—राजेश विद्रोही
श्रीलंका र अफगानिस्तान घट्नाको केही वर्ष नपुग्दै बंगलादेशमा फेरि अर्को घट्ना घटित भयो । त्यो पनि आरक्षणको विषयलाई लिएर । विधार्थी आन्दोलनको लखेटाइमा परिन् प्रधानमन्त्री शेख हसिना । यतिसम्म कि हेलिकप्टर चढेर देश नै छाडेर भाग्नुपर्यो । संसारकै शक्तिशाली महिलामा पर्ने हसिनाले किन यस्तो दुर्दशा भोग्नुप¥यो ? यसको बाछिट्टा नेपालमा पनि पर्ने हो कि भन्ने विश्लेषण र भविष्यवाणी भइरहेको छ । यसमा नेपाली नेता, राजनीतिक दल र शासक प्रशासकहरुको सावधानीता के हुन्छ ? यसबारेमा केही चर्चा यो आलेखमा गरौं ।
मुलत दक्षिण एसियामा चरम गरिबी, बेरोजगारी र जातीय, क्षेत्रीय तथा धार्मिक विविधताकै कारणले विभिन्न द्वन्द र अन्तरविरोधका घटनाहरु भइरहेका हुन्छन् । जसको प्रत्यक्ष प्रभाव पाकिस्तान, अफगानिस्तान, श्रीलंका, माल्दिभस र बंगलादेशमा परेको देखियो । नेपाल र भारत पनि यसको उच्च जोखिममा छ । किनभने यहाँको समाजिक, आर्थिक र राजनीतिक संरचना लगभग एउटै प्रकृतिको छ । त्यसैले दक्षिण एसियालाई विश्वकै जातीय, क्षेत्री र धार्मिक उथलपुथलको क्षेत्रको रुपमा लिइन्छ ।
शेख हसिनाले आन्दोलन लडेका मुक्ति योद्धाको नाउमा राज्यमा तीस प्रतिशत आरक्षणको घोषणा गरेको थियो । बिना विमर्श नागरिकलाई मुक्ति योद्धा र आन्दोलन नलडेको राजाकार (गद्दार) को रुपमा समावेशीलाई परिभाषित गर्न खोजेपछि नयाँ पुस्तालाई सहिय भएन । जसले विधार्थी आन्दोलनको बिजारोपन हुन पुग्यो । आन्दोलनमा तीन लाख बढीले ज्यान गुमाए । सताउथलपुथलको मूल केन्द्रको रुपमा आरक्षण देखिएपनि त्यहाँको मिश्रित आन्तरिक थुप्रै समस्याहरु देखिन्छन् । जुन कारण शेख हसिनाको निहित सता ढल्यो । र, लोकतान्त्रिक इतिहासमा एउटा कलंकको टीका थपियो ।
शासक कसैको हुँदैन । न देशको हुन्छ, न जनताको । उ हुन्छ भने केवल आफ्नै लागि । पछिल्लोपटक बंगलादेशको प्रधानमन्त्री शेख हसिना, श्रीलंकाको राष्ट्रपति गोतावाया राजपाक्षे र अफगानिस्तानको राष्ट्रपति असरफ घानीहरुको विकसित घटनाक्रम र काण्डले यसको पुष्टि गरेको छ । जहाँ आफ्नै देश, जनता र थातथलो छोडेर भाग्नुपर्यो । यतिबेला बंगलादेशमा नोबेल पुरस्कार विजेता ८३ वर्षीय युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । जसलाई शेख हसिनाले जेलदेखि नेलसम्मका दुःख दिएका थिए । अरु देशहरुमा पनि विपक्षी शक्तिले नै सता चलाइरहेका छन् ।
शेख हसिनाको बुबा शेख मुजिबुर रहमानले सन् १९७१ मा आफ्नै नेतृत्वमा पाकिस्तानबाट पूर्वी पाकिस्तानलाई अलग गरेर बंगलादेशको स्थापना गरेका थिए । सन् १९७३ को पहिलो आम निर्वाचनमा उसको नेतृत्वको दल ‘बंगलादेश अवामी लिग’ बहुमतकासाथ जितेका थिए । र, उनी बंगलादेशको पहिलो राष्ट्रपति बनेका थिए । तर, दुर्भाग्य, सन् १९७५ अगष्ट १५ मा सैनिक ‘कु’ भयो । रहमान, उनका श्रीमती र तीन छोरा सहित सखाप भए । विदेशमा रहेकी दुई छोरी जेठी शेख हसिना र कान्छी शेख रिहान मात्र बाँचेका थिए ।
