वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
काठमाडौंमा थुप्रिएको सबै फोहोर उठाउन अझै १५ दिन लाग्ने
Prabhu Bank AD

काठमाडौं । बन्चरेडाँडाका स्थानीय र सरोकारवाला निकायबीच सहमतिलगत्तै शुक्रबारदेखि उपत्यकाको फोहोर उठाउन सुरु भए पनि थुप्रिएको सबै फोहोर सफा गर्न अझै १५ अझै दिन लाग्ने भएको छ । महानगरका अनुसार काठमाडौंका सडकमा अहिले झन्डै १५ हजार मेट्रिकटन फोहोर छ ।

शुक्रबारदेखि अवरोध हटेको र पानी नपरेकाले फोहोर व्यवस्थापन सहज भएको महानगरपालिकाले जनाएको छ । १४ जेठदेखि स्थानीयले फोहोरमा अवरोध पुर्‍याएपछि उपत्यकाको फोहोर सडक किनार र चोक–चोकमा थुप्रिएको छ । फोहोर फाल्न कम्तीमा १५ दिन लाग्ने अनुमान गरिएको छ ।

शनिबार दुई सय ६३ कन्टेनर फोहोर बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा विसर्जन गरिएको छ । १८ बुँदे सहमतिपछि शुक्रबार बिहानदेखि उपत्यकाको फोहोर उठाउन सुरु गरिएको थियो । शुक्रबार एक सय ५४ कन्टेनर फोहोर विसर्जन गरिएको थियो ।
रातीमा फोहोर नफालिने
तीन दिनअघि स्थानीयसँग रातिमा फोहोर फाल्ने सहमति भए पनि तत्काल कार्यान्वयन नहुने भएको छ । रातिमा फोहोर फाल्न चाहिने पूर्वाधार बनिनसकेकाले तत्काल रातिमा फोहोर बञ्चरेडाँडामा नपुर्‍याइने महानगरले जनाएको छ ।

उपत्यकामा फोहोर धेरै थुप्रिपछि यसको व्यवस्थापन चाँडो गर्न महानगरले ठूलो क्षमताको गाडी प्रयोग गर्ने योजना बनाएको थियो । तर, पहिलेदेखि नै फोहोर फाल्दै आएका चालकले विरोध गरेपछि महानगर पछि हटेको छ ।

मेयर साहले फोहोर व्यवस्थापनबारे वडाध्यक्षसँग मागे सहयोग

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापनबारे वडाध्यक्षसँग शनिबार छलफल गरेका छन् । उनले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालसँग फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

त्यस्तै, शनिबार मेयर साहले क्षेत्रपाटी अस्पतालको अवलोकनसमेत गरेका छन् । उनले विपन्नलाई सहुलियतमा उपचार गर्न अस्पताल प्रशासनलाई आग्रह गरे । महानगरका तर्फबाट अस्पताल सुधारका लागि आवश्यक सहयोग हुने प्रतिबद्धतासमेत उनले जनाएका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर