पोखरा । लगातारको भारी वर्षा र पहिरोका कारण पोखरा–सिक्लेस सडक ३ दिनदेखि अवरुद्ध भएको छ । मादी गाउँपालिकाका अनुसार विभिन्न वडाका ५ ठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएको हो । तत्काल सडक सञ्जाल सञ्चालनमा आउने सम्भावना समेत कम रहेको बताइएको छ ।
मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङका अनुसार पोखरा–सिक्लेसका ठाउँठाउँमा ५ भन्दा बढी ठाउँमा पहिरो गएको जानकारी दिए छ। मादी वडा नम्बर ७, वडा नम्बर ६ चिप्ली र तप्राङको बीचमा, मादी १ को क्वोंदो खोलाको वारि र पारि दुवै भागमा पहिरोले बाटो पूर्ण रुपमा क्षति पुर्याएको छ ।
सिक्लेस कास्कीको चर्चित पर्यटकीय गुरुङ गाउँमध्ये पर्छ । पहिरोले बाटो बन्द हुँदा अत्यावश्यक काम गर्न पनि समस्या भएको गाउँपालिकाले जनाएको छ ।
यसबारे गाउँपालिकाले प्रदेश सरकारलाई जानकारी गराइसकेको वडाध्यक्ष गुरुङले सुनाए । प्रदेशमा निवेदन पुगिसकेको र काम गरिदिने एकखालको प्रतिवद्धता जनाएको पनि गुरुङले जानकारी दिए ।