शेख हसिना स्वदेश फर्केपछि सन् १९८१ देखि निरन्तर सैनिक शासन विरुद्ध ठूलो संघर्ष गरिन् । लोकतान्त्रिक योद्धाको रुपमा आफूलाई पनि स्थापित गरिन् । सन् २००९ मा बहुमतकासाथ निर्वाचन जिते पनि । १६ वर्षसम्म सत्ता चलाइन् । उनले देशको आर्थिक अवस्थामा निकै सुधार गरे । अहिलेको कार्यकाल पूरा भएको भए उनको शासनको २५ वर्ष पुग्थ्यो । तर, सात महिनामै सता च्युत भए । चुनाव जित्नु र बहुमत ल्याउनुले मात्र मुलुकको विकास र समृद्धिको कल्पना गर्न सकिदैन । मुख्य कुरा भनेको मुलुकको विविधता र पिँधको नागरिकको जीवनलाई राज्यसँग जोड्नु रहेछ । जसले मात्र मुलुकको स्थिरता, विकास र समृद्धिको कल्पनालाई आत्मसात गर्न सकिन्छ ।
जसरी शेख मुजिबुर रहमानलाई संसारले लोकतान्त्रिक योद्धाको रुपमा उच्च सम्मान गर्थे त्यसरी नै आज उसको शालिक गर्ल्यामगुर्लुम ढलेको छ । र, उनीहरूको वर्ग उत्थान प्रवृत्तिमाथि चोटिलो प्रहार भइरहेको छ । रातो अक्षरले लेखिएको उनीहरूको इतिहास कालो मसीले पोतिएको छ । यसको भागिदार उनीहरू आफै बने । आजको लोकतान्त्रिक शासकहरुमा ठूलो समस्या देखिएको छ । सकेसम्म जनतालाई लुट्ने र ठग्ने, सकेन भने भाग्ने प्रवृत्तिले ग्रसित छन् । जुन प्रवृत्ति तानाशाही शासकहरुकोभन्दा सयौंगुणा खतनाक छ । जसलाई आफ्नो देश र जनता प्रति कुनै मोह हुँदैन । विगत बिर्सेर वर्तमानसँग रमाउने नयाँ निरंकुश सामन्ती शैलीको विकास भएको छ । आफ्नो वर्ग र धर्म बिर्सिने कारखानाको रुपमा लोकतन्त्र सावित भइरहेको छ । नयाँ स्वरुपमा दमन, शोषण र उत्पीडन गर्ने राज्यलाई बैधानिक हतियार बनाइरहेको छ ।
लोकतन्त्रमा चुनाव गर्नु र लड्नु, हार्नु र जित्नु तथा निर्वाचनलाई औपचारिकतामा सिमित गर्नुले मात्र समस्याको समाधान हुँदैन । शासकहरुको कारण दक्षिण एसियामै लोकतन्त्र निकै कम्जोर र कुण्ठित भइरहेको छ । धाँधली युक्त निर्वाचनमा हदैसम्मको राजनीतिक दुश्मनी बढेको छ । तर, नेपाल यसको ठिक बिपरित छ । यहाँ दलहरु फरक फरक भएन पनि सतापक्ष र प्रतिपक्ष छुट्याउनै गा¥हो छ । मिलेर खाने, मिलेर लड्ने र मिलेर फस्ने प्रवृत्ति हावी छ ।
एउटा भनाइ छ ‘हरेक तानाशाहको दुःखद अन्त्य हुन्छ’ । यो कुरा तानाशाहरुले बुझ्न जरुरी छ । र, बेलैमा सच्चिन जरुरी छ । चुनावमा भोट र सत्ताको बहुमत पाउनुले मात्रै सबै थोक निर्धारण गर्दैन । शेख हसिना, असरफ घानी, गोतावाया राजापाक्षे र बाजेद पनि भोटै पाएकै बहुमतबाला शासकहरु थिए । तर, उनीहरूले किन यस्तो दुर्दशा भोग्नुपथ्र्याे ? उनीसँग सिंगो देश, प्रयाप्त सेना प्रहरी र शासन प्रशासन थियो । संसदीय व्यवस्थामा गणितको राजनीति अलग कुरा हो । क्रान्ति र आन्दोलनको विज्ञान अर्को कुरा हो । जब क्रान्ति र आन्दोलनको आँधी उठ्छ त्यसपछि कसैले वा कुनै शक्तिले छेकेर छेक्न सक्दैन । न त बन्दुकले दबाउन सकेको इतिहास छ ।
