काठमाडौँ/ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको रामबाग पार्टी प्यालेसमा सम्पन्न भई ‘अन्तरपार्टी निर्देशन–३’ (अपानी–३) जारी गरिएको छ। २०८३ असोज ५ देखि ८ गतेसम्म चलेको सो बैठकले आमनिर्वाचनको समीक्षा, पार्टी पुनर्जागरण, सङ्गठनात्मक हेरफेर र अनुशासन कायम गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेता मनोनित
बैठकले पूर्वराष्ट्रपति कमरेड विद्यादेवी भण्डारीलाई एमालेको अध्यक्षपछिको दोस्रो वरीयतामा रहने गरी ‘वरिष्ठ नेता’ मनोनित गरेको छ। यसका लागि पार्टी विधानको धारा १०५ (बाधा अड्काउ फुकाउने) र धारा १३ (क) बमोजिम विधानको धारा १३ (ख) र १८ मा संशोधन गरी ३०२ सदस्यीय केन्द्रीय कमिटीमा वरिष्ठ नेताको पद थप गरिएको छ।
अनुशासनमा ‘कटअफ’ बैठक र कारबाहीको अधिकार
बैठकले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता, गुटबन्दी र सार्वजनिक आलोचना नियन्त्रण गर्न यो बैठकलाई ‘कटअफ बैठक’ मान्ने निर्णय गरेको छ। आजसम्म जसले जे गरे पनि त्यसलाई छोडेर अब उप्रान्त पार्टी नीति, निर्णय वा नेतृत्वविरुद्ध सार्वजनिक विरोध वा निन्दा गरेमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार सङ्गठन विभागलाई दिइएको छ।
मनोनयन तथा स्थायी कमिटी गठन
बैठकले विधानको धारा ६९ (क) र (घ) बमोजिम रिक्त स्थानहरूमा ४० जनाभन्दा बढी नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ।
मनोनित केन्द्रीय सदस्यहरू (खुल्ला/क्षेत्रीय): देवराज घिमिरे, काशीनाथ अधिकारी, विद्यासुन्दर शाक्य, शिवमाया तुम्बाहाम्फे, विमला घिमिरे, प्रेम दङ्गाल, हरि रिजाल लगायत। अन्य पार्टीबाट प्रवेश गरेकाहरू: इस्तियाक राई, प्रदीप यादव, भवानी खापुङ, विनोद पहाडी, प्रदीप यादव लगायत।
स्थायी कमिटी सदस्य निर्वाचन: ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा र शिवमाया तुम्बाहाम्फे स्थायी कमिटी सदस्यमा निर्वाचित भएका छन्।
चुनाव हारको आत्मसमीक्षा र १५ प्रमुख काम
अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गर्दै पार्टीले निर्वाचनमा बेहोरेको क्षतिबारे गम्भीर आत्मसमीक्षा गरेको छ। हारका कारणहरूमा बाह्य प्रहार, प्रविधिको ढिलाइ, युवा संवादको कमी, प्रशासनिक कार्यशैलीका कमजोरी र स्थानीय समस्यासँग दूरीलाई औँल्याइएको छ।
पार्टीलाई पुनर्जागृत गर्न २ प्रमुख कार्यभार (संविधान/लोकतन्त्रको रक्षा र आगामी स्थानीय/प्रदेश निर्वाचनको तयारी) तथा ‘१५ प्रमुख कामहरू’ तय गरिएका छन्:
1. जनतासम्म ‘सत्य संवाद’ अभियान लैजाने।
2. जनजीविकाका मुद्दामा केन्द्रित प्रतिपक्षको भूमिका निर्वाह गर्ने।
3. डिजिटल पुनर्निर्माण र तथ्य-संवाद संयन्त्र स्थापना गर्ने।
4. सङ्गठनलाई नतिजामुखी बनाउने।
5. युवा र महिला नेतृत्वलाई निर्णायक तहमा ल्याउने।
6. वैकल्पिक शासन-खाका र नीति अनुसन्धान तयार गर्ने।
7. प्रवासी नेपालीसँग नयाँ सम्बन्ध बनाउने र वैचारिक पुनर्पाठ (जनताको बहुदलीय जनवादको नयाँ व्याख्या) गर्ने।
२२ समसामयिक प्रस्ताव पारित
बैठकले देशको वर्तमान परिस्थिति, बाढी-पहिरो उद्धार र पुनर्स्थापना, जलवायु न्याय, महँगी र सुकुम्बासी समस्या तथा राष्ट्रिय स्वाधीनताका विषयमा २२ वटा समसामयिक प्रस्तावहरू पारित गरेको छ। भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राहत तथा पुनर्स्थापनालाई तदारुकताका साथ अघि बढाउन सरकारसँग माग गरिएको छ।


