काठमाडौँ । सरकारले विभिन्न नाममा करमाथि कर थोपरेको छ । अर्थमन्त्री जनादर्शन शर्माले सरकारको राजस्व लक्ष्य पूर्ति गर्न र विदेशी मुद्रा सञ्चिति बढाउन भन्दै कर बढाएको बताएका छन् । हालै संसदमा प्रस्तुत आर्थिक बर्ष २०७९÷८० को बजेटमा सरकारले दैनिक उपभोग्य वस्तुहरुमा समेत करमाथि कर थोपरेर जनतालाई राहत हैन आहतमा बढोत्तरी गरेको छ । सरकारले आरु, पैयँु, ससेज तथा मासुजन्य वस्तु, चुइङ्गम, च्याउ, काँक्रो, गोलभेंडा, फ्रेन्च फ्राइज तथा आलु चिप्स, केराउ, बोडी, सिमी, कुरिलो, जैतुन, बाँस, बैस, निगालो र पानको पातमा लाग्दै आएको १० प्रतिशत अन्तःशुल्क बढाएर १५ प्रतिशत पुर्याइएको छ ।
त्यसैगरी क्रिप्प ब्रेड, जिन्जर ब्रेड, केक, टोस्ट, पेस्ट्री, कुकिज र बिस्कुट, चकलेट र कोको मिसाइएका खाद्य वस्तु तथा बदाम, मम्फली, भुटेको चना, भुटेको काजु पेस्ता, भुइँकटहर, अमिला फलफूल, नास्पाती र खुर्पानीको अन्तःशुल्क ५ बाट बढेर १५ प्रतिशत पुगेको छ ।
पर्फ्युममा ७ प्रतिशत लाग्दै आएको अन्तःशुल्क १५ र लिपस्टिक, नेलपोलिस, क्रिम, लोसन, स्याम्पूलगायत वस्तुमा ५ प्रतिशत लाग्दै आएकामा १५ प्रतिशत पुर्याइएको छ । मेहेन्दी तथा कपालमा लगाउने तेलमा कर १० रुपैयाँबाट १५ रुपैयाँ पुर्याइएको छ ।
सरकारले केराउमा ३० प्रतिशत र सुपारीमा १ सय रुपैयाँ भन्सार महसुल कायम गरेको छ । भटमासको चटनी, गोलभेडाको असार (केचव र सस) र फुड सप्लिमेन्टमा २० प्रतिशत भन्सार लाग्दै आएकामा त्यसलाई बढाएर ३० प्रतिशत बनाइएको छ । सुपको भन्सार १५ बाट २० प्रतिशत बनाइएको छ । इनर्जी ड्रिङसमा प्रतिलिटर ७५ रुपैयाँ भन्सार लाग्दै आएकामा १ सय रुपैयाँ तोकिएको छ । अनडिनेचर्ड इथाइल अल्कोहल, टेक्टिफाइड स्प्रिड र न्युट्रल अल्कोहलमा प्रतिलिटर ६० रुपैयाँ भन्सार लाग्नेछ ।
चुरोट र सिगारको प्रतिहजार खिल्लीमा ४ हजार ५ सय रुपैयाँ भन्सार लाग्दै आएकामा त्यसलाई दोब्बर गरिएको छ । फलाम र इस्पातको उत्पादन गर्दा निस्कने दानादार स्लाग (धातु मलहरू) मा प्रतिटन ५ सय रुपैयाँ भन्सारलाई दोब्बर गरिएको छ । जर्दा, खैनी, नस, गुटखा र चुना मिसाई खाने वस्तु र हुक्का फ्लेबरमा लाग्ने ४० प्रतिशत भन्सार ८० प्रतिशत र टायल तथा फ्लोर कभरिङमा ३० प्रतिशत भन्सार ४० प्रतिशत पुर्याइएको छ । सुटकेस, ब्रिफकेस, झोला, ह्यान्डब्यागमा २० प्रतिशत भन्सार लाग्दै आएकामा ३० प्रतिशत पुर्याइएको छ । फलाम र इस्पातका अमिश्रित तार (वायर) मा १० प्रतिशत भन्सार लाग्दै आएकामा बढाएर ३० प्रतिशत पुर्याइएको छ ।

कुन वस्तुमा कति बढ्यो कर ?
