सप्तरी । सप्तरीमा भारतीय नागरिकलाई नागरिकता दिलाउने कार्यमा वडाअध्यक्षकै संलग्नता पाइएको छ । वडाअध्यक्षले भारतीय नागरिकलाई नेपाली नागरिकताका लागि सिफारिसदेखि सर्जमिनसम्म उपलब्ध गराइदिने गरेको भेटिएको छ । नागरिकता बनाइदिन आमा बनेकी माइजू र भारतीय मूलका उनका भान्जालाई प्रहरीले नियन्त्रण लिएपछि यस्तो तथ्य बाहिरिएको हो ।
पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–३ की फुलियादेवी मुखिया र भारत विहार राज्यको मधुबनी जिल्लास्थित फुलपरास निवासी धीरज मुखिया छन् । धीरज फुलियादेवीका भान्जा हुन् । केही वर्षदेखि मामाघरमा बस्दै आएका धीरजलाई नागरिकता बनाइदिन गत शुक्रबार फुलियादेवीले वडा कार्यालयको सिफारिस र सर्जमिनसहित इलाका प्रशासन कार्यालय बोदेबर्साइन पुगेकी थिइन् । नागरिकता प्रक्रिया अघि बढ्नै लाग्दा शंका लागेर सोधपुछपछि दुवैजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सर्जमिन र सिफारिस गर्ने वेला धीरज भारतीय हो भन्ने मलाई थाहा थिएन । पैसा लिएको प्रमाणित भए कानुनअनुसार सजाय भोग्न तयार छु ।
इलाका प्रशासन कार्यालय बोदेबर्साइनका प्रमुख दिनेशकुमार राउतले सिफारिस बोकेर नागरिकता लिन आएका उनीहरूलाई सोधपुछ गर्दा शंकास्पद पाएपछि नियन्त्रणमा लिइएको बताए ।
निवर्तमान वडाध्यक्ष प्रदीप साहले केही वर्षदेखि मामाघरमै बसोवास गर्दै आएका धीरजलाई नागरिकता बनाइदिन यसअघि आफूलाई निकै दबाब आएको बताए ।
त्यतिवेला आफूले माइजू र भान्जालाई सम्झाएर कार्यालयबाट घर फर्काएको उनको भनाइ छ ।
श्रीमान् वैदेशिक रोजगारका लागि मलेसियामा रहेको फुलियादेवीले भान्जालाई वैदेशिक रोजगारमा पठाउने उद्देश्यले नागरिकता लिन लागेको नाम नबताउने सर्तमा एक स्थानीयले बताए ।
‘पहिले धेरैपटक नागरिकता बनाउने विषयमा विवाद भइसकेपछि अहिले वडाध्यक्षलाई डेढ लाख रुपैयाँ दिएर सर्जमिनदेखि सिफारिससम्म गराएको हो,’ उनले भने, ‘सर्जमिनका लागि वडाध्यक्षले स्थानीयदेखि प्रहरीलाई पनि मिलाएको देखिएको छ ।’
वडा कार्यालयको तथ्यांकअनुसार व्यक्तिगत घटना दर्ता सम्बन्धित वडामा टोली आएका वेला २१ भदौ ०५९ जन्ममिति राखेर १३ चैत ०७७ मा भारतीय मूलका धीरजलाई जन्मदर्ता दिइएको छ । तर, यसअघिका वडाध्यक्षले नागरिकता सिफारिस गर्न नमान्दा उनको नागरिकता बन्न नसकेको स्थानीयले बताए ।
वडाध्यक्ष भागेश्वर यादवले धीरज भारतीय नागरिक रहेको भन्ने आफूलाई जानकारी नरहेकाले सिफारिस र सर्जमिन गरिदिएको बताए ।
भारतीय मूलका युवकलाई नागरिकता बनाइदिन आमा बनेकी माइजू र उनका भान्जामाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ । गत सोमबार सप्तरी जिल्ला अदालतबाट नागरिकतासम्बन्धी कसुरमा सात दिन म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

