वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
अमेरिकाले नेपालमाथि जबरजस्तीपूर्ण कूटनीति लादिरहेको छ– चीन
Prabhu Bank AD

एजेन्सी । अमेरिकाले नेपालमाथि जबरजस्तीपूर्ण कूटनीति लादिरहेको आरोप चीनले फेरि दोहोर्‍याएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले गत महिना सार्वजनिक गरेको ‘अमेरिकाको चीन नीति’ को कडा प्रतिवाद गर्दै चिनियाँ विदेश मन्त्रालयले त्यस्तो बताएको हो।

ब्लिङ्कनले अमेरिकी थिंकट्यांक एसिया सोसाइटीमा गत मे २६ मा मन्तव्य दिंदै चीनको समकालीन विश्व दृष्टिकोण र परराष्ट्र नीतिको चर्को आलोचना गरेका थिए।

‘हाम्रो कूटनीति साझेदारी र एकअर्काको हितको सम्मानमा आधारित छ, जबकि चीनले अन्य देशहरूविरुद्ध बलपूर्वक कूटनीति अभ्यास गर्दछ र जथाभावी जवाफ दिन्छ। हाम्रो काम भनेको एक पटक फेरि प्रमाणित गर्नु हो कि सबै देशहरू कुनै जवरजस्तीबिना आफ्नो बाटो तय गर्न स्वतन्त्र हुनेछन्’ ब्लिंकनले भनेका थिए। ​

ब्लिंकनको पूरै मन्तव्यको खण्डन गरेको चीनले एउटा अंशमा नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनमा अमेरिकाका तर्फबाट दिइएको दबाबलाई पनि उदाहरणका रुपमा प्रस्तुत गरेको हो।

‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्न नेपाली संसदलाई बाध्य पार्न अमेरिकाले उक्त सम्झौता अनुमोदन गर्न असफल भएमा अमेरिकाले नेपालसँगको सम्बन्ध पुनर्विचार गर्ने भन्दै ‘अल्टिमेटम’ दिएको थियो,’ चिनियाँ विदेश मन्त्रालयले यही साता प्रकाशित गरेको ‘रियालिटी चेकः फल्सहुड्स इन युएस पर्सेप्सन्स अफ चाइना’ शीर्षकको वक्तव्यमा भनिएको छ।

नेपालको संसदबाट गत माघ अन्तिम साता एमसीसी सम्झौता अनुमोदन हुँदै गर्दा नेपाल मामिलालाई लिएर अमेरिका र चीनबीच आरोप प्रत्यारोप चलेको थियो।

अमेरिकाले एमसीसी सम्झौता अनुमोदनमा ढिलाई हुनुमा चीनको हात रहेको दाबी गरेको थियो भने चीनले अमेरिकाले नेपालमाथि दबाबपूर्ण कुटनीति दिएको भन्दै निन्दा गरेको थियो।

त्यसबेला अमेरिकी उप सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी सम्झौता अनुमोदन नगरे नेपालसँगको सम्बन्ध पुनर्विचार गर्ने धम्की दिएका थिए। जसप्रति चीनले आपत्ति जनाएको थियो।

उसले अमेरिकाले नेपालको इच्छा विपरीत एमसीसी अनुमोदन गरे प्रतिवाद गर्ने बताएपछि नेपालमा चीनको विरोध पनि भयो। चीनले नेपाल र अमेरिकाबीचको द्विपक्षीय मामिलामा बोल्नु अनुपयुक्त रहेको टिप्पणी भएको थियो।

त्यसलगत्तै नेपालमा एमसीसीसँगको सम्झौता अनुमोदन भई हाल कार्यान्वयनको चरणमा छ।

अमेरिकी विदेशमन्त्रीको मन्तव्यको खण्डन गर्न रियालिटी चेक (तथ्य जाँच) सहित चिनियाँ विदेश मन्त्रालयले उक्त वक्तव्य आफ्नो वेबसाइटमा प्रकाशित गरेको हो।

चिनियाँ विदेश मन्त्रालयले अमेरिकी विदेशमन्त्रीले बोलेका कुरालाई ‘चीनविरुद्ध निकालिएका २१ झुट’ भन्दै प्रतिवाद गरेको हो।

महाशक्ति अमेरिका र उदाउँदो शक्ति राष्ट्र चीनले विश्वभर नै आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेका छन्। यी दुई देशले प्रजातन्त्र, मानवअधिकार र विश्व राजनीतिबारे आ(आफ्नै मान्यता र दृष्टिकोण सार्वजनिक गर्ने गरेका छन्।

Prabhu Bank AD

सम्बन्धित खवर