वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
डेंगी संक्रमितको संख्या २२ हजार नाघ्यो, २९ को मृत्यु
Prabhu Bank AD

काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार साउनयता २२ हजार ९८८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । केही दिनसम्म सबैभन्दा बढी केस ललितपुरमा देखिएको थियो तर त्यो स्थान काठमाडौँले लिइसकेको छ । डेंगीको उच्च जोखिममा रहेका १० जिल्लामध्ये ५ जिल्लामा डेंगीका हजारभन्दा बढी केसहरू पुष्टि भइसकेका छन् ।राजधानी काठमाडौंमा ७ हजार ३८०, ललितपुरमा ५ हजार ५८५, मकवानपुरमा २ हजार १३५, दाङमा २ हजार २७८ र भक्तपुरमा १ हजार ५० केसहरू पुष्टि भएका हुन् । तथ्यांकअनुसार १० जिल्लामा मात्र १९ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा ५ सय ९१, मधेसमा ३ सय २३, वाग्मतीमा १७ हजार ७ सय ३१, गण्डकीमा ५ सय १५, लुम्बिनीमा २ हजार ८ सय २१, कर्णालीमा ३ सय ३० र सुदूरपश्चिममा ७ सय ७७ वटा केस देखिएका छन्। त्यसैगरी मृत्युको संख्या पनि बढ्दै गएको देखिन्छ। हालसम्म यसबाट २९ जनाको मृत्यु भइसकेको छ ।

ईडीसीडीले काठमाडौं उपत्यकालगायत देशभर डेंगी संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै राष्ट्रव्यापी प्रकोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयसँग पत्राचार गरिसकेको छ ।
डेंगी संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीको संख्या पनि अधिक नै छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन ‘मास’ मा नै डेंगी फैलिसकेको बताउँछन् । उनले भने–‘पहिले परिवारका सदस्यहरूलाई देखिँदै आएकोमा अहिले सबैतिर फैलिसकेको छ। यो निराशाजनक हो । कोभिड नियन्त्रणमा सरकार जागरुक देखिएको थियो त्यसरी नै डेंगीमा पनि हुन जरुरुी छ । सुरुवाती चरणमै नियन्त्रणका उपाय सिकाउन जरुरी थियो । नियन्त्रणमा ढिलै भए पनि सार्वजनिक स्थल जहाँ धेरै मानिसको सहभागिता रहन्छ जस्तै विद्यालय, कार्यालय, कारखानालगायत ठाउँमा लामखुट्टेको वासस्थान खोजेर नष्ट गरिनुपर्छ नभए अझै हजारौँ संक्रमित हुनेछन्।’

 

Prabhu Bank AD

सम्बन्धित खवर