शासक भनेको कागजी बाघ हुन् । उनीहरू कागजको बलमा देश खाइरहेको हुन्छन् । त्यसैले उनीहरू भनेको देश खाने शेषहरु हुन् । चरम राजनीतिक अस्थिरता, बेथिति र भ्रष्टाचार तथा नौलो निरंकुशताले आन्दोलनको नयाँ आँधीबेरी एकपछि अर्को रुपमा फैलिरहेको छ । वर्ष दिन नपुग्दै माइलको यात्रा पार गरेर युगको आन्दोलन पाकिस्तान, अफगानिस्तान, श्रीलंका हुँदै बंगलादेश पसिसकेको छ । बंगलादेशबाट नेपाल आउन कति महिना, दिन र वर्ष लाग्ने हो, शासक प्रशासक र नेताहरु बेलैमा सावधानी अपनाउन जरुरी छ । किनभने हाम्रो समाजिक, आर्थिक र राजनीतिक समस्याहरु मिल्दोजुल्दो छ । संधै मुलुकको दासत्व र क्षमा दिने प्रवृत्ति, संस्कृति र संस्कारले काम गर्दैन । आजको युग, विज्ञानप्रविधि र परिवर्तनको हो । आत्मसमिक्षा गरौं । भ्रममा नपरौं ।
आर्थिक र भौतिक सुधारले मात्र मुलुकको अवस्थालाई मापन गर्न सकिदैन । किनभने आर्थिक र भौतिक पक्ष मानव जीवनको एउटा पाटो मात्र हो । जब जनताको स्वास्थ्य, शिक्षा, रोजगार, आत्मसम्मान र स्वाभिमान तथा आन्तरिक समस्याको बेवास्ता हुन्छ त्यसपछि जनताले देशबाटै लखेट्छन् भन्ने उदाहरण एसियाली मुलुक बन्दैछ । नेपाली समाज यो समस्याबाट विमुख छैन । बड्दो गरिबी, बेरोजगारी, निराशा, अस्थिरता र आन्तरिक समस्याले गर्दा बंगलादेश, श्रीलंका र अफगानिस्तानको अवस्था नआउला भन्न सकिदैन । किनभने भोटको राजनीति सात सालदेखि हुँदै आएको छ । २०३६ सालमा निर्दलले पनि जितेका थिए । तर, पनि पञ्चायत टिकेन । २०४६ सालपछि सबै भोट कांग्रेस एमाललेकै थियो । तर, २०४७ को संविधान र व्यवस्था टिकाउ सकेन सकेनन् । त्यसैले ठूलो पार्टी र धेरै भोट तथा बहुमतको घमण्ड गर्नु हुँदैन ।
सामन्ती र रुढीबादी ग्रस्त समाजिक, आर्थिक र राजनीतिक संरचना छ । यसलाई बदल्न अग्रगामी, प्रगतिशिल र परिवर्तनशिल वैकल्पिक राजनीतिक शक्ति चाहिन्छ । एउटै व्यक्ति र पार्टी लामो समयसम्म सता र सरकारमा रहनु हुँदैन । यसले निरंकुशता जन्माउँछ । धेरै देशमा दुई वा पाँच वर्ष कार्यकालका लागि मात्र शासन सता चलाउने व्यवस्था छ । दुई पटक भन्दा बढी एउटै व्यक्ति सतामा जाने सुविधा छैन । तर, नेपालमा एउटै व्यक्ति आजीवन दलको नेता र पटकपटक प्रधानमन्त्री र दर्जनौंपटक मन्त्री भइरहँदा पनि पुग्ने स्थिति छैन । नातावाद, कृपावाद, परिवारवाद र पार्टीवादले मुलुक लामो समयदेखि बेथिति र भ्रष्टाचारमा चुर्लुम डुबेको छ । मुठ्ठीभरका नेता र शासक प्रशासकले देश लुटिरहेका छन् । जातीय, क्षेत्रीय र धार्मिक समस्या उस्तै छ । संघीयता, समानुपातिक, समावेशीता तथा आरक्षणलाई बदनाम मात्र गरेको छ । त्यसैले यहाँ जुन समस्या, चरित्र र प्रवृत्तिले घटनाहरु घटित भइरहेको छ त्यो नेपाली मौलिकतासँग पनि मेल खान्छ । देशलाई बंगलादेश, श्रीलंका र अफगानिस्तानम बनाउने कुचेष्टा नगरौ ।


