काठमाडौं । धादिङको बञ्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटमा पुग्ने सडकमा केही दिनदेखि जारी अवरोध हटेको छ। सिसडोल र बञ्चरेडाँडा क्षेत्रमा जाने सडकमा स्थानीयबासीले गरिरहेको अवरोध हटेपछि फोहोर उठ्न थालेको जानकारी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दिएका छन्।
‘सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोध हटेका छन्’, मेयर शाहले भनेका छन्, ‘आज मात्रै २८४ गाडी फोहोर बञ्चरेडाँडा पुगेका छन्। यही गति कायम रहे केही दिनमा सबै फोहोर उठिसक्ने छ।’ उनले फोहोर बोक्ने ट्रकहरु सीमित भएकाले व्यवसायीहरूसँग पनि सहयोग मागेका छन्।
बालेन्द्र मेयर हुनु अघिदेखि नै काठमाडौंमा फोहोर थुप्रिन थालेको थियो। स्थानीय निर्वाचनयता काठमाडौंमा निरन्तर फोहोर उठ्न सकेको थिएन।
एक सातायता बञ्चरेडाँडा क्षेत्रमा सत्तारुढ दलकै कार्यकर्ता फोहोर ओसार्न अवरोध गर्दै सडकमा उत्रिएका थिए।
तर काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुसहित र महानगरपालिका समेतले स्थानीय दलका नेता कार्यकर्ता र सरोकारवालासँग वार्ता गरेपछि तत्काललाई समस्या टरेको हो।
उता काठमाडौं क्षेत्र नम्बर ४ का सांसद समेत रहेका कांग्रेस महामन्त्री गगनकुमार थापाले पनि फोहोरको अवरोध हटेको बताएका छन्।
काठमाडौँको फोहोर पुनः उठ्न थाल्यो,यो खुसीको खबर हो। तर,फेरि अवरोध पो हुने होकि भन्ने संशय भने मनमा छ’, उनले भनेका छन्, ‘यस पटक समस्या नबल्झिने गरी हल खोजौँ भन्ने चाहना र प्रयत्न हो। यसैका लागि आज काठमाडौँका केही सांसद, काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन, अन्य निकाय र शहरी विकास मन्त्रीसँगै बैठक बस्यौँ।’

