काठमाडौं । मधेसमा वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको डा. सिके राउत नेतृत्वको जनमत पार्टीले जनप्रतिनिधिहरुलाई जनउत्तरदायी, जवाफदेही र जिम्मवार बनाउन आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको कार्यलाई जनअनुमोदन गर्न ‘अनुमोदन जनमतसंग्रह’को अभ्यास गर्न थालेको छ ।
जेठ ७ गते डा. सिके राउतले पार्टीका कमिटिहरुलाई जारी गरिएको सर्कुलरमा भनिएको छ, “जनमत पार्टी ‘राइट टू रिकल’को अवधारणामा आस्था राख्ने पार्टी भएको यहाँलाई विदितै छ। जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको समग्र कार्यमूल्याङ्कन गरी समय(समयमा सकारात्मक सुझाव दिएर जनताको हकमा काम गर्न अभिप्रेरित गर्ने, सचेत गराउने तर जनताको अपेक्षा प्रतिकूल भई नियन्त्रणबाहिर गएमा आवश्यक कारबाही गर्ने वा जनप्रतिनिधिलाई पार्टीले फिर्ता बोलाउने समेत गर्ने गरेको यहाँलाई अवगत नै छ।
२०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट तपाईँ जनप्रतिनिधिको रूपमा निर्वाचित भएको करीब एक वर्ष पुगेको छ। यस अवधिमा तपाईँको कार्यलाई जनताले अनुमोदन गरेको छ वा छैन जनमतसंग्रह गराउनका लागि तपसिलको मितिमा कार्यक्रम हुने व्योहोरा अवगत गराइन्छ। यस विषयमा जनमत पार्टीको सम्बन्धित स्थानीय तहले अन्य व्यवस्था गर्नेछ।”
जनप्रतिनिधि अनुमोदन जनमतसंग्रहमा बैशाख ३० गतेसम्म पार्टीको सदस्यता लिने व्यक्तिहरुले प्रश्न गर्न सक्ने बताइएको छ । सदस्यहरुले पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई ‘तपाईंको जनप्रतिनिधिले जनमत पार्टीको अवधारणा अन्तर्गत जनताको लागि काम गरेको छ कि छैन ?’ भनेर प्रश्न गर्न भनिएको छ ।


