काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (NIICE) ले आफ्नो १० औं वार्षिकोत्सव मनाउन नेपाल–भारत थिंक ट्याङ्क फोरम २०२६ को आयोजना गर्दैछ, जसको विषयवस्तु “क्षेत्रीय लचिलोपनः नेपाल–भारत सुरक्षा सहयोगलाई सुदृढीकरण” राखिएको छ । फोरम १० फेब्रुअरीमा काठमाडौं म्यारियट होटलमा आयोजना हुनेछ ।
एक दिनसम्म चल्ने यस फोरममा तीन केन्द्रित सत्रहरू हुनेछन्, जसले नेपाल–भारत सुरक्षा सहयोगको अभिसरण, निरन्तरता र भविष्यको प्रक्षेपणको जाँच गर्नेछ; द्विपक्षीय सम्बन्धलाई आकार दिने अन्तर्राष्ट्रिय खतराहरू, कनेक्टिभिटी र आर्थिक सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नेछ; र लचिलो नेपाल–भारत सम्बन्ध निर्माणमा थिंक ट्याङ्क, युवा र मिडियाको भूमिकाको अन्वेषण गर्नेछ ।
भारतका विशिष्ट वक्ताहरूमा भारतीय प्रधानमन्त्री मोदीका पूर्व उप–राष्ट्रिय सुरक्षा सल्लाहकार राजदूत पंकज सरण, जो नेटस्ट्र्याट नामक थिंक ट्याङ्कको नेतृत्व गरिरहेका छन्; भारतको सबैभन्दा पुरानो सुरक्षा थिंक ट्याङ्क युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाका महानिर्देशक पूर्व भाइस एडमिरल संजय जसजित सिंह (सेवानिवृत्त); सत्तारुढ दल भारतीय जनता पार्टीसँग नजिकबाट काम गर्ने इन्डिया फाउन्डेसनका कार्यकारी उपाध्यक्ष क्याप्टेन डा. आलोक बंसल; जवाहरलाल नेहरू विश्वविद्यालयकी प्रोफेसर संगीता थपलियाल र रणनीतिक तथा रक्षा अनुसन्धान परिषद्का सह–संस्थापक डा. गौरव सैनी रहेका छन् भने नेपालबाट पोलिसी इन्टरप्रेन्योर्स इंकका निर्देशक अनुराग आचार्य, एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सका सह–निर्देशक डा. अंगना गुहा रोय; राजनीतिक तथा सुरक्षा विश्लेषक मेजर जनरल बिनोज बस्न्यात (सेवानिवृत्त); र वरिष्ठ पत्रकार सञ्जीव सतगैया, आयोजक संस्थाका अनुसन्धान सहयोगी र कार्यक्रम संयोजक बिबेक धोज थापा र अन्य धेरै जना सहभागि हुनेछन् ।

