काठमाडौँ । यस वर्ष सामुदायिकका ७२ र निजी विद्यालयका २८ प्रतिशत विद्यार्थी उच्च शिक्षा पढ्न अयोग्य भएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले गरेको कक्षा १२ को नतिजा विश्लेषणमा सामुदायिक विद्यालयका १ लाख ३४ हजार ६ सय २९ र निजी विद्यालयका ५३ हजार ३ सय ४४ जना विद्यार्थी ‘नन्ग्रेडिङ’ मा परेका हुन् ।
भदौ दोस्रो साता सार्वजनिक नतिजाअनुसार सामुदायिक र निजीका गरी ३ लाख ६२ हजार ५ सय ७१ परीक्षार्थी सहभागी भएकामा १ लाख ८७ हजार ९ सय ७३ जना अर्थात् ५२ प्रतिशत विद्यार्थी नन्ग्रेडिङमा परेका हुन् । दुई विषयसम्म नन्ग्रेडिङमा परेका १ लाख ३० हजार ८ सय ७८ जनाले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् भने बाँकी ५७ हजार ५ सय ३२ जनाले पुनः अर्को वर्ष सबै बिषयको परीक्षा दिनुपर्नेछ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ८४ हजार ५ सय ५० जनाले एक र ४६ हजार ३ सय १८ जना विद्यार्थीले दुई विषयमा नन्ग्रेडिङ प्राप्त गरेको जनाए । उनीहरूका लागि ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ मा सञ्चालन हुँदै छ ।
यसपटकको परीक्षामा निजीभन्दा सामुदायिक विद्यालयका विद्यार्थी धेरै थिए । नतिजामा ग्रेडिङमा पर्ने विद्यार्थीको संख्या भने सामुदायिकको भन्दा निजीको बढी र नन्ग्रेडिङमा पर्ने विद्यार्थीको संख्या निजीको भन्दा सामुदायिकको बढी छ । सामुदायिक र निजी दुवैतर्फ गरी ४८ प्रतिशत विद्यार्थी मात्रै उच्च शिक्षामा भर्ना पाउन योग्य ठहरिएका थिए । विषयगत रूपमा मध्यमस्तरको जीपीए २।८१ देखि ३।२ र २।४१ देखि २।८१ प्राप्त गर्ने विद्यार्थीको संख्या अत्यधिक छ । ३।६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी सामुदायिक विद्यालयका ५ सय ७१ जना छन् भने निजीका ३ हजार ६ सय ८ जनाले उक्त जीपीए प्राप्त गरेका छन् ।
बोर्डले लेटर ग्रेडिङ प्रणाली २०७८ अनुसार कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो । उक्त प्रणालीमा प्रत्येक विषयको सैद्धान्तिकतर्फ ३५ प्रतिशत अंक प्राप्त नगरे नन्ग्रेडिङ उल्लेख गरिन्छ । यसअघि सैद्धान्तिक र प्रयोगात्मकतर्फको अंक जोडेर नतिजा प्रकाशित हुन्थ्यो । यस वर्षको नतिजा विगतको भन्दा निकै खस्केको बोर्डले समेत स्वीकार गरेको छ । कक्षाकोठामा पढाइ राम्रो नभएको र विषयगत शिक्षक अभावले शिक्षाको गुणस्तर खस्केको पाइएको बोर्डका सदस्य सचिव अर्यालले बताए ।
नतिजा सुधारका लागि कक्षाकोठाभित्रको सिकाइ र शिक्षक तालिममा सुधार गर्न शिक्षाविद्हरूले सरकारलाई सुझाव दिएका छन् । बोर्डले सोमबार गरेको नतिजा विश्लेषण कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइरालाले पढाइलाई सिकाइमा बदल्ने संस्कृति नहुँदा विद्यार्थी उच्च शिक्षाका लागि अस्वीकृत भएको बताए । ‘कोर्स पूरा गर्ने र त्यसैमा परीक्षा सञ्चालन गर्ने काम मात्र भइरहेको छ, नतिजा सुधार गर्न ग्रेडिङ विद्यार्थीको मात्र गरेर पुग्दैन, शिक्षकको पनि गर्नुपर्छ,’ उनले भने ।
शिक्षककै कारण नतिजा फरकरफरक आएको कोइरालाको भनाइ छ । ‘नन्ग्रेडिङको संख्या ज्यादै ठूलो भयो, यी विद्यार्थी आगो जस्ता हुन्, जता पनि लाग्न सक्छन्,’ उनले थपे, ‘सिकाइ सुधार गर्न शिक्षक तालिम चाहिन्छ ।’ ग्रेडवृद्धि परीक्षामा पनि सहभागी हुन नपाउने साढे ५७ हजार विद्यार्थीको विषयमा पुनर्विचार गर्न उनले सुझाव दिए । ‘नतिजा राम्रो ल्याउन परीक्षा प्रणाली सुधार गर्नुपर्छ, सिकाइ सुधार गर्नुपर्छ, स्तरीय परीक्षाको चिन्तन आवश्यक छ,’ उनले भने । शिक्षाविद् मनप्रसाद वाग्लेले सिकाउने भन्दा पढाउने काम बढी भएकाले धेरै विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न अयोग्य ठहरिएको टिप्पणी गरे । ‘कक्षा १ देखिकै नतिजामा विश्लेषण र सिकाइमा सुधार गरिनुपर्छ, सामुदायिक र निजी दुवै विद्यालयले विद्यार्थीलाई पाठ घोकाउने मात्र गरेका छन्,’ उनले भने । सामुदायिक विद्यालयका शिक्षक लगनशील नभएका कारण नतिजा कमजोर देखिएको काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन बालचन्द्र लुइँटेलले जनाए । ‘गलत पाठ्यपुस्तक गलत ढंगले पठनपाठन भइरहेको छ, विद्यालयमा सिकाइ हुन सकेको छैन,’ उनले भने, ‘सिकाइ नभएसम्म जति जना विद्यार्थीले ४ जीपीए ल्याए पनि काम छैन ।’ पाठ्यसामग्रीमा त्रुटि रहेको उनले औंल्याएका हुन् । कक्षाकोठालाई सिकाइको केन्द्र बनाएर पठन संस्कृति सुधार गर्न सके मात्र विद्यालयदेखि विश्वविद्यालयसम्मको नतिजा राम्रो आउने उनले भनाइ थियो । ‘परीक्षालाई बाघ जस्तो बनाइएको छ, बाघसँग जो पनि डराइहाल्छ नि,’ लुइँटेलले थपे, ‘सिकाइ सुधार नगरे परीक्षा मात्र लिएर कोही पनि बहादुर हुँदैन ।’
बोर्डले शिक्षाविद्, प्राध्यापक, विश्वविद्यालयका पदाधिकारी, विद्यालय सञ्चालक, प्रधानाध्यापक, शिक्षकलगायत सरोकारवालासँग कक्षा १२ को नतिजाका बारेमा छलफल गरेको थियो । हिसानका अध्यक्ष रमेश सिलवालले बोर्डले नतिजा राम्रो र नराम्रो ल्याउने विद्यालय पहिचान गरी सबल र दुर्बल पक्षबारे जानकारी दिनुपर्ने बताए । पढाइ र परीक्षाको विधि नबदलेसम्म नतिजामा सुधार आउन नसक्ने उनको दाबी छ । ‘शिक्षकले परिणाममुखी कार्यसम्पादन गरेरगरेनन् रु विद्यार्थी मात्र पास, फेल हुने शिक्षक र विद्यालय पास, फेल नहुने रु’ उनले प्रश्न गरे । शिक्षक तालिमसँगै उनीहरूको सेवासुविधा वृद्धि गरेर योग्य र सक्षम व्यक्तिलाई शिक्षण पेसामा आकर्षित गर्न सिलवालले सुझाव दिए । ‘निजी विद्यालयको नतिजा राम्रो देखिए पनि ग्रेडिङमा परेका अधिकांश विद्यार्थीले औसतमा ५० देखि ६० अंक मात्र प्राप्त गरेका छन्, नतिजामा सन्तोष गर्ने ठाउँ छैन,’ उनले भने ।
काठमाडौंको तारकेश्वरस्थित साङला बालकुमारी माविका प्रधानाध्यापक टीकाराम भट्टले पूर्वप्राथमिक कक्षादेखि नै शिक्षक सिकाइ प्रभावकारी नहुँदा कक्षा १२ को नतिजा कमजोर देखिएको बताए । ‘राज्यले तल्लो कक्षामा ध्यान दिएको छैन, कक्षा १०र१२ मा पुगेपछि मात्रै राम्रो नतिजा खोजेर पाइँदैन,’ उनले भने । शिक्षक तालिमलाई कक्षाकोठासम्म पुर्याउनुपर्ने र कार्यसम्पादन करार गरेर मात्रै शिक्षकलाई पठनपाठनमा सहभागी गराउनुपर्ने उनको भनाइ छ ।
ललितपुरस्थित युलेन्स स्कुलका प्रअ मेदिनी लामिछानेले अनौपचारिक रूपमा नतिजाको समीक्षा गरेर मात्रै नपुग्ने जनाए । ‘विद्यालय र शिक्षकको कमजोरी के–केमा भयो रु के सुधार गर्नुपर्छ रु त्यो कुरा बोर्डले भनिदिनुपर्यो,’ उनले भने । लामिछानेले प्रश्नपत्र र उत्तरपुस्तिका परीक्षकमा समेत सुधार गर्नुपर्ने औंल्याए । उत्तरपुस्तिका परीक्षकलाई लाइन्सेन्स दिने व्यवस्था गर्नुपर्ने उनको माग छ । मनमैजु माविका प्रअ रविना महर्जनले नतिजा सन्तोषजनक नहुनुमा शिक्षक र विद्यालयलाई मात्र दोष दिएर उम्कन नमिल्ने बताइन् ।
लेटर ग्रेडिङ प्रणालीबारे विद्यार्थी–अभिभावकमा सचेतना र तल्लो कक्षादेखि नै सिकाइ सुधारमा जोड दिनुपर्ने उनको भनाइ छ । गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले पनि पढाइ र सिकाइ सुधार गर्न स्थानीय तह, विद्यालय र शिक्षकलाई बाध्यकारी सल्लाहरसुझाव आवश्यक रहेको जनाए ।

