वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
एमालेमा चुलियो असन्तुष्टि, ओलीलाई हटाउने गृहकार्यमा जुट्दै
Prabhu Bank AD

काठमाडौ । कुनै समय सबैभन्दा बलियो संगठन भएको दाबी गर्ने नेकपा एमालेमा आन्तरिक कलहले गम्भीर मोड लिएको छ। चार महिनाअघि मात्र तेस्रो कार्यकालका लागि निर्वाचित भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन पदाधिकारी नै सक्रिय भएका छन्।

नेपालको राजनीतिमा दशकौँदेखि वर्चस्व कायम राख्दै आएका ओली यतिबेला आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन मोडमा छन्। एकातिर पार्टीभित्रैबाट उनको राजीनामा मागिएको छ। अर्कोतिर, उनी कानुनी कठघरामा छन्।

अध्यक्ष ओलीले आफूमाथि लागेका आरोप र सम्भावित कारबाहीको बीचमा रामबहादुर थापा बादललाई पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता तोकेपछि एमालेभित्रको असन्तुष्टि विस्फोटको सँघारमा पुगेको हो। आन्तरिक कलह बाहिर आएको हो।

असन्तुष्ट नेताहरूले हिरासतमा रहेका ओलीलाई यही मौकामा हटाउने तयारी थालेका छन्। ओलीका विश्वासपात्र र पार्टीका प्रभावशाली पदाधिकारीहरू नै अहिले ओलीको विपक्षमा उभिएका छन्।

उनीहरूले सचिवालयमा बहुमत जुटाएर विधानसम्मत रूपमा ओलीलाई पदबाट हटाउने तयारी गरेका छन्। यसको विधि खोजिरहेका नेताहरू छलफलमा छन्। कतिपय केन्द्रीय तहका नेताले हस्ताक्षर अभियान पनि अघि बढाएका छन्। ‘पार्टी पुनर्गठन गर्नुपर्छ भन्ने तलदेखि माथिसम्म व्यापक छ,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘अध्यक्षको यो तरिकाले भएन। अब पार्टीलाई पुनसंरचना नगरी हुँदैन भन्ने मत दैनिक बढ्न थालेको छ।’

यद्यपि, कसरी पुनर्गठन गर्ने भन्ने विषयमा नेताहरू छलफलमै भएकाले निर्णय नभइसकेको ती पदाधिकारी बताउँछन्। ‘केही नेताले सामाजिक सञ्जालमा लेखेर आफ्नो धारणा प्रस्ट पार्नुभएको छ, कतिपय साथीहरू विधान अनुसार अघि बढ्नुपर्ने भन्दै त्यसको छलफलमा पनि हुनुहुन्छ,’ उनले थपे। उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईसहितका नेताहरू ओलीले राजीनामा दिनुपर्ने बताइरहेका छन्।

नेताहरू ओली हटाउन कुन तहसम्म पुग्छन् भन्ने यकिन भइनसकेको अर्का पदाधिकारीको भनाइ छ। ‘केही भन्न सकिँदैन। पहिला अध्यक्षलाई हिरासतबाट निकालौँ,’ ती पदाधिकारीले भने। त्यसो त गत भदौ २३ गतेको जनजी आन्दोलनपछि नै ओलीलाई राजीनामा गर्न नेताहरूले दबाब दिएका थिए।

तत्कालीन प्रधानमन्त्री ओलीको कार्यकालमा भएको उक्त आन्दोलनमा युवाहरूको मृत्यु भएपछि स्थिति नियन्त्रणबाहिर गएको थियो। सोही घटनाको विरोधमा भदौ २४ गते सरकारी निकायहरूमा आगजनी भएपछि दबाबमा परेका ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

तथापि, प्रधानमन्त्री छोडे पनि ओली पार्टीको नेतृत्व छाडेनन्। बरु पुस २७ गतेका लागि ११ औँ महाधिवेशनको मिति तोकेका थिए। उक्त महाधिवेशनमा ओली समूहले ईश्वर पोखरेल समूहलाई भारी मतले पराजित गरेको थियो। तर, पोखरेल पक्षबाट उपाध्यक्ष विष्ट र उपमहासचिव भट्टराईसहितका पदाधिकारी निर्वाचित भएका थिए।

