वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
चाँडै विद्युतीय चुरोट प्रतिबन्ध गर्ने सरकारको तयारी
Prabhu Bank AD

 

काठमाडौं । चाँडै सरकारले विद्युतीय चुरोट (भेप) प्रतिबन्ध गर्ने प्रक्रिया थालेको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ।

केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई विद्युतीय चुरोटको उपभोग गर्न नपाउने व्यवस्था कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका हुन्।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को दफा २८ को उपदफा ४ मा कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्रीवितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवर्द्धन तथा विज्ञापन गर्न पाइनेछैन भन्ने व्यवस्था रहेकाले सोही कार्यान्वयन गर्नका लागि पत्राचार गरिएको उनले बताए।

केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले अर्थ र सञ्चार मन्त्रालयले निर्देशिकामा भएको कुरालाई कार्यान्वयन गर्नासाथ नेपालमा विद्युतीय चुरोटमाथि प्रतिबन्ध लाग्ने बताए। उनले कतिपयले चुरोटको लत छाड्न विद्युतीय चुरोटको सेवन गर्ने गरे पनि चुरोट जत्तिकै विद्युतीय चुरोटले पनि स्वास्थ्यमा हानि गर्ने बताए। उनले विद्युतीय चुरोट सुर्ती सेवनको रूपमा रहेको समेत बताए।

“विद्युतीय चुरोटको सेवनले चुरोट खान सिकाउँछ। यसले निकोटिनको लत बसाउने काम गर्दछ,” उनले भने, “त्यसैले विद्युतीय चुरोट सुर्तीजन्य पदार्थ सेवनको गेटवेका रूपमा रहेको छ।”

विद्युतीय चुरोटले मानिसको मुटु र फोक्सोमा सीधै असर गर्नुका साथै मुख जल्ने जस्ता पनि समस्या निम्त्याउँछ भने सेवन गर्ने मानिससँगै रहेका अन्य मानिसलाई पनि हानि गर्ने उनको भनाइ छ। नेपालमा विद्युतीय चुरोट ब्लाकबेरी, ब्लूबेरी, मेलन, पाइनापल, ग्वाभा, म्यांगो जस्ता विभिन्न ‘फ्लेवर’ (स्वाद) मा आउने गरेको छ।

भन्सार विभागको तथ्यांकमा वार्षिक ३२ लाख थान हाराहारी विद्युतीय चुरोटका डिभाइस नेपालमा आयात हुने गरेको पनि उनले बताए। चीन, अमेरिका, संयुक्त अरब इमिरेट्स, भारत, बेलायत लगायत देशबाट नेपालमा विद्युतीय चुरोट आयात हुने गरेको छ।

केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. केसीका अनुसार नेपालमा वार्षिक रु. ३२ अर्ब बराबरको विद्युतीय चुरोटको व्यापार हुने गरेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर