(२०३१ साल भदौ ५ गते सप्तरीको नकटीरायपुरमा आमा कौशल्यादेवी यादव र बुबा मखन प्रसाद यादवको कान्छो छोराको रुपमा जन्मिएका महेश प्रसाद यादव अहिले डा.सिके राउत नेतृत्वको जनमत पार्टीको मधेस प्रदेशको संसदीय दलको नेता छन् । वि.कम.उतीर्ण यादव अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पनि छन् । पचासको दशकदेखि राजनीतिमा सक्रिय यादवले तत्कालीन माले अखिलबाट स्ववियु सभापति हुँदै दशवर्षे माओवादी जनयुद्धकालमा भूमिगत राजनीतिक जीवन बिताए । कुनै बेला नेकपा (माओवादी केन्द्र)का पिविएमसमेत बनेका उनी मंसिर ४ को निर्वाचनको मुखमा मात्रै जनमत पार्टी प्रवेश गरेर सप्तरी–२ ख बाट प्रदेशसभा सदस्यको निर्वाचन जितेर अहिले मधेस प्रदेश सरकारमा जनमत पार्टीको तर्फबाट नेतृत्व गरिरहेका छन् । उनी सत्ता समीकरण जनमत पार्टीले चाहेजस्तो भए मधेस प्रदेशको मुख्य मन्त्रीको उम्मेदवार समेत हुन् । मन्त्री यादवसँग विविध विषयमा केन्द्रित रहेर संक्षिप्त रुपमा गरिएको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।– स.)
प्रदेश सभा निर्वाचन जितेर संसदीय दलको नेता बन्नुभयो र अहिले मन्त्री पनि हुनुहुन्छ । कस्तो अनुभूति गरिरहनु भएको छ ?
–जनताको सेवा गर्ने अवसर पाइएको छ । आफ्नो यो कार्यकाललाई जनताकै सेवामा समर्पित गर्ने र केही इतिहासमा रेकर्डेड हुने खालका काम गर्ने सोचमा रहेको छु । जनता र पार्टीले सुम्पेको जिम्मेवारी र गरेको विश्वासमा खह«ो उत्रनुपर्छ भन्ने अनुभूति भइरहेको छ ।
भनेपछि जनताले चाहे अनुसार र पार्टीको नीति अनुसार नै डेलिभरी दिन सकिरहनु भएको छ ?
–धेरै समय भएको छैन जिम्मेवारी सम्हालेको । दुई अढाई महिना मात्रै हुँदैछ । यति छोटो समयमा जनताको अपेक्षा अनुसार डेलिभरि दिनसक्ने कुरा त भएन । तर मलाई राम्रोसँग थाहा छ कि सिंगो मधेस प्रदेशमा हाम्रो पार्टीप्रति जनताको अपेक्षा र विश्वास निकै ठूलो छ । जनताको शिक्षा, स्वास्थ्य, रोजगारी लगायत किसानका समस्याहरुलाई हामीले पहिलो प्राथमिकतामा राखेर समाधानका प्रयासहरु गरिराखेका छौं । हामीले चुनावको बेला जोड दिएर उठाएका यी मुद्दाहरुकै कारण जनताले हामीलाई अमूल्य मत दिएर यो ठाउँमा पु¥याएका हुन् । प्रदेश सरकारकै नीति कार्यक्रममा यी विषयहरुलाई समेटेर हल गर्ने योजना बनाएका छौं । तीनै तहको सरकारबीचको समन्वय र सबै राजनीतिक पार्टीहरुसँगको सहमति र सहकार्यमै यी विषयहरुलाई जोड दिएर कार्यान्वयनमा लैजानुपर्छ भन्ने हाम्रो मत र प्रयास रहेको छ । आशा र विश्वास छ हामी हाम्रो योजनामा सफल हुनेछौं र जनतालाई राम्रो डेलिभरी दिन सक्ने छौं ।
मेधसका स्थापित पार्टीहरुलाई पाखा लगाउँदै जनमत पार्टी उदाउँदो राजनीतिक शक्तिको रुपमा अगाडि आइरहेको छ । मधेसी जनतामा ती पार्टीहरुप्रतिको आकर्षण घट्नु र जनमत पार्टीप्रति आकर्षण किन बढिरहेको छ ? जनता के चाहन्छन् ?