महाधिवेशन लगत्तै सम्पन्न आम निर्वाचनमा एमालेले बेहोरेको शर्मनाक पराजयले ओलीको नेतृत्वमाथि नेताहरूले थप प्रश्न उठाए। इतिहासकै सबैभन्दा कमजोर चुनावी नतिजा आउनु र स्वयं अध्यक्ष ओली समेत पराजित हुनुले उनको नेतृत्व क्षमता अस्वीकृत भएको असन्तुष्ट नेताहरूको भनाइ थियो।

र, निर्वाचनमा पराजयको जिम्मेवारी लिएर मार्गप्रशस्त गर्नुको सट्टा ओलीले पार्टीमा अझ पकड बढाउन खोज्दा असन्तुष्ट पक्ष थप आक्रोशित बनेको हो।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको क्रममा प्रहरीले ओलीलाई पक्राउ गरेको छ। आइतबार उनलाई थप पाँच दिन थुनामा राख्न अदालतले आदेश दिएको छ। जसले ओलीको राजनीतिक भविष्यलाई थप संकटमा पारेको छ।

अध्यक्ष पक्राउ परेको बेला पार्टीभित्र भाँडभैलो मच्चाउन खोजेको भन्दै ओली पक्षीय नेताहरू रुष्ट छन्। सचिव भानुभक्त ढकाल नेताहरूको व्यवहार अमर्यादित भएको बताउँछन्।

‘अध्यक्ष पक्राउ परेको बेला तमासा देखाउन मन लाग्नेहरूले गरेको एउटा षडयन्त्रमूलक गतिविधि हो यो,’ सचिव ढकालले भने।

पार्टीलाई कसरी लैजाने भन्ने विषयमा समीक्षा र छलफल हुनुपर्नेमा नेता नै फेर्नेगरी गतिविधि गर्नु गलत भएको उनको भनाइ छ।

‘यो मतिबाट त्यो सम्भव छैन, यसले त पार्टी सुध्रिन नदिने कुरालाई बल पुर्‍याउँछ,’ उनले भने, ‘अध्यक्ष कस्टडीमा हुनुहुन्छ, यो बेला हस्ताक्षर गर्छौँ भनेर कुनै एमालेको नेता त्यसमा लाग्छ भन्ने हामीले कल्पना पनि गर्न सक्दैनौँ।’

असन्तुष्ट एमालेका नेताहरूले कार्यवाहक अध्यक्ष बादलले प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा गरेको सम्बोधनको विरोध गरेका थिए। उपाध्यक्ष पौडेल र उपमहासचिव भट्टराईले सामाजिक सञ्जालबाटै बादलले गलत बोलेको धारणा राखेका थिए।

चैत २० गते बसेको एमालेको सचिवालय बैठकमा यस विषयमा छलफल भएको थियो। बैठक साढे ४ घण्टा बढी समय चलेको थियो।

तर, बादलले संसदीय दलको बैठकमा सल्लाह गरेरै बोलेको सांसद गुरु बरालले बताए। यही विषयमा सचिवालय बैठकमा पनि छलफल भएको र बादलले बोलेको कुरा पार्टीको धारणा भएको सचिव ढकालले बताए।

‘बादलले बोल्नु भएको पार्टीको धारणा नै हो,’ सचिवालय बैठकको निष्कर्ष सुनाउँदै उनले भने, ‘अध्यक्षलाई अप्ठ्यारोमा पारेको बेला सहयोग गर्ने मनसायले उहाँले बोल्नुभएको हो। अहिलेको अवस्थामा रक्षात्मक भएको नेता साथीहरूको मनोबल उठाउने कुराका लागि उहाँले राख्नुभएको धारणाले राम्रो गरेको भन्ने छ।’

Prabhu Bank AD

सम्बन्धित खवर