वि.सं.२०८३ कात्तिक ७ शुक्रवार
Shivam
Dish Home Long Ad
TaTa
एक चीन नीतिमा नेपाल प्रतिबद्धः सभामुख

अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा भाग लिन तान्जानिया पुगेका प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल ‘एक चीन नीति’प्रति दृढ एवम् प्रतिबद्ध रहेको बताएका छन् । सभामुखले नेपाली भूमि चीनविरुद्ध कुनै पनि शत्रुतापूर्ण गतिविधिका लागि प्रयोग हुन नदिने अडान दोहोर्याएका हुन् ।

चिनियाँ प्रतिनिधिमण्डलसँगको शिष्टाचार भेटवार्तामा सभामुख अर्यालले नेपाल र चीनबीचको सम्बन्ध निकट मित्रता, असल छिमेकीपन, पारस्परिक सम्मान तथा पञ्चशीलका सिद्धान्तमा आधारित रहेको बताए । नेपाललाई भू–परिवेष्टित मुलुकबाट भू–जडित मुलुकमा रूपान्तरण गर्न चीनले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबीचको विकास सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

हालै रसुवा, नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीमा बेपत्ता चिनियाँ नागरिकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । विपद्का समयमा चीन सरकारबाट प्राप्त आपत्कालीन आर्थिक सहयोग, मानवीय सहायता तथा खोज तथा उद्धारका लागि परिचालित सुरुङ उद्धार, फरेन्सिक तथा डीएनए विशेषज्ञ टोली, ड्रोनलगायतका सहयोगप्रति धन्यवाद व्यक्त गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा नेपाल–चीन संसदीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको छ । सभामुख अर्यालले दुई देशबीच स्थापित संसदीय मैत्री समूह तथा प्रतिनिधि सभा र चीनको राष्ट्रिय जनकांग्रेसबीच यसअघि भएको अन्तर–संसदीय सहकार्यसम्बन्धी समझदारीले संसदीय आदानप्रदान र आपसी समझदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

आईपीयूको एसिया–प्रशान्त समूहमा दुवै संसद्बीच सहकार्य गर्दै दिगो विकास, जलवायु परिवर्तन, विपद् उत्थानशीलता तथा संसदीय कार्यमा प्रविधिको प्रयोगका क्षेत्रमा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिइएको छ । नेपालले चीनसँग संसदीय क्षमता अभिवृद्धि तथा दिगो विकासका क्षेत्रमा सहकार्यलाई थप विस्तार गर्न चाहेको पनि सभामुखको भनाइ छ ।

नेपालमा चीन सरकारको सहयोगमा सञ्चालित विभिन्न विकास आयोजना तथा चिनियाँ लगानीप्रति धन्यवाद व्यक्त गर्दै सभामुखले आगामी दिनमा व्यापार, लगानी, विकास तथा जनस्तरीय र सांस्कृतिक सम्बन्धका क्षेत्रमा सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।

Agni

सम्बन्धित खवर