
कुनै शहरको प्लेटफर्म, रेलहरू आफ्नो समय तालिका अनुसार आउने र जाने भइ नै रहन्छ । त्यसै दौरानमा एउटा ए क्लास क्याविनमा कुनै सुन्दरी परी देखा पर्दछिन्, आफ्नो सुन्दरताले धपक्कै बलेकी । पल्याक–पुलुक उनलाई नै हेर्दै केही बेरको बाँकी समयको सदुपयोग गर्नु उपयुक्त ठान्दछन्, बाहिर टहलिदै गरेका यात्रुहरू पनि । यो कुराको सुईको पहिल्यै पाएर पनि केही थाहा नपाएझै वा यस कुराप्रति पूर्ण वेवास्ता भाव राख्दै कता कता टोलाएको अभिनय गर्दछिन् । आफ्नो सौन्दर्यतामा कुनै कमी नआओस भनी हाते ब्यागबाट केही सामग्री निकालेर आफ्नो सौन्दर्यतामा थप गर्दछिन् ।
यत्तिकैमा उक्त रेल छुटने समयको संकेत बजिसकेपछि, एउटा टाईसुटधारी एउटा ब्रिफकेशका साथ उनको क्याविनमा प्रवेश गर्दछ । मात्र उसैको प्रतिक्षामा हो कि जस्तो गरी उ आइैपुग्ने वित्तकै उसैको अङ्गालोमा आफूलाई पूर्ण रूपमा सुम्पदिन्छिन् उनी । त्यतिबेला उसलाई पनि लाग्छ होला—सारा प्रकृतिभरिको सारा बम्हाण्ड भरीको सुन्दरता यतिबेला उसकै अँगालोमा अटाईरहेको छ ।
त्यहाँबाट आ–आफ्ना क्याविन वा सीटतिर लाग्ने क्रममा सबैको मनमा बझ्ने एउटै घण्टी भनेको के ती परी त्यही टाईसुटधारीको श्रीमती नै होलिन त ? नभए, पैसाको दुनियाँ त आफूहरूले सोचेभन्दा विल्कुलै फरक पो हुँदो रहेछ ।
त्यसैक्रममा रेल स्टार्ट हुन्छ र अगाडि बढ्दै गर्छ । आखिर यात्रा उही हो, सबैलाई बोक्ने रेल पनि उही हो । तर त्यहाँ बस्ने मानिसहरू फरक फरक । कोही ए क्लास, कोही बी क्लास कोही सि क्लास, कोही टिकट लिनु नपरोस र आवश्यक परेको बखत फुत्त झर्न सकियोस् भनी विना टिकट छतमा यत्तिकै पनि ।
सोचाईको क्रममा उक्त रेलको शुरुको वास्प ईञ्जिनको आविष्कारक जेम्सवाटदेखि डेमलरसम्मका वैज्ञानिकहरूको अहोरात्रको खटान पनि त्यही छ । त्यस्तै आखिर रेल हावामा त कुदेको छैन । त्यसलाई कुद्नको लागि रेलको लिकको आवश्यकता पर्न गएको छ । त्यो लिक बनाउन आवश्यक पर्ने फलाम कहाँ र कस्तो हालतमा उपलब्ध हुन्छ होला ?
फलाम र कोइला खानीभित्र ५००–१००० मिटर मूनी जमीनभित्र पुगेर धमाकाका साथ त्यहाँको चट्टानलाई विष्फोट गराउने काममा खानी मजदुरहरू खट्ने गरेको र उक्त क्रममा दुर्घटनामा परी सयौंको संख्यामा उनीहरूको मृत्यु हुने कुरा सम्झँदा पुरै शरीर नै सिरिङ्ग भएर आउँँछ । उनीहरू त्यसरी विष्फोटमा परी पर्दा बाहिर उनका आश्रितहरूको जीवनबारे एक पटक सोच्न मन लाग्छ ।
यही रेलवे प्रणाली हो, समाज यही हो, बहारवाली परीलाई अँगालोमा बेरेर हिँडने हैसियत कहाँबाट आयो भनेर पनि कसैले सोध्दैन, सयौं हजारौ मिटर जमीनमूनि खानीमा काम गर्दा र विष्फोटमा पर्दाको पीडालाई अनुभूति गर्ने जाँगर पनि कमैले गर्छन् । बरु अधिकांशको भनाई नै यस्तो हुन्छ, आ–आफ्नो भाग्य अनुसारको खेल हो । आ–आफ्नो योग्यता अनुसार हैसियत बन्ने हो ।
एक अर्काको विशेषगरी समाजको सबैभन्दा आधारभूत तहको पीडालाई नै अनूभूति गर्न नसक्ने सम्बेदना सुन्यताको स्थितिले गर्ने योग्यता वा भाग्यको मूल्यांकन पनि कस्तो होला ? एउटै शरीर पनि विभिन्न अङ्गहरुले बनेको हुन्छ । सबै अङ्गले एउटै काम गर्ने पनि होइन, र एउटै अङ्गले सबै काम गर्ने पनि होइन । अङ्ग अनुसार कामको विशिष्ठता निर्धारण भइरहेका हुन्छ । अन्यथा समाजमा जस्तो शीर जस्ता अङ्गलाई अतिउच्च मूल्यांकन गर्दै श्रीपेच नै धारण गराउने, बीचका छाती, हात आदिलाई मध्ययम स्तरका वस्त्राभूषण अनि अन्त्यका गोडाको भार बहन कार्यको अतिन्युन मूल्यांकन गर्दै खाली नै राखिदिदा शरीरको अवस्था कस्तो होला ? त्यतिबेला शीरमा श्रीपेच नै पहिरिए पनि वनकाँडाले नाङ्गो पाइताला नै छेडिए पनि तपाईलाई खुख्दैन र ?

