्रम बढिरहेको छ ।
दुई साताअघि बागबजारमा डेरा गरी बस्ने दिदीबहिनीमा पहिलो पटक हैजा देखिएको थियो । त्यसयता यसको संक्रमण क्रमशः विस्तार हुने क्रममा छ । डिल्लीबजार, सानेपा, कपन, बालाजु, थानकोट, बल्खु, खसी बजार, नैकाप र कोटेश्वरमा हैजा पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले बिरामीको संख्या वृद्घि हुँदै गएको बताए । उनका अनुसार पाटन अस्पताल र वयोधा अस्पतालमा एकएक जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २ जना हैजाका बिरामी उपचाररत छन् ।
प्रदूषित पानी र स्ट्रिट फुडका कारण हैजा फैलिरहेको आशंका गरिएको छ । ‘राजधानीमा उपयोग हुने जार, धारा, बोरिङ, टयुबेलको पानीमा इ–कोलाइ, कोलिफर्म देखिएको छ,’ डा. दासले भने, ‘पानी शुद्घ नरहेसम्म हैजाको बिस्तार रोक्न सहज हुँदैन ।’ सानेपाबाट संकलित ८ वटा पानीको नमूनामध्ये ५ वटामा इ–कोलाइ जीवाणु पाइएको प्रतिवेदन सोमबार आएको हो । ‘आन्द्रामा पाइने इ–कोलाइले पानी संक्रमित रहनुको अर्थ यसमा दिसा मिसिएको बुझ्नुपर्छ,’ उनले भने । डिल्लीबजारबाट संकलित पानीको नमुनामध्ये २ वटा र बागबजारबाट संकलित नमुनामध्ये ३ वटामा इ–कोलाइ र कोलिफर्म भेटिएको छ । थानकोट र बल्खुको पानीको रिपोर्ट भने आएको छैन ।

टेकु अस्पतालकी निर्देशक डा. मनिषा रावलले मनसुनका कारण पानीको मुहान प्रदूषित हुने भएकाले थप सावधानी अपनाउनुपर्ने बताइन् । ‘हामीले समयमै सचेतता अपनाएनौं हैजा विस्फोटक रुपमा फैलने जोखिम छ ।’ बरिष्ठ जनस्वास्थ्य विज्ञ डा। राजेन्द्र बीसी हैजाको जोखिम कम गर्न स्ट्रिट फुडको गुणस्तरमा ध्यान दिनुपर्ने बताउँछन् । तत्काल यसतर्फ कदम नचालिए हैजा नियन्त्रणबाहिर जान सक्ने उनको भनाइ छ ।
विज्ञहरुका अनुसार सार्वजनिक स्थानमा थुप्रिएको फोहार र त्यसका कारण पानीका स्रोत प्रदूषित हुँदा हैजा फैलिने जोखिम बढ्छ । ‘फोहरले गर्दा इ–कोलाइ, कोलिफर्म अर्थात् मान्छेको आन्द्रामा पाइने जीवाणु ‘दिसाको संक्रमण’ ले पानी प्रदूषित भएको छ,’ डा. बीसीले भने । हैजा फैलिने प्रमुख कारण संक्रमित व्यक्तिको दिसाले प्रदुषित खाद्य पदार्थ र पानी नै हो । ‘जार, धारा, क्यान्डिल फिल्टरको पानी मात्र नभई सकेसम्म सबै खालको पानी राम्ररी उमालेर मात्र सेवन गरौं,’ डा.बीसी भन्छन्,‘मम’मा हालिने झोल, पानीपुरीको पानी, झिंगा भन्केको, चिसो तरल खाद्य पदार्थ हालका लागि सेवन नगरौं ।’
स्कूल, कलेज, कार्यालयहरुको क्यान्टिनको सरसफाई र खानेकुराको गुणस्तरमा पनि ध्यान दिन विज्ञहरुले सुझाएका छन् । विद्यार्थीलाई नङ काट्ने, नुहाउने र सरसफाईमा ध्यान दिनेबारे जानकारी दिइराख्न पनि उनीहरुले आग्रह गरेका छन् ।
विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) का अनुसार हैजा ‘भिब्रियो कोलेरा’ नाम जीवाणु (ब्याक्टेरिया) द्वारा आन्द्रामा हुने संक्रमणका कारण लाग्ने झाडा पखालासम्वन्धि एक गम्भिर रोग हो । दुषित आहार वा पानीबाट जिवाणु शरीरमा प्रवेश गरेपछि हैजाको संक्रमण हुन्छ । यस्तो जिवाणुको संक्रमणले आन्द्राको कोषिकाबाट बढी मात्रामा पानी निस्किन थाल्छ र चौलानी जस्तै दिसा हुन्छ । संक्रमण भएको २४ घन्टा देखी ५ दिन सम्ममा लक्षण शुरु हुन्छ । एकपटक लक्षण देखिए यसले ३ देखि ६ घन्टामा घातक रुप लिन सक्छ । बिरामीमा रक्तचाप कम हुने भएकाले समयमै उपचार नभए मृत्युसमेत हुन सक्छ ।
यसैबीच, हैजा नियन्त्रणमा सरकार गम्भीर नभएको सांसदहरुले आरोप लगाएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार हैजा संक्रमणबारे भएको छलफलमा उनीहरुले सरकारको ध्यानाकर्षण गराए । उपत्यकामा थुप्रिएको फोहोरका कारण हैजा फैलिएको भन्दै उनीहरुले बेलैमा न्यूनीकरण गर्न र आवश्यक तयारी अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसदहरुले काठमाडौंका विभिन्न स्थानका पानी कम्पनीहरुको परीक्षण र अनुगमनको आवश्यकता समेत औंल्याए । बेलैमा हैजा नियन्त्रण र न्यूनीकरणका उपाय नगरे भयावह रुप लिन सक्ने उनीहरुको चेतावनी थियो ।

