काठमाडौं । चिकित्सक भन्छन्, ‘स्वस्थ्य रहन सागपात खानुहोस्’
प्रयोगशालाको रिपोर्ट भन्छ, ‘सागपातमा विषादीको मात्रा बढी छ ।’
उपभोक्ता द्विविधामा छन् । सागपात खाएर स्वास्थ्य भइन्छ कि रोगी ? यसले फाइबर, भिटामिनलगायत सुक्ष्म पोषण मिल्छ कि स्वास्थ्यलाई हानि गर्ने विकार ?
उपभोक्ता द्विविधामा छन् । सागपात खाएर स्वास्थ्य भइन्छ कि रोगी ? यसले फाइबर, भिटामिनलगायत सुक्ष्म पोषण मिल्छ कि स्वास्थ्यलाई हानि गर्ने विकार ?
सागपात खाएर ढुक्क हुने अवस्था छ ?
यसको जवाफ भने त्यती सन्तोषजनक छैन । देशकै ठूलो तरकारी थोक बजार कालीमाटीमा विक्रीका लागि ल्याइएका तरकारीहरूमा अत्यधिक विषादी भेटिने तथ्यांकले यसमा शंसय पैदा गरिदिएको छ ।
पछिल्ला दिनमा रायोको सागमा धेरै विषादी भेटिएको खबर आइरहेका छन् । स्वास्थ्य राम्रो बनाउनका लागि नियमित खानुपर्ने सागपातमै बारम्बार विषादी भेटिनु जनस्वास्थ्यका लागि गम्भीर चुनौती भएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।
पुष ८ गते कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको अनुगमन टोलीको रिपोर्टमा रायोको सागमा ९९.०८ प्रतिशतभन्दा बढी अर्गानोफस्फेट विषादी भेटिएको पुष्टि गर्यो ।
त्यसको हप्ता दिन नबित्दै समितिको पुष ११ गतेको अर्को रिपोर्टमा रायो सागमा ७४.७२ प्रतिशत बढी अर्गानोफोस्फेट विषादी रहेको सूचना सार्वजनिक भयो । यसअघि पनि ब्रोकाउली, तितेकरेला लगायतका तरकारीमा उच्च विषादी भेटिएको खबर पटक(पटक आइरहेको थियो ।
२०२५ मा प्रकाशित एक समीक्षाले नेपालका फलफूल र तरकारीहरूमा विषादी अवशेषको अनुगमनलाई विश्लेषण गरेको छ । यसमा हाल भइरहेको विषादी प्रयोग, अनुगमनका प्रयासहरू र नियामनमा देखिएको ढिलासुस्तीलाई गहन विश्लेषण गरिएको छ ।
फलफूल र तरकारीमा विषादीः अब गम्भीरतापूर्वक मापन गर्नुपर्छ
३५ प्रतिशतभन्दा कम अवशेषलाई सुरक्षित मानिन्छ । जबकि ३५ देखि ४५ प्रतिशत बीचको स्तरहरूलाई प्रतीक्षा अवधिपछि मात्र उपभोगयोग्य मानिन्छ । तर नेपालमा यो सीमा बारम्बार उल्लंघन भइरहेको छ । यी तथ्यांकहरूले कालीमाटी बजारलाई यस्तो हब बनाएको देखाउँछ, जसबाट उपत्यकाभर तरकारी पुग्छ र अन्ततः उपभोक्ताको थालमा विष पुगिरहेको छ ।
सीमित अनुगमन र अनियन्त्रित विषादी प्रयोगले यो समस्या बढाएको देखिन्छ । कृषि मन्त्रालयका अवकाशप्राप्त सहसचिव तथा विषादी विशेषज्ञ डा। दिल्लीराम शर्माका अनुसार विषादी आवश्यक छ, विश्वभर यसको प्रयोग हुन्छ । तर नेपालमा दुरुपयोग बढी छ ।
‘जापानमा प्रतिहेक्टर १२ किलो प्रयोग हुँदा स्वास्थ्य असर कम छ, किनकि उनीहरूले ‘ग्रेस पिरियड’ ९छर्केपछि यति दिनपछि टिप्ने र कति हाल्ने भन्ने नियम० पालना गर्छन्’ डा. शर्मा भन्छन्, ‘हाम्रोमा आज छर्केर भोलि टिप्ने चलन छ ।’
यही कारण अहिले काठमाडौंबासीले खाने सागपात अयोग्य छ भनेर दाबी गरिने अवस्था रहेको उनी बताउँछन् ।
आफूले २०७३–७४ मा कालीमाटीमा अनुगमन सुरु गरेको र त्यसको उद्देश्य किसानहरूलाई सजक गराउनु रहेको डा। शर्मा बताउँछन् । तर अहिले आफू रिटार्यड भएपछि तालिम दिने काममा निरन्तरता नदेखिएको उनको गुनासो छ ।
अहिले अनुगमन देखावटी मात्रै बनेको उनको गुनासो छ । ‘उतिबेला हाम्रो उद्देश्य विषादीको मात्र कति हाल्ने भनेर तालिम दिनु थियो’ डा।शर्मा भन्छन्, ‘तर किसानलाई सिकाउने उद्देश्य हराएको छ ।
सरकारले स्थानीय निकायमार्फत तालिम दिनुपर्छ ।’ उनका अनुसार किसानहरूले छिटो र सस्तोमा कीरा नियन्त्रण गर्न अत्यधिक विषादी प्रयोग गर्छन् । बजारमा राम्रो मूल्य पाउन अन्तिम समयमा पनि छर्कने प्रवृत्ति छ ।
के विषादी नहाली तरकारी फल्दै नफल्ने हो ?
