काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता प्रा.डा.गोविन्द केसीले जनताको स्वास्थ्य अधिकारप्रति राजनीतिक दल र सरकार निरन्तर असंवेदनशील हुँदै आपराधिक काम मात्र गरेको आरोप लगाएका छन् । शनिबार धरान आइपुगेका उनले आफूहरूसँग पटक–पटक गरेको सम्झौतालाई सरकारले पूर्ण रूपमा कार्यान्वयन नगरेकाले आउँदो भदौ १२ देखि २० औं पटक अनसन बस्ने घोषणा पनि गरेका छन् । ६ बुँदे माग राख्ने क्रममा सरकारले स्वास्थ्य क्षेत्रमा आपराधिक काम गरेको आरोप उनले लगाए । उनले भने, धैर्य गरेर पर्खियौं, ५ वर्ष बित्यो तर हालसम्म कुनै पनि प्रतिबद्धता पूरा गरेनन् ।
कार्यकर्ता भर्ती गराउन भागबन्डा गरेर सार्वजनिक संस्थानका सम्पत्ति दोहन गर्ने, दोहन गरेको कालोधनको बलमा चुनाव जित्ने र फेरि उही लुटतन्त्र दोहोर्याउने प्रयत्नमा दलहरू तल्लीन रहेको उनले आरोप लगाए । उनले भने, नागरिकको स्वास्थ्य अधिकार संविधानमा सुरक्षित हुँदाहुँदै पनि नेताहरूले लुटिखाने धन्दा मात्र बनाए ।
उनले नेपालका शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकार तथा दलका नेता–मन्त्रीहरूले ‘नग्न नृत्य’ प्रदर्शन गरिरहेको आरोप लगाए । संविधानमा जिल्ला अस्पतालमा ७० प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्रमा ५० र स्वास्थ्य चौकीमा ३५ प्रकारका विभिन्न औषधि निःशुल्क दिने भने पनि सर्वसाधारणले पाउन नसकेको र एक्सरे, रगत जाँज निःशुल्क जाँच गर्ने व्यवस्था भए पनि निजी अस्पतालले लिने, शुल्क जति नै लिएर मात्र गर्ने बेथिति ७७ वटै जिल्लामा रहेको छ

