जनकपुर २६ साउन । जसपाको नेतृत्वमा रहेको मधेस सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार कर्मचारी भर्नामा दलितलाई नसमेटिएको भनेर जसपाकै केन्द्रीय स्तरका नेताहरु आफ्नै पार्टी नेतृत्वको सरकारको विरोधमा उत्रिएका छन् ।
जसपाका केन्द्रीय सदस्य चन्देश्वर सदा, दलित मुक्ति महासंघका प्रदेश अध्यक्ष रामु महरा र चन्देश्वर दास, सरोज डोम, इन्द्रजित मेस्तर लगायतकाले प्रतिष्ठानले गरेको गलत विज्ञापनको विरुद्धमा प्रतिष्ठानका प्रमुखलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।
विभिन्न आन्दोलन र संघर्षले स्थापित दलित आरक्षणको विरुद्धमा भएको विज्ञानलाई चुनौती दिदै उनीहरूले तीन दिनभित्र आरक्षणको व्यवस्थापन नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत ज्ञापनपत्रमा दिएको छ ।