तरकारीमा विषादी भेटिएको खबर सुन्दा उपभोक्तालाई तरकारी किन्नै डर लाग्ने अवस्था बनेको छ । जलवायु परिवर्तनका कारण विषादी प्रयोग नगरी तरकारी फलाउनै कठिन हुने शर्मा बताउँछन् ।
तरकारीमा नयाँ(नयाँ कीराहरूले आक्रमण गरिरहेको हुन्छ । ती कीरा मार्नलाई मनलाग्दी विषादी हाल्ने गर्दा समस्या हुने उनको भनाइ छ । किसानहरूमा ज्ञान नहुँदा सामान्य विषादीले मर्ने कीराका लागि पनि कडा विषादी प्रयोग गर्ने गरेको उनी सुनाउँछन् ।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार विकासोन्मुख देशहरूमा विषादीको सुरक्षित प्रयोग र भण्डारणको ज्ञान अभावले समस्या बढाएको छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको तथ्यांकअनुसार नेपालमा विषादी आयात वर्षेनी बढिरहेको छ । हालैका वर्षहरूमा नेपालले ११०० टनभन्दा बढी विषादी आयात गरेको छ, जसको ठूलो हिस्सा तरकारीमा प्रयोग हुन्छ । २०२३–२४ मा ११८३ टन आयात भएको तथ्यांक छ ।
सरकारी ल्याबले अर्गानोफस्फेट चिन्छ, अरू विषादी चिन्दैन
हालको सतहमा देखिएको अर्गानोफस्फेट मात्र हो । धेरै यस्ता विषादी हुनसक्छन्, जो हाम्रो आँखा बाहिर रहेको शर्मा बताउँछन् । उनका अनुसार कालीमाटीको मेसिनले अर्गानोफस्फेट र कार्बामेट मात्र जाँच गर्छ ।
कार्बामेट विषादी नेपालमा अहिले आउँदैन । पहिले विषादी प्रयोग गर्ने मध्ये ७० प्रतिशतले अर्गानोफस्फेट हाल्थे । तर अहिले यो दर घटेर २५(३० प्रतिशत पुगेको छ । त्यो बाहेक अहिले देखिएको नयाँ विषादी सरकारको मेसिनले नचिन्ने उनले स्पष्ट पारे ।
९९ प्रतिशत विषादी देखियो भन्नुको अर्थ के हो ?
शर्माका अनुसार ९९ प्रतिशत भनेको विषादीको मात्रा होइन, रेसिड्यू स्तर अर्थात् विषादीमा रहेको अवशेष हो । ३४ प्रतिशतसम्म सुरक्षित र ४५ प्रतिशतमाथि यी विषादी मेसिनले देखाउँछ भने त्यो अयोग्य मानिन्छ ।
३० प्रतिशत भन्दा बढी देखिएको नयाँ विषादी हुन् । त्यसैले, अरू पनि विषादी होलान जुन शरीरका लागि हानिकारक छन् भन्ने सन्देश हो । विषादी जाँच गर्नेसूत्र छ, ३४ प्रतिशतसम्म खानयोग्य, ४५ प्रतिशत भए ७ दिनपछि खान मिल्छ, त्यो भन्दा माथि देखिए अयोग्य भनिन्छ ।
किसानलाई तालिम हुँदैन, अनुगमन मात्रै
किसानले तरकारीमा जथाभावी विषादी प्रयोग गर्नुको मुख्य कारण त्यसबारे राम्रो ज्ञान नहुनु नै रहेको शर्मा बताउँछन् । किसानलाई राम्रो तालिम दिनु आवश्यक नभएपछि अनुगमन मात्रै गर्ने प्रवृत्तिले समाधान नदिने उनको भनाइ छ ।
आफूले जाँदा गर्ने बेलामा जुन भेगको तरकारीमा विषादी देखिन्छ, त्यही ठाउँको कृषकलाई विषादी प्रयोगको तालिम दिने व्यवस्था गर्ने गरेको शर्माले सुनाए । ‘यी सबै हराउँदै गए । त्यसैले, अहिले विषादी जाँच्ने र चुप लागेर बस्न, झारा टार्ने काम मात्रै भइरहेको छ’ उनी भन्छन् ।
नेपालमा विषादी व्यवस्थापनका लागि विभिन्न कानुनहरू छन् । विषादी ऐन, २०४८ ले विषादीको आयात, निर्यात, उत्पादन, प्रयोग, खरिद र विक्रीलाई नियमन गर्छ । यसमा सूचीबद्ध भएका बाहेक विषादीहरू आयात र प्रयोग गर्न निषेध छ ।