–जनताले चाहेको डेलिभरी यसअघिको प्रदेश सरकारले दिन सकेन । शिक्षा, स्वास्थ्य, रोजगारी लगायत किसानका तमाम समस्याहरुको समाधानमा उहाँहरुले खासै ध्यान दिनुभएन । विदेशिन बाध्य युवाहरु र विदेशिएका युवाहरुले भोग्नु परेका समस्याहरुलाई पनि व्यवस्थित बनाउन सक्नु भएन । उहाँहरु भ्रष्टाचारमा लिप्त भएको जनताले देखे । त्यसैकारण पनि जनतामा उहाँहरुप्रतिको आकर्षण घट्यो । विकास योजनाका विषयमा मधेसमा यस्तो मानसिकता बनेको छ कि कमिसन नदिई कुनै पनि योजना पाउन सकिन्न । यसैकारण राजनीति भन्ने वित्तिकै जनताले घृणा गर्ने स्थिति बनेको छ । यो स्थिति उहाँहरुले नै बनाएको हो । जनताले त्यो भ्रष्ट राजनीतिबाट बाहिर निस्केर जनमत पार्टीले केही नयाँ काम गर्छ कि भनेर जनताले जनमत पार्टीलाई अवसर दिएका छन् । विश्वास गरेका छन् । जनताको यो विश्वास र आकर्षणलाई कसरी टिकाउने भन्ने विषयमा हामी गम्भिर र सचेत छौं ।
जनताको विश्वास जित्नका निम्ति हामी सबैभन्दा पहिले विना कमिसन कुनै पनि योजना कार्यक्रम पाउन सकिन्न भन्ने मानसिकता तोड्ने प्रयास गछौं । गरिब दलित, सिमान्तकृत समुदायका बालबच्चाहरुलाई सर्वसुलभ रुपमा शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने, सामुदायिक विद्यालयहरुको गुणस्तर उन्नती, ग्रामीण स्वास्थ्य केन्द्रहरुको निर्माण, घरदैलो स्वास्थ्य केन्द्रहरुको व्यवस्थापन गर्ने विषयमा हाम्रो प्रमुख भुमिका रहन्छ । किसानहको मल, बिउविजन, सिचाई, किटनाशक औषधी, उत्पादन र बजार व्यवस्थापन लगायतका समस्याहरु समाधानका लागि नेतृत्वदायी भूमिका खेल्छौं । झोले किसानहरुको लागि होइन, वास्तविक किसानहरुको हितमा हामी काम गर्छौं । जनतालाई आर्थिक रुपले आत्मनिर्भर बनाउन र रोजगारीको सिर्जना गर्न ग्रामीण उद्योगको गुरुयोजनासहित अगाडि बढिरहेका छौं । दातृ निकायसँग पनि हामीले सहयोगका लागि पहल गरिरहेका छौं ।
कुन कुन दातृ निकायसँग सहयोगको लागि पहल गर्नुभएको छ ?
–मधेस प्रदेश अन्तर्गतको कृषि मन्त्रालयले स्वीस, डेनमार्कलगायतका दातृ निकायहरुसँग छलफल चलिरहेको छ । किसान कार्ड, पेन्सन, सहुलीयत दरमा विना धितो कृषकहरुलाई ऋण उपलब्ध गराउने तयारी पनि भइरहेको छ । अन्य दातृ निकायलाई पनि सहयोगका लागि आव्हान गरेका छौं ।
मिटरब्याजी र लघुवित्त पीडितहरुको समस्या विकराल बनिरहेको छ । यी समस्याको मूल कारण के पाउनु भएको छ ? र समाधानका विषयमा के पहल गरिरहनु भएको छ ?
–मधेसका प्रायः जनता कृषिमा निर्भर छन् । किसानका समस्याहरुका विषयमा सरकारले ध्यान नदिदा किसानहरु धेरै हिसाबले पीडित बनिरहेका छन् । खेती गरेर बालबच्चाहरुलाई पढाउन, स्वास्थ्य उपचार गर्न सक्ने अवस्था छैन । आर्थिक समस्या हल गर्न गाउँ गाउँबाट लघुवित्त, मिटरब्याजीहरुसँग ऋण लिएका छन् । आफ्नो नियमित आम्दानी व्यवस्थित हुँदा उनीहरुलाई ऋण तिर्न समस्या भएको छ । राज्यले किसानका समस्या ठिक ढंगले व्यवस्थित गर्न नसक्दा नै मिटरब्याजी र लघुवित्तबाट किसानहरु पीडित बन्नु परिरहेको छ । यसको मुख्य जिम्मा राज्यले नै लिनुपर्छ । यसका लागि राज्यले नै प्रमुख रुपले जिम्मेवार रहेको छ । किसानलाई मल, बिउ, र उत्पादनको उचित बजार मूल्य पाउने हो भने किसानहरुको आर्थिक समस्या समाधान हुन्छ ।

