वि.सं.२०८३ कात्तिक ८ शनिवार
Shivam
Dish Home Long Ad
TaTa
भोटेकोशी वाढी पीडितलाई सिक्किमको आत्मीय सहयोग, पत्रकारहरुको सक्रिय भूमिका
त्रिशूली बजार, नुवाकोट
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा विद्यार्थीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले सिक्किमबाट आएको राहत तथा स्वयंसेवक टोलीले नुवाकोटमा राहत सामग्री हस्तान्तरण गरेको छ।
‘जर्नलिस्ट्स युनियन अफ सिक्किम’ (JUS) र ‘नील तारा केयर्स’को संयुक्त आयोजनामा सञ्चालित OneForNepal अभियानअन्तर्गत ३५ सदस्यीय टोली चार दिनको यात्रा पूरा गरी मंगलबार (सेप्टेम्बर २२) बिदुर नगरपालिकास्थित त्रिशूली बजार आइपुगेको हो।
प्रधानाध्यापक दवाडीलाई राहत सामग्री हस्तान्तरण
चार दिनको यात्रापछि त्रिशूली पुगेको टोलीले त्रिभुवन त्रिशूली सरकारी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई राहत सामग्री हस्तान्तरण गर्‍यो। बाढीको तीव्र जोखिमका बेला प्रधानाध्यापक दवाडीले पूर्वसावधानी अपनाउँदै करिब ९०० जना विद्यार्थीको सुरक्षित उद्धार गर्न सफल भएका थिए।
विपद्पछि केही समय बन्द रहेको उक्त विद्यालय सोमबारदेखि पुनः सञ्चालनमा आइसकेको छ। टोलीले विद्यालय परिसरका साथै आसपासका प्रभावित क्षेत्रको अवलोकन गर्दै विद्यार्थी, शिक्षक तथा स्थानीयसँग अन्तरक्रियासमेत गरेको थियो।
सिक्किमका मुख्यमन्त्रीको पहल र बहुपक्षीय समन्वय
सिक्किमका मुख्यमन्त्री पी. एस. गोलेको विशेष पहल र सोनाम नोर्गे लाचुम्पाको नेतृत्वमा आएको यस टोलीले प्रभावितहरूका लागि औषधि, खाद्यान्न, सोलार बत्ती, त्रिपाल, म्याट्रेस र स्लिपिङ ब्याग जस्ता अत्यावश्यक सामग्री उपलब्ध गराएको छ।
राहत अभियानलाई सहज बनाउन नवप्रवर्तन तथा विज्ञान प्रविधिमन्त्री महावीर पुन, नेपाली कांगेसका संघीय सांसद सन्दिप राणा र युवा व्यवसायी टीका भण्डारीले समन्वय गरेका थिए। त्यसैगरी, काठमाडौँको बुढानीलकण्ठस्थित होटल सब्रीनामा आयोजित स्वागत तथा स्थानीय समन्वय कार्यक्रम लायन्स क्लब अफ रञ्जना ब्रदर्शका संस्थापक अध्यक्ष लायन हरिकृष्ण दाहालको टोलीले सम्पन्न गरेको थियो।
नेपाल र सिक्किमबीचको आत्मीय सम्बन्ध
कार्यक्रममा बोल्दै टोली नेता सोनाम नोर्गे लाचुम्पाले सिक्किमका पूर्वमुख्यमन्त्रीहरू मनिक कुमार सुब्बा र नरबहादुर भण्डारीको परम्परालाई निरन्तरता दिँदै वर्तमान मुख्यमन्त्री गोलेले पनि विश्वभरका नेपालीभाषीहरूप्रति अभिभावकीय भूमिका निर्वाह गरिरहेको बताए। उनले निकट भविष्यमा थप राहत सामग्रीसहित पुनः नेपाल आउने प्रतिबद्धता जनाए।
यसैगरी, जर्नलिस्ट्स युनियन अफ सिक्किमका अध्यक्ष प्रबिन खालिङले राहत वितरणमा पूर्ण सहयोग पुर्‍याएकोमा नेपाल सरकार, गृहमन्त्री सुदन गुरुङ र सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरे। उनले प्रचारबाजीभन्दा पनि प्रत्यक्ष सहयोग र मानवीय सेवालाई केन्द्रमा राखेर यो अभियान चलाइएको जर्नलिस्ट्स युनियन अफ सिक्किमकी प्रचार सचिव, अनुशिला शर्माद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
नेपाल सरकार र गृह मन्त्रालयले प्रभावित क्षेत्रमा पुनर्स्थापना र पुनर्निर्माणको काम तीव्र पारेका बेला सिक्किमबाट प्राप्त यो भ्रातृय सहयोगले स्थानीय समुदायको जनजीवन सामान्य बनाउन ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ।

Agni

सम्बन्धित खवर