बेइजिङ । चीनका सर्वोच्च नेता (प्यारामाउन्ट लिडर) सी चिनफिङले कम्युनिस्ट पार्टीको महासचिवका रुपमा अभूतपूर्व तेस्रो कार्यकाल सुरु गरेका छन्। तर, पार्टीमा उनीपछिको वरीयतामा रहेका प्रधानमन्त्री ली खछ्याङ र सल्लाहकार सभाका अध्यक्ष वाङ याङ दुवैले अवकाश पाएका छन्।
एक सातासम्म चलेको सीपीसीको महाधिवेशन शनिबार समापन भएको छ। समापनलगत्तै सरकारी समाचार संस्था सिन्ह्वाले नयाँ केन्द्रीय समितिका नेताहरुको नाम सार्वजनिक गरेको छ।
सो नयाँ केन्द्रीय समितिमा सात सदस्यीय स्थायी समितिमा रहेका चार जनाको नाम छैन। नाम नहुने स्थायी समिति सदस्यमा प्रधानमन्त्री ली खछ्याङ, ६७, नेसनल पिपुल्स कंग्रेस ९संसद० का अध्यक्ष ली चान्सु, ७२, चाइनिज पिपुल्स पोलिटिकल कन्सुलेटिभ कन्फ्रेन्सका अध्यक्ष वाङ याङ, ६७, र उपप्रधानमन्त्री हान चेङ, ६८, छन्। यसको अर्थ यी चारै जनाले अवकाश पाएका छन्।
करिब २०० सदस्यीय केन्द्रीय समिति २५ सदस्यीय पोलिट्ब्युरो मातहत हुन्छ। पोलिट्ब्युरोभन्दा माथि स्थायी समिति हुन्छ। केन्द्रीय समितिमा नपर्नुको अर्थ सो व्यक्तिले पार्टी वा सरकारमा महत्वपूर्ण पद पाउने छैन।
तर, ६९ वर्षीय राष्ट्रपति सीले भने आफूलाई तेङ स्याओपिङयताको सबैभन्दा शक्तिशाली नेताका रुपमा स्थापित गरेका छन्। दुई कार्यकाल मात्र राष्ट्रपति बन्ने परम्परा तोड्दै सी तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
आइतबार नयाँ केन्द्रीय समितिको पूर्ण बैठकले नयाँ पोलिट्ब्युरो र स्थायी समितिको टुंगो लगाउनेछ। त्यसपछि सीले स्थायी समितिका सदस्यहरुसहित पत्रकार सम्मेलन गर्नेछन्। सबैभन्दा वरिष्ठ कूटनीतिज्ञ याङ चिची र उपप्रधानमन्त्री लिउ हेको नाम पनि नयाँ केन्द्रीय समितिमा छैन। तर, ६९ वर्ष पुगिसकेका विदेशमन्त्री वाङ यी भने सूचीमा छन्। यसको अर्थ उनको पोलिट्ब्युरोमा बढुवा हुनेछ र विदेश मामिला उनैले हेर्नेछन्। एससीएमपी