–पिकपावर १०० देखि २०० किलोवाटसम्मका विद्युतीय सवारीमा ३० प्रतिशत, २०० देखि ३०० किलोवाटमा ४५ प्रतिशत र ३०० भन्दा बढीमा ६० प्रतिशत अन्तःशुल्क
–२०० देखि २५० सीसीसम्मका दुईपांग्रे सवारीमा ६० प्रतिशत अन्तःशुल्क लाग्ने गरेकामा बढाएर ८० प्रतिशत र २५० देखि ५०० सीसीसम्मका सवारीमा ८० प्रतिशत रहेकामा बढाएर ९० प्रतिशत अन्तःशुल्क
–२०० देखि २५० सीसीको मोटरसाइकलमा ३० बाट बढाएर ४० प्रतिशत, २५० देखि ५०० सीसीको मोटरसाइकलमा ३० बाट ८० प्रतिशत, ५०० सीसीमाथि ३० बाट बढाएर ८० प्रतिशत भन्सार महसुल
–बोक्रासहितको केराउमा १५ बाट बढाएर ३० प्रतिशत भन्सार
–सुपारीमा किलोमा ४५ बाट सय रूपैयाँ भन्सार
–भटमासको चटनी, गोलभेंडाको अचार ९केचव र सस० र फुड सप्लिमेन्टमा २० प्रतिशत भन्सारबाट बढाएर ३० प्रतिशत
–इनर्जी ड्रिङ्समा प्रतिलिटर ७५ भन्सार लाग्दै आएकामा सय रूपैयाँ
–अनडिनेचर्ड इथाइल अल्कोहल, न्युट्रल अल्कोहल र टेक्टिफाइड स्प्रिडमा प्रतिलिटर ५० भन्सारलाई बढाएर ६० रूपैयाँ
–चुरोट र सिगारमा प्रतिहजार खिल्लीमा ४ हजार ५ सयबाट ९ हजार रूपैयाँ भन्सार
–जर्दा, खैनी, नस, गुट्खा र चुना मिसाई खाने वस्तु र हुक्का फ्लेवरमा ४० प्रतिशत भन्सार लाग्दै आएकामा ८० प्रतिशत
–क्रिप्प ब्रेड, जिन्जर ब्रेड, केक, टोस्ट, पेस्ट्री, कुकिज र बिस्कुट, चकलेट र कोको मिसाइएका खाद्यवस्तु तथा बदाम, भुटेको चना, भुटेको काजु, पेस्ता, भुइँकटहर, अमिलो फलफूल, नासपाती, खुर्पानी, पैयुँ, आरू, स्ट्रबेरीजस्ता फलफूलमा अन्तःशुल्क ५ बाट १५ प्रतिशत
–टायल र फ्लोर कभरिङमा ३० प्रतिशत भन्सार लाग्दै आएकामा ४० प्रतिशत
–फलाम र इस्पातको उत्पादन गर्दा निस्कने दानादार स्लागमा प्रतिमेट्रिक टन ५ सय रूपैयाँ भन्सार लाग्ने गरेकामा दोब्बर
–मासुजन्य वस्तु, चुइगम, च्याउ, काँक्रो, गोलभेंडा, आलु चिप्स, केराउ, बोडी, सिमी, कुरिलो, जैतुन, बाँस र पानको पातमा १० प्रतिशत अन्तःशुल्क बढाएर १५ प्रतिशत
–पर्फ्युममा ७ बाट बढाएर १५, लिपिस्टिक, नेलपोलिस, क्रिम, लोसन, स्याम्पु ५ बाट १५ र मेहन्दी तथा कपालमा लगाउने तेल १० बाट १५ रूपैयाँ अन्तःशुल्क
–सुटकेस, ब्रिफकेस, झोलामा २० प्रतिशत भन्सार लाग्दै आएकामा ३० प्रतिशत
–फलाम र इस्पातका अमिश्रित तार ९वायर० मा १० प्रतिशतबाट ३० प्रतिशत भन्सार
–अप्रशोधित काठमा ५ र काठका फल्याक, प्लाइउड, चिरेको काठ, काठका गोलिया, पिउने पानी, सबै प्रकारका माछा र माछाजन्य वस्तुमा १० प्रतिशत अन्तःशुल्क
–सुर्तीमा प्रतिकेजी ११८ रहेकामा १३० रूपैयाँ, सुर्तीको सिगार, चुरोट र सानो सिगारमा यसअघि प्रतिखिल्ली २१ रहेकामा ३० रूपैयाँ अन्तःशुल्क
–बियर, ह्वीस्की र रममा प्रतिबोतल १९८ अन्तःशुल्क रहेकामा अब २२८ रूपैयाँ